DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तीन लाखले दिए लाइसेन्सको आवेदन, अब भर्नेको पालो असारपछि मात्रै


  • माघ २२, २०७७
  • 648 Views
तीन लाखले दिए लाइसेन्सको आवेदन, अब भर्नेको पालो असारपछि मात्रै image

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवदेन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।‘अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, मे–जुनसम्म परीक्षा दिने मिति सकिएको छ,’ उनले भने ।कोरोनाका कारण १० महिना नयाँ लाइसेन्स प्रक्रिया सबै बन्द हुँदा अब भने लाइसेन्स प्रक्रियामा सहभागी हुन सर्वसाधारणले लामो समय कुर्नुपर्ने भएको हो ।

यातायात कार्यालयले देशैभर करिब ७–८ लाख जनाले सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने अनुमान गरेका छन् । हाल विभाग संघ अर्थात् केन्द्र सरकार मातहत रहेको छ भने यातायात कार्यालय प्रदेश सरकारअन्तर्गत रहेका छन् ।लाइसेन्सका लागि परीक्षा तथा ट्रायललगायतका काम यातायात कार्यालयहरूले गर्ने गरेका छन् । विभागको जिम्मामा लाइसेन्स खुला गर्ने तथा छाप्नेलगायत काम छन् ।देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुने गरेको छ । लाइसेन्स प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुने गरेको छ । लाइसेन्सका लागि आवेदन खुला भएसँगै यातायात कार्यालयमा भीडभाड बढेको छ । काठमाडौं, बुटवल, वीरगन्जलगायतका प्रमुख सहरमा अत्यधिक भीड बढेको छ ।

विभागले गत १४ पुसदेखि लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको थियो । पछिल्लो पटक लाइसेन्सका लागि भरिने अनलाइन फारामको कोटा प्रणाली हटाइएको छ ।विभागको वेबसाइटमा राखिएको लिंक अथवा अनलाइन इडिएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । विभागले एक पटक फाराम भरेपछि परीक्षाका लागि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइने र परीक्षामा फेल भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने जनाएको छ । ११ चैत २०७६ देखि सरकारले लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा प्रक्रिया खुल्न सकेको थिएन ।

आन्दोलनका कारण २३ गतेको परीक्षा स्थगित

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको शुक्रबार राजधानीको दरबारमार्गमा हुने जनसभाका कारण त्यस दिन हुने सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा प्रभावित हुने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात कार्यालयलाई त्यस दिनको परीक्षा स्थगित गर्न अनुरोध गरेको छ ।

महाशाखाले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, बाग्मती प्रदेश कार्यालय ललितपुर, काठमाडौं, जगाती भक्तपुर र ठूलो भ(याङ काठमाडौंलाई पत्र लेखेर त्यस दिन उपत्यकाका विभिन्न स्थानमा विरोध कार्यक्रमलगायतका कार्यक्रम तथा भीभीआईपी(भीआईपीको आवागमनका कार्यक्रम भएकाले ट्राफिक व्यवस्थापनमा अधिकतम जनशक्ति खटाउनुपर्ने भएकाले उक्त दिन सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।
राजधानी दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.