भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु

मुख्य बुँदा

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु ।

हालसम्म निरीक्षण गरिएका क्षेत्रमा तत्काल जोखिमको संकेत नदेखिएको अधिकारीहरूको भनाइ ।

कालीगण्डकी नदी प्रणालीका मुहान र संवेदनशील उच्च पर्वतीय क्षेत्रको निरीक्षण भइरहेको ।

घ्याकरछु ताल क्षेत्रमा ड्रोनबाट गरिएको निरीक्षणमा हिमनदीका ढिस्का देखिए पनि तत्काल जोखिम नदेखिएको ।

छुआमा पिक, लोघेकर दामोदरकुण्ड–१ र चराङमाथिका क्षेत्रमा थप अनुगमन गरिने ।

हिमताल फुट्ने, हिमपहिरो जाने तथा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर नियमित निगरानी गरिने ।

काठमाण्डौ, १४ भदौ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन शुरु गरिएको छ ।

हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी नदीमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमामा १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो ।

ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गर्दा तत्काल जोखिम नदेखिएको उहाँले जानकारी दिनुभयो । अनुगमनको दोस्रो चरणमा लोमान्थाङमाथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ ।

समुद्र सतहबाट झण्डै पाँच हजार पाँच सय ५० मिटरको उचाइमा रहेको यो क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको सङ्केत नदेखिएको पौडेलले बताउनुभयो ।

अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१, चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

ती क्षेत्रमा हिमताल रहेको जीपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको उहाँको भनाइ छ । गएको वर्ष लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो ।

उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ । विपद्को सम्भावित जोखिम पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद् पूर्वतयारीलाई थप सुदृढ बनाइने भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.