भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खडेरीमा खेती जोगाउन टाकुरामा पोखरी


  • जेष्ठ ३१, २०८१
  • 217 Views
खडेरीमा खेती जोगाउन टाकुरामा पोखरी image

सुर्खेत । गाउँमा पानीका स्रोत सुक्दै गए। नजिकैका मुहानमा पनि पानी घट्दै गयो। सिँचाइको अभाव भएपछि स्थानीयले आकाशेपानीको भरमा खेती गर्नुपर्ने अवस्था आयो। तर आकाशबाट कम वर्षात् हुँदा र पानी नै नपरेको वर्ष भने गाउँमा खेती नै हुन छाड्यो। कृषिबाटै जीविकोपार्जन गर्दै आएका सुर्खेतको बराहताल गाउँपालिका–८ आलडाँडा र गर्वनाका बासिन्दालाई खडेरीले गाउँ नै छोड्न बाध्य बनायो।

सिँचाइ नहुँदा उत्पादन नै घट्यो। छाक टार्ने उपाय खोज्दै गाउँलेहरू मजदुरीका लागि भारतसम्म पुग्न बाध्य भए। खडेरीले खेती हुन छाडेपछि स्थानीयले किनेर छाक टारे। मुहानमा पानीको स्रोत घटेको र आकाशेपानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यताले स्थानीय हैरान भए। अनि उनीहरूले खडेरीसँग जुध्ने उपाय लगाए। खडेरीबाट खेती जोगाउन बस्ती र खेतीयोग्य जमिनभन्दा माथि अग्लो स्थानमा पोखरीहरू निर्माण गरियो।

अग्लो टाकुरामा निर्माण भएका यिनै पोखरीमा जम्मा भएको पानीले हिजोआज गाउँमा सिँचाइ सुविधा उपलब्ध हुन थालेको छ। ‘यो बस्ती यहाँ २०२६ सालमा बसेको हो, पहिला त गाउँमा पानीका मुहान थिए’ बराहताल–८ आलडाँडाका किसान दानबहादुर रामजाली भन्छन्, ‘त्यही मुहानको पानीबाट सिँचाइ हुन्थ्यो, तर पछिल्ला वर्ष पानीका स्रोत घट्दै गए, आकाशेपानीको भरमा खेती लगाउनुपर्ने अवस्था आयो।’ उनका अनुसार पछिल्ला वर्षहरूमा आकाशबाट वर्षात्समेत कम हुन थाल्यो।

खडेरीका कारण गाउँमा उब्जनी कम हुँदै गयो। वीरेन्द्रनगरबाट पश्चिम क्षेत्रमा रहेका आलडाँडा र गर्वना गाउँ सुक्खा क्षेत्रमा छन्। ३२ घरधुरी रहेको यी दुई गाउँमा खानेपानी र सिँचाइको अभाव छ। तर अग्लो टाकुरामा पानी जम्मा गर्ने पोखरी निर्माण भएपछि हिजोआज खडेरीको बेलामा पनि आफूहरूले तरकारी खेती गर्न थालेको दानबहादुरले सुनाए।

पछिल्ला केही वर्षयता खडेरीसँग जुध्दै आएका आलडाँडा र गर्वना गाउँमा हाल अग्लो स्थानमा दुईवटा पानी पोखरी निर्माण गरिएका छन्। बस्तीभन्दा टाढा रहेको मुहानबाट पाइपमार्फत ल्याइएको पानी यिनै पोखरीमा जम्मा गरिन्छ। त्यही जम्मा भएको पानी खडेरीको बेलामा स्थानीयले पालैपालो सिँचाइ गर्छन्।

पोखरीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि आफूहरूले खडेरीको बेलामा पनि तरकारी उत्पादन गर्न थालेको स्थानीयको भनाइ छ। स्थानीय कमला मल्ल भन्छिन्, ‘आकाशबाट पानी नआएको वर्षमा त खेती नै हुन्थेन, खडेरीले नै बाली खाइदिन्थ्यो। तर गाउँमा पोखरी बनेपछि सिँचाइको सुविधा भएको छ, अचेल जस्तोसुकै खडेरीमा पनि हामीले पोखरीको पानीले सिँचाइ गर्न पाएका छौं।’

पहिले किन्थे, अहिले बेच्छन्

बराहतालको आलडाँडामा १ लाख ९६ हजार लिटरको एउटा र गर्वनामा ५६ हजार लिटर पानी अट्ने क्षमताको अर्को पानीपोखरी बनेका छन्। पोखरी निर्माण भएपछि यहाँको भिरालो जमिनसमेत अहिले तरकारीले हराभरा हुन थालेको हो। खेतीका लागि अब आकाशेपानीको भर पर्नुपर्ने बाध्यता टरेको छ। स्थानीयले व्यावसायिक रूपमा नै तरकारी खेती गर्न थालेका छन्। स्थानीय कमला मल्ल भन्छिन्, ‘पहिला त खडेरीले लगाएको खेती नै सखाप पारिदिन्थ्यो, उत्पादन नहुँदा किनेर खान्थ्यौं। तर अचेल हाम्रै बारीमा वर्षमा कम्तीमा पाँच सिजनको तरकारी खेती हुन्छ, हिजोआज त हामीले बेचेर आम्दानी गर्न थालेका छौं।’

टाकुरामा पानीपोखरी बनेपछि भिरालो र सुक्खा जमिन तरकारीले हरियो बन्न थालेको छ। पोखरी बनेपछि स्थानीयले आँगनमै नगदे बालीहरू सिमी, आलु, केराउ, काउली, करेलालगायतका तरकारी खेती गरेर आम्दानी गरिरहेका छन्। कुनैबेला लसुनसमेत किनेर खाने गरेको सुनाउँदै कमलाले यो वर्ष आफूले ६० हजार रुपैयाँको सिमी बेचेको बताइन्। आँगनमै तरकारी खेतीबाट आम्दानी हुन थालेपछि स्थानीय मजदुरीका लागि भारतसम्म जानुपर्ने बाध्यताको पनि अन्त्य भएको स्थानीय दानबहादुर रामजालीले बताए। उनले भने, ‘पहिला तरकारी किनेर खानुपर्ने अवस्था थियो, अहिले त आफूले खाएर पनि बेच्न थालेका छौं। यो वर्ष मैले २० हजार रुपैयाँको त आलु मात्र बेचेँ, अरु तरकारी पनि बिक्री भयो।’

हिजोआज यो गाउँका सबै परिवारले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका छन्। अचेल गाउँमै तरकारी खरिद गर्न व्यापारीहरू गाडी लिएर पुग्ने गरेका छन्। यहाँ उत्पादन भएको तरकारी वीरेन्द्रनगर र बड्डीचौरलगायतका बजारमा निर्यात हुने गरेको छ।

विस्तार हुँदै तरकारीको पकेट क्षेत्र
सुर्खेतकै लेकबेसी नगरपालिकास्थित साटाफाँटमा पनि खेतीयोग्य जमिनभन्दा माथि अग्लो टाकुरामा पोखरी निर्माण गरिएको छ। बस्तीभन्दा टाढाबाट ल्याइएको पानी यही पोखरीमा जम्मा गरिन्छ। पोखरीमा जम्मा भएको पानी खडेरीको समयमा सिँचाइमा प्रयोग गर्न पाउँदा किसान हर्षित छन्। स्थानीय किसान हुमप्रसाद लामिछानेले पोखरी निर्माण भएपछि सिँचाइको समस्या समाधान भएको बताए। उनका अनुसार सिँचाइ सुविधा उपलब्ध भएपछि स्थानीयले खडेरीको समयमा पनि तरकारी फलाएर आम्दानी गरिरहेका छन्। आम्दानी हुन थालेपछि तरकारी खेतीको क्षेत्रसमेत विस्तार भएको उनको भनाइ छ।

खडेरीबाट खेती जोगाउनका लागि सुर्खेतमा कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानीमा पोखरीहरू निर्माण गरिएका हुन्। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानबाट सुर्खेतमा यस्ता पोखरीहरू निर्माण भएका छन्। कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख बासुदेव काफ्लेले भने, ‘टाकुरामा पोखरी निर्माण भएपछि किसानलाई राहत भयो, खडेरीमा पनि सहजै खेती गर्न पाउँदा किसानको आम्दानी बढ्यो। सिँचाइ सुविधा हुँदा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या बढेको छ, यसले तरकारीको पकेट क्षेत्र विस्तारमा पनि सहयोग पुगेको छ।’

उनका अनुसार पछिल्लो समय सिँचाइका लागि टाकुरामा पोखरी निर्माण भएपछि खडेरीको बेलामा पनि सिँचाइ सुविधा उपलब्ध हुन थालेपछि जिल्लाका किसान व्यावसायिक रूपमा तरकारी खेतीतर्फ आकर्षित भएका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 

 


Thali Mobile Pvt.Ltd.