भर्खरै : Sorry, your browser does not support inline SVG.

दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला

दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला

काठमाडौं, १४ भदौ । सरकारले सार्वजनिक खरिद नियमावलीमा दुई महिनाको अवधिमै दुईपटक संशोधन गरेको छ । १५औँ संशोधनमार्फत रुग्ण तथा अलपत्र आयोजनाको म्याद थप्ने व्यवस्था गरेको सरकारले त्यसको केही समयमै १६औँ संशोधनमार्फत सार्वजनिक खरिद प्रणालीमा विभिन्न नयाँ व्यवस्था थपेको हो ।

गत असार ३० गते सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधन गरिएको थियो । उक्त संशोधनले लामो समयदेखि काम नसकिएका तथा अलपत्र आयोजनालाई म्याद थपको सुविधा दिएको थियो । यसले ठेक्काको अवधि पटक–पटक थप्दै आयोजना लम्ब्याउने पुरानै अभ्यासलाई निरन्तरता दिएको भन्दै आलोचना भएको थियो ।

त्यसको करिब दुई महिनापछि भदौ ३ गते १६औँ संशोधन ल्याइएको छ । नयाँ संशोधनमा स्वदेशी उत्पादनलाई प्राथमिकता, सरकारी ई–मार्केटप्लेस, रिभर्स अक्सन, खरिद गुरुयोजनाको अधिकार क्षेत्र तथा ठूला आयोजनाको मूल्याङ्कनलगायतका विषयमा नयाँ व्यवस्था गरिएको छ ।

ठेक्काको म्याद थप्ने व्यवस्था

संशोधित नियमावलीअनुसार कुनै सरकारी ठेक्काको काम निर्धारित अवधिमा सम्पन्न हुन नसकेमा कार्यालय प्रमुखले सुरुको ठेक्का अवधिको अधिकतम ५० प्रतिशतसम्म म्याद थप गर्न सक्ने व्यवस्था गरिएको छ । उदाहरणका लागि दुई वर्षको ठेक्का अवधि रहेको आयोजनाको काम निर्धारित समयमा सम्पन्न नभए कार्यालय प्रमुखले थप एक वर्षसम्म म्याद दिन सक्नेछन् ।

यस्तै, ठेकदारले ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको अवस्थामा सुरुमा राखेको थप कार्यसम्पादन जमानत फिर्ता लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

स्वदेशी उत्पादनलाई प्राथमिकता

१६औँ संशोधनको महत्वपूर्ण पक्ष स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु हो । संशोधित व्यवस्थाअनुसार सार्वजनिक निकायले मालसामान खरिद गर्दा विदेशी सामानभन्दा स्वदेशी सामानको मूल्य १५ प्रतिशतसम्म बढी भए पनि स्वदेशी सामान खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।यसले स्वदेशी उद्योग तथा उत्पादनलाई सरकारी खरिदमा थप अवसर पुग्ने अपेक्षा गरिएको छ ।

सरकारी ई–मार्केटप्लेसबाट खरिद

सरकारले सार्वजनिक खरिद प्रक्रियालाई थप विद्युतीय र सरल बनाउन सरकारी ई–मार्केटप्लेसको व्यवस्था गरेको छ । अब सार्वजनिक निकायले १० लाख रुपैयाँसम्मको सामान वा सेवा सिधै ई–मार्केटप्लेसमार्फत खरिद गर्न सक्नेछन् ।

यस्तै २० लाख रुपैयाँसम्मको खरिदमा कम्तीमा तीनवटा सूचीकृत उत्पादक वा आपूर्तिकर्तासँग दरभाउ माग गरी ई–मार्केटप्लेसमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

५० लाखसम्म रिभर्स अक्सन

नयाँ व्यवस्थाले सार्वजनिक खरिदमा ‘रिभर्स अक्सन’ विधिलाई पनि कानुनी मान्यता दिएको छ । ५० लाख रुपैयाँसम्मको खरिदमा यो विधि प्रयोग गर्न सकिनेछ ।

यस प्रक्रियामा बोलपत्रदाताले अनलाइन प्रणालीमार्फत प्रतिस्पर्धात्मक रूपमा आफ्नो मूल्य घटाउँदै लैजान सक्नेछन् । अन्ततः सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने बोलपत्रदाता छनोट हुने व्यवस्था गरिएको छ ।

ठूला आयोजनामा प्राविधिक र आर्थिक प्रस्ताव बराबर

१ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागत अनुमान भएका ठूला निर्माण कार्यमा प्राविधिक र आर्थिक प्रस्तावको भार ५०–५० प्रतिशत कायम गरिएको छ ।

यसअघि न्यून मूल्य प्रस्ताव गर्ने कम्पनीले ठेक्का पाउने प्रवृत्तिका कारण आयोजनाको गुणस्तरमा समस्या देखिने गरेको भन्दै प्राविधिक क्षमता र आर्थिक प्रस्ताव दुवैलाई समान महत्व दिने व्यवस्था गरिएको हो ।

यसअन्तर्गत ठेकदारको कार्यसम्पादन, अनुभव, जनशक्ति तथा उपकरणलाई समेत मूल्याङ्कनको आधार बनाइनेछ ।

खरिद गुरुयोजनाको अधिकारमा हेरफेर

नियमावलीले खरिद गुरुयोजना स्वीकृत गर्ने अधिकारीको अधिकार सीमामा पनि हेरफेर गरेको छ । नयाँ व्यवस्थाअनुसार २५ करोड रुपैयाँसम्मको गुरुयोजना दोस्रो श्रेणीको कार्यालय प्रमुखले, २५ करोडदेखि ५० करोड रुपैयाँसम्मको पहिलो श्रेणीको कार्यालय प्रमुखले, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्मको विभागीय प्रमुखले र १ अर्ब रुपैयाँभन्दा माथिको गुरुयोजना सम्बन्धित मन्त्रालयका सचिवले स्वीकृत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा कर्मचारीलाई प्रोत्साहन

राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना तथा सरकारले तोकेका विशेष आयोजनालाई समयमै सम्पन्न गर्न कर्मचारीलाई अतिरिक्त प्रोत्साहन सुविधा दिने बाटो पनि खोलिएको छ । नयाँ व्यवस्थाअनुसार यस्ता आयोजनामा संलग्न कर्मचारीलाई स्वीकृत कार्यविधिअनुसार अतिरिक्त प्रोत्साहन सुविधा, बोनस वा अन्य सुविधा दिन सकिनेछ ।

यसैगरी व्यावसायिक प्रयोजनका लागि सार्वजनिक निकायले जग्गा खरिद गर्दा जग्गा छनोट तथा मूल्य निर्धारणका लागि छुट्टै समितिको व्यवस्था गरिएको छ । निर्माण कार्यमा हुने जोखिमलाई सम्बोधन गर्न बीमासम्बन्धी प्रावधानलाई समेत थप स्पष्ट र व्यवस्थित बनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.