DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चौथो वर्षको नतिजा पर्खेका विद्यार्थीको पुनः परीक्षा


  • पुष २८, २०७९
  • 245 Views
चौथो वर्षको नतिजा पर्खेका विद्यार्थीको पुनः परीक्षा image

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय बीबीएस चौथो वर्षका परीक्षार्थी नतिजाको व्यग्र प्रतीक्षामा थिए । यहीबीच त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दमक बहुमुखी क्याम्पसको परीक्षार्थी सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५१ सम्म ‘रिसर्च मेथडलजी’ विषयको उत्तरपुस्तिका हराएको पत्तो पायो ।

त्यसपछि नतिजा रोकेर कार्यालयले क्याम्पससँग समन्वय गरी गएको पुस २३ गते पुनः परीक्षा लिएको छ । जसका कारण गत वर्ष पुस २० बाट माघ ४ सम्म परीक्षा दिएर नतिजा कुरिरहेका स्नातक तहका विद्यार्थी थप निराश भएका छन् ।
‘दुई दिन अगाडि सूचना दिएर परीक्षा दिन लगाइएको छ र जाँचमा कति सामेल भए भन्ने यकिन छैन,’ नेविसंघ त्रिवि समितिका निवर्तमान सचिव योगन्द्र रावल भन्छन्, ‘त्रिविले विद्यार्थीको भविष्यमाथि बारम्बार खेलबाड गर्दै छ । दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष प्रदीप भट्टले परीक्षा नियन्त्रक पुष्पराज जोशीले गम्भीर लापरबाहीको जिम्मेवारी लिएर तत्काल नतिजा प्रकाशन गर्ने प्रतिबद्धता जनाएको बताए । ‘परीक्षा नियन्त्रक ९पुष्पराज जोशी० स्वयं उपस्थित भएर जाँच गराइएको छ,’ उनले भने, ‘पुनः परीक्षा लिएको दस दिनभित्र नतिजा प्रकाशित गराउँछु भनेर नियन्त्रकले प्रतिबद्धता जनाउनुभएकाले हामी धैर्य गरी बसेका छौं ।’

विद्यार्थीहरूले उत्तरपुस्तिका हराउने शिक्षक र कर्मचारीको छानबिन हुनुपर्ने र दोषीमाथि विश्वविद्यालयको ऐन, नियमअनुसार कारबाही गरिनुपर्ने माग गरेका छन् । बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयको मूलढोकामा कालो तुल टाँगेर विद्यार्थीले न्याय मागेको महिना दिन भएको छ । त्यस्तै त्रिविको लापरबाहीको विरोधमा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्रोतका अनुसार नियन्त्रक जोशी आफ्नो मोबाइल बन्द गरेर गरेर बाहिरबाटै कार्यालयको काम गर्दै छन् । त्रिवि स्नातक तह चौथो वर्षमा करिब डेढ लाख विद्यार्थी नतिजाको पर्खाइमा छन् ।

नतिजा प्रकाशनमा त्रिविको लापरबाही भनिसाध्य छैन । कार्यालयले स्नातक चौथो वर्षको नतिजा सार्वजनिक नगर्दै स्नातकोत्तर तहको भर्ना खोलेको छ । त्रिविको आम्दानीको मुख्य स्रोत भनेकै स्नातक तहका विद्यार्थीले बुझाउने शुल्क हो । त्रिविमा करिब ६ लाख विद्यार्थी पढ्छन् । त्यसमा सबैभन्दा बढी व्यवस्थापन संकायका छन् । त्यसपछि शिक्षाशास्त्र, मानविकी र कानुन संकायमा पढ्छन् ।

यस्तै अध्ययन संस्थानतर्फ विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्साशास्त्र, कृषि तथा पशुविज्ञान र वनविज्ञानमा सीमित विद्यार्थी पढ्छन् । स्नातकोत्तर तहको परीक्षा सेमेस्टर प्रणालीअनुसार हुने गरेको छ भने स्नातक तहमा वार्षिक र सेमेस्टर प्रणालीमा परीक्षा सञ्चालनमा छ । सबैभन्दा बढी विद्यार्थी वार्षिक परीक्षा प्रणालीमा रहेका छन् ।

समयमा परीक्षा नलिने र लिएको परीक्षाको नतिजा वर्षदिनभन्दा बढी समयपछि मात्र प्रकाशन गर्दा लाखौं विद्यार्थी पीडित छन् । ‘विश्वविद्यालयले चैतमा स्ववियु चुनाव गराउने भन्दै छ,’ नेत्रविक्रम चन्दनिकट अखिल क्रान्तिकारीका त्रिवि इन्चार्ज अनिल केसी भन्छन्, ‘तर, स्नातक चौथो वर्षको नतिजा प्रकाशन नगरी स्नातकोत्तर तहको भर्ना खोल्नु हामी विद्यार्थीलाई भ्रममा पार्नु मात्रै हो ।’

सहनियन्त्रक महेश ओझाले कोरोनाको असरले गर्दा जाँच खप्टिएको दाबी गरे । ‘स्नातक तह चौथो वर्षको नतिजा केही दिनभित्र सार्वजनिक हुनेछ,’ ओझाले भने, ‘हामी चाँडै स्नातक तेस्रो वर्षको नतिजा ल्याउने तयारीमा छौं । त्यसपछि पहिलो वर्षको र गत साउनमा लिइएको दोस्रो वर्षको नतिजा आउनेछ । अझै केही महिना नतिजा प्रकाशन ढिलो हुनेछ । त्यसपछि मात्र नियमित तालिका मिल्ने छ ।’

सहनियन्त्रण ओझाले विद्यार्थीको समय खेर जान नदिन परीक्षार्थी जुन ठाउँमा छ, नजिक पायक पर्ने ठाउँबाट परीक्षा दिलाएको बताए । ‘नियन्त्रण कार्यालयमा काम गर्ने त्यही जनशक्ति, त्यही काम, एउटै मान्छेले सबै काम गर्नुपर्ने स्थिति छ,’ उनले भने, ‘त्यसले गर्दा अलिकति ढिलो भएको हो । अब ढिलो हुँदैन ।’

विद्यार्थीहरूले रजिस्ट्रेसन कार्ड पाउन पनि सास्ती खेप्नुपर्ने अवस्था छ । त्रिविमा स्नातक भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन परीक्षा नियन्त्रण कार्यालयले गर्छ । दोस्रो वर्षको पढाइसमेत पूरा गरिसकेका विद्यार्थीले समेत अहिलेसम्म रजिस्ट्रेसन कार्ड पाउन सकेका छैनन् ।

आरआर क्याम्पस बिएस दोस्रो वर्षको पढाइ सकेका आयुष राई भन्छन्, ‘दोस्रो वर्षको परीक्षा दिनुपर्ने बेला भयो । तर कुनै पत्तो छैन । टीयूले अहिलेसम्म रजिस्ट्रेसन नम्बर पनि दिएको छैन ।’ नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारी प्रविधिमैत्री नहुँदा समस्या भएको त्रिवि अधिकारी स्विकार्छन् । तर आफ्नो मान्छे भर्ना गरेकाले ती अक्षम कर्मचारीलाई नियन्त्रण कार्यालयमा खटाउँदा थप समस्या आएको जनाइएको छ ।

नियन्त्रण कार्यालयले २०७४ सालमै विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली’ ९ईएमआईएस० मा राख्ने लक्ष्य लिएको थियो । प्रविधिको प्रयोगले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा सेवाग्राहीले सहज सेवा पाउने दाबी गरिएको थियो । त्रिविले परीक्षा प्रणालीलगायत सेवा–सुविधालाई प्रविधिमैत्री तुल्याउन विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजना सम्झौता गरेको थियो । त्यसका निम्ति उसले १० करोड रुपैयाँ बजेट सहयोग प्राप्त गरेको छ । तर, उक्त परियोजना रहेसम्म पदाधिकारीले देखावटी सञ्चालन गरेको र आवश्यक प्रविधिमैत्री जनशक्तिको विकास गर्न सकेको छैन ।

विद्यार्थीले परीक्षामा प्राप्त गरेको मार्कसिट, ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, डिग्रीलगायत प्रमाणपत्र लिनका निम्ति काठमाडौं धाउनुपर्ने बाध्यता कायम छ । अहिले दैनिक १ हजारभन्दा बढी नियन्त्रण कार्यालय बल्खु धाउने, लामबद्ध भएर बैंक भौचर बुझाउनुपर्ने र साता दिनसम्म कुर्नुपर्ने परिस्थिति विद्यमान छ । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.