कोसी । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन् । तर, उपसभामुख सिर्जना दनुवार अनुपस्थित भए मतदान रोकिन सक्ने जोखिम छ । मुख्यमन्त्रीले १३ भदौसम्म विश्वासको मत लिनुपर्ने भएकाले सोमबार मतदान रोकिए पनि संवैधानिक जटिलता भने आउनेछैन ।
उपसभामुख उपस्थित भएर बैठकमा मतदान गराए थापाको पक्षमा बहुमत ९४७ मत० पुग्ने अंकगणित छ । तर, विपक्षी एमालेले आइतबार गरेका गृहकार्यले उपसभामुख अनुपस्थित हुन सक्ने सम्भावना कायमै छ । उपसभामुख दनुवार एमालेबाट निर्वाचित हुन् ।
सर्वोच्च अदालतले पहिलोपटकको नियुक्ति बदर गरेपछि १६ साउनमा पुनः नियुक्ति भएका थापाले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन् । एमाले र राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । थापाले विश्वासको मत पाउने–नपाउने उपसभामुख सिर्जना दनुवारको भूमिकामा भर पर्नेछ । प्रदेश सभा दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
९३ सदस्यीय प्रदेश सभामा गठबन्धनबाट कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक गरी ४७ छन् । एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ सांसद रहेका छन् ।
प्रदेश सभामा सभामुख माओवादी सांसद बाबुराम गौतम थिए । पहिलोपटक उनको हस्ताक्षरले कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री नियुक्ति भएपछि सर्वोच्चले असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति नै बदर गरेको थियो ।
त्यसपछि पुनः नियुक्तिका लागि सत्तागठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर आर्थिक मामिला तथा योजनामन्त्री बनायो । उनले राजीनामा दिएसँगै सत्तागठबन्धनसँग बहुमत ४७ सांसद पुगेको छ । आइतबार उपसभामुख दनुवारले राजीनामा दिने चर्चा चलेको थियो । उनको राजीनामा त आएन । तर, सोमबार बैठक सञ्चालन गर्ने–नगर्ने अनिश्चितता कायमै छ ।
सभामुखले राजीनामा दिएको र उपसभामुख अनुपस्थित हुन सक्ने सम्भावनालाई ध्यान दिएर चार सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । उपसभामुखलाई सहयोग गर्न अध्यक्षमण्डल बनाइएको हो ।
चार सदस्यीय अध्यक्षमण्डलका सदस्यमध्येबाट वर्णानुक्रम वा ज्येष्ठताका आधारमा एकजनाले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था छ । अध्यक्षमण्डलमा कांग्रेसका प्रदेश सांसद इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर विष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् । अध्यक्षमण्डलमा रहेका एमाले र राप्रपाले दुवैका सदस्य संसद्मा अनुपस्थित हुने सूचना संसद् सचिवालयलाई दिएका छन् । एमालेका ज्येष्ठ सांसदहरू रोहिदबहादुर कार्की, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत र ज्ञानेन्द्र सुवेदीले घरायसी कारणले बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेश सभालाई दिएका छन् । राप्रपाका प्रमुख सचेतक एवं संसद्का ज्येष्ठ सदस्य ९६८० अम्बरबहादुर विष्टले बिरामी भएको कारण देखाएर अनुपस्थित हुने जानकारी गराएका छन् ।
उपसभामुखसहित विष्ट र लिम्बू अनुपस्थित भए सत्तागठबन्धनकै सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता हुनेछ । बैठकको अध्यक्षता गरेका सांसदले बराबरी भएको अवस्थामा मात्र मत दिन पाउँछन् । सत्तागठबन्धनकै सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्थामा बहुमत पुग्दैन । त्यसैले सत्तापक्ष संसद्को अध्यक्षता प्रतिपक्षबाटै होस् भन्ने चाहन्छ ।
एमालेले उपसभामुखलाई राजीनामा दिन भनेको छैन । ‘उहाँ एमालेबाट निर्वाचित भए पनि राजीनामा दिन भनेका छैनौँ,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘उहाँले किन दिनुप¥यो रु बाबुराम गौतमलाई त राजीनामा गराएर शक्तिशाली मन्त्रालय दिइयो । उपसभामुखलाई कुनै आश्वासन दिने पक्षमा पनि छैनौँ ।’
सत्तापक्ष उपसभामुख उपस्थित हुने विश्वासमा छ । सत्तागठबन्धनमा ४७ सांसद रहेकाले विश्वासको मत प्राप्त हुने कांग्रेस सांसद केदार कार्की दाबी गर्छन् । ‘एमालेका सांसद अनुपस्थिति हुँदा हाम्रो संख्या घट्दैन । उपसभामुख उपस्थित हुनेमा ढुक्क छौँ,’ उनले भने, ‘उपसभामुखको राजीनामा नपाएसम्म ज्येष्ठ सदस्य उपस्थित नहुनुले के अर्थ राख्छ रु हामीले विश्वासको मत प्राप्त गर्छौँ ।’
उपसभामुख दनुवार आफैँले ४ भदौका लागि बैठक तोकेका कारण उनी उपस्थित हुने माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो बताउँछन् । १३ भदौमा मात्र ३० दिन पुग्ने भएका कारण उपसभामुख अनुपस्थित भए केही दिन बैठक सर्न सक्ने उनले बताए । ‘उपसभामुखले नै सोमबारका लागि बैठक बोलाउनुभएको हो । उहाँ उपस्थित हुनुहुन्छ । संवैधानिक जिम्मेवारीबाट भाग्नुहुन्न,’ उनले भने, ‘उहाँ उपस्थित नभए एक दिन, दुई दिन बैठक सर्ला । सरकार जिरो आवरमा छैन, विश्वासको मत लिन नौ दिन समय छ ।’
उपसभामुख हुँदाहुँदै ज्येष्ठ सदस्यलाई एमालेले सहभागी नगराउने नाटक गरेको उनको आरोप छ । ‘उपसभामुख हुँदाहुँदै ज्येष्ठ सदस्य अनुपस्थित गराएर के नाटक गरेको हो रु उपसभामुखले राजीनामा दिएको भए पो अरू विकल्पमा जाने हो,’ उनले भने, ‘उपसभामुखले नै सभा चलाउनुहुन्छ भन्नेमा ढुक्क छौँ ।’
एमालेले अध्यादेशमार्फत आफ्नो सरकारले ल्याएको बजेट पारित हुने अवस्थामा थापा नेतृत्वको सरकारलाई सहज वातावरण बनाउन सक्ने संकेत गरेको छ । एमाले प्रमुख सचेतक भण्डारी भने, ‘उहाँहरूले विश्वासको वातावरण बनाउनुभएन । अध्यादेश पास गरेको भए अनुकूल वातावरण बन्ने थियो । उहाँहरूले कुरा बुझ्नुभएन ।’ नयाँ पत्रिका दैनिकबाट…