DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गृहमन्त्रीको हेलिकप्टर सयरमा ३५ लाखबढी खर्च


  • भाद्र १९, २०७७
  • 349 Views
गृहमन्त्रीको हेलिकप्टर सयरमा ३५ लाखबढी खर्च image

काठमाडौं । गृहमन्त्रीको एमआई–१७ हेलिकप्टरमा सिन्धुपाल्चोकदेखि अछाम र बाजुरासम्म, काठमाडौं–अछाम, काठमाडौं–सिन्धुपाल्चोक र काठमाडौं–पोखरा हेलिकप्टरमा करिब ५ घण्टाभन्दा धेरै समय खर्चिएका छन् भने हेलिकप्टर भाडा मात्रै ३५ लाख भन्दा माथि खर्चेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडामा बुधबार राति बाढीपहिरो गएलगत्तै बिहीबार बिहान ६ बजेतिर बागलुङका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी, सशस्त्र र सेनाका जिल्ला प्रमुखको टोली चारवटा गाडीमा घटनास्थलतर्फ हिँडे । गृहमन्त्री रामबहादुर थापा सेनाको हेलिकप्टरमा घटनास्थल आउँदै गरेको खबर पाएपछि प्रहरी, सशस्त्र र सेनाका करिब २६ जनाको टोली गाडी र पैदल गरेर झन्डै ७ घण्टाको दूरीमा रहेको घटनास्थल पुग्न हतारिएको थियो ।

नेकपाले दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकेको थियो । बैठकमा आइपुग्ने गरी गृहमन्त्री थापा घटनास्थल अवलोकन गर्न उडेका थिए । उनी काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर लिएर उडे पनि खराब मौसमका कारण बीचैबाट फर्केर पोखरा आए । हेलिकप्टर पाइलटले अघि बढ्न नसकिने जानकारी गराएपछि गृहमन्त्री फर्किएका थिए । बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङका लागि उडेको हेलिकप्टर स्याङ्जाको आकाशबाट अघि बढ्न सकेन । मौसम खराबी कायमै रहेपछि गृहमन्त्रीको टोली पोखरा ओर्लियो । केही घण्टा बसेर घटनास्थल नगई काठमाडौं फर्कियो ।

साढे २ बजेतिर टोली काठमाडौं आइपुग्यो । गृहमन्त्री थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, सचिवालयका सदस्य र चालक दल प्रतिघण्टा ७ लाख ७४ हजार २ सय ७९ रुपैयाँ भाडा लाग्ने सेनाको हेलिकप्टरमा गएका थिए । भाडा राष्ट्रिय विपद् व्यवस्थापन कोषले तिर्नुपर्छ । प्राकृतिक विपत्तिका घटनामा प्रायःजसो स्थानीय तहदेखि प्रदेश सरकारसम्मै र संघ सरकारअन्तर्गत रहेका प्रमुख जिल्ला अधिकारी नेतृत्वका जिल्ला विपद् व्यवस्थापन समिति सक्रिय हुन्छ ।

घटनाको गाम्भीर्य हेरेर कहिलेकाहीँ केन्द्रबाट अनुगमन टोली जानुलाई अस्वाभाविक मानिँदैन । उच्चस्तरीय टोली नै जाँदा पनि विपद्बाट विस्थापित हुन पुगेकालाई कसरी व्यवस्थापन गर्ने भन्ने रणनीति बनाउने गरिएको छैन । गृहमन्त्रीले केन्द्रबाट वितरण गर्न लगेका सामान जिल्ला प्रशासन र प्रदेश सरकारबाटै बाँड्न सकिन्थ्यो । केन्द्रबाट गृहमन्त्रीसहितको लर्को यसरी गएको पहिलोपटक होइन । पछिल्ला २० दिनमा गृहमन्त्री एमआई–१७ हेलिकप्टरमा सिन्धुपाल्चोकदेखि अछाम र बाजुरासम्म राहतका पोका लिएर पुगे ।

राष्ट्रिय विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री थापा विपद् स्थलमै सैनिक हेलिकप्टर लिएर पुगिहाल्ने प्रवृत्तिले पीडितलाई राहतभन्दा आउजाउ र सरकारी संयन्त्रको परिचालनमा ठूलो धनराशि खर्च हुन पुगेको छ । गृह स्रोतका अनुसार पछिल्ला चारवटा घटनामा सेनाको हेलिकप्टर प्रयोग गरेबापत विपद् व्यवस्थापन कोषले ३५ लाख हाराहारी भाडा बेहोर्नुपरेको छ ।

उड्डयन क्षेत्रका एक जानकारका अनुसार गृहमन्त्रीले काठमाडौं–अछाम, काठमाडौं–सिन्धुपाल्चोक र काठमाडौं–पोखरा हेलिकप्टरमा उड्दा ५ घण्टाभन्दा धेरै समय खर्चिएका छन् । गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो गएलगत्तै साउन ३० मा सेनाको हेलिकप्टरमा राहतसहितको सामग्री लिएर पुगे । त्यतिबेला उनले ४० परिवारलाई राहत सामग्री उपलब्ध गराएका थिए ।

दुई दिनपछि थापा कोभिड–१९ को नियन्त्रणका निम्ति लिइएको चार्टर फ्लाइटमा सुर्खेत पुगेर त्यहाँबाट सेनाकै एमआई–१७ हेलिकप्टरमा पहिरो तथा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि भदौ ५ गते अछामको रामारोशन गाउँपालिका–५ र बाजुरा पुगेका थिए । गृहमन्त्री पुगेका दुवै प्रभावित क्षेत्रमा बस्ती व्यवस्थापन र स्थानान्तरणमा अहिलेसम्म कुनै पहल हुन सकेको छैन । ढोरपाटनमा पहिरो गएलगत्तै स्थानीय तहमा सक्रिय २५ भन्दा धेरै प्रहरी र १५ जना सेनाको टोली उद्धार कार्यमा खटिइसकेका थिए । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.