काठमाडौ । नेकपाको प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा केन्द्रित हुने भएको छ । बिहीबार कार्की बैंक्वेट बबरमहलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहने गरी बैठकले २५ सय एक सदस्यीय संघर्ष कमिटी बनाएको छ । परिचालनका लागि सचिवालयसमेत बनाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
‘पार्टी एकतालाई कमजोर पार्न खोज्ने र नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्न खोज्ने सबै प्रकारका प्रवृत्ति र गतिविधिहरूका विरुद्ध पार्टी एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभाको कथित विघटनको घोषणा र त्यससँग जोडिएर आएको प्रतिगामी षड्यन्त्रविरुद्ध संघर्ष गर्ने उद्घोषसहित केन्द्रीय कमिटी बैठकले पहिलो चरणको कार्यक्रम घोषणा गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भने । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनदेखि स्थानीय तहका वडा तहसम्म भेला र प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ ।
जसअनुसार शुक्रबार बिहान माइतीघर मण्डला र अपराह्न निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरू र पार्टीका सांसदहरूको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ भने दिउँसो २ बजे अध्यक्षद्वय माधव नेपाल र प्रचण्डले पत्रकार सम्मेलन गर्नेछन् । त्यस्तै, शनिबार प्रदेश कार्यालयको संयोजनात्मक छलफल गर्ने र सात दिनभित्र प्रदेश कमिटीहरूको बैठक सम्पन्न गर्ने, आइतबार ७७ जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गरिनेछन् । भेलामा पार्टी एकताविरुद्धको षड्यन्त्र र भ्रम, प्रतिगामी षड्यन्त्र र विघटनका विरुद्धको संघर्ष सञ्चालनबारे प्रशिक्षण दिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, १४ पुसमा राजधानी काठमाडौंसहित जिल्लाहरूमा प्रतिनिधिसभाको विघटन र प्रतिगामी षड्यन्त्रविरुद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने, २० पुसमा सबै गाउँपालिका र नगरपालिकास्तरमा पार्टीको बैठक र भेलाहरू आयोजना गर्ने, २५ पुसमा सबै वडास्तरसम्म बैठक र भेला गर्ने तथा १४ पुससम्म सबै जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र भेला गरिने कार्ययोजना सार्वजनिक गरिएको छ । यसका अलवा राजधानीमा यसबीचमै पनि विभिन्न स्थानीय कार्यक्रमहरू विरोध प्रदर्शनका रूपमा आयोजना गरिने जानकारी दिइएको छ । पहिलो चरणको संघर्षका कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रूपमा उच्चस्तरीय कार्यक्रम घोषणा गरिने जानकारी दिँदै प्रवक्ता श्रेष्ठले सम्बन्धित प्रदेशका स्थायी कमिटी सदस्यहरू, प्रदेश पदाधिकारीहरूलाई तत्काल संघर्षमा जुट्न र आ–आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिइएको पनि बताए ।
प्रचण्ड–नेपालको वरीयता तोकिएन, आलोपालो अध्यक्षतामा सहमति
अध्यक्ष प्रचण्ड र नेपालबीच पार्टी विधानअनुसार बैठकको अध्यक्षता गर्दै पार्टी सञ्चालन गर्ने सहमति भएको छ । यसबारे ७ पुसको बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराइसकेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ‘अध्यक्ष प्रचण्डले पार्टी विधानको प्रस्ट पालना गर्ने गरी दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने र वरीयता पनि बैठकको अध्यक्षताका आधारमा हुने सहमति भइसकेको अघिल्लो बैठकमै जानकारी गराइसक्नुभएको छ,’ रिजालले भने । जसअनुसार बैठक अध्यक्षता गर्ने अध्यक्ष पहिलो वरीयतामा हुनेछन् भने अर्को अध्यक्ष दोस्रो वरीयतामा हुनेछन् ।
दोस्रोपटकको बैठकको अध्यक्षता फेरिनेबित्तिकै अर्को अध्यक्ष पहिलो वरीयतामा हुनेछन् । जसअनुसार प्रचण्ड–नेपाल नेकपामा कहिले माधव नेपाल त कहिले प्रचण्ड पहिलो वरीयताको अध्यक्ष बन्ने समझदारी भएको छ । ७ पुसको बैठकको अध्यक्षता प्रचण्डले गरेको र बिहीबार त्यसैको निरन्तरताका रूपमा बैठक बसेकाले यो बैठकमा नेपाल दोस्रो वरीयतामा बसेका छन् । बैठकको सुरुवात नेपालले र समापन प्रचण्डले गरेका थिए भने सञ्चालन प्रवक्ता श्रेष्ठले गरेका थिए ।
कार्यविभाजनको जिम्मेवारी स्थायी कमिटीलाई
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सचिवालय, स्थायी कमिटी र रिक्त महासचिवको पदपूर्ति गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । बैठक सञ्चालनका लागि बिहीबारकै बैठकबाट महासचिव नियुक्ति गर्ने तयारी भए पनि आवश्यक गृहकार्य नपुगेको भन्दै प्रचण्ड–नेपालले कार्यविभाजनसम्बन्धी सबै जिम्मेवारी स्थायी कमिटीलाई दिने समझदारी गरेअनुसार बैठकले निर्णय गरेको हो । ‘केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र संगठनको कार्ययोजना तथा कार्यविभाजनबारे स्थायी कमिटीले नै आवश्यक निर्णय लिन सक्ने गरी बैठकले जिम्मेवारी दिएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा प्रचण्डले भने स् प्रतिक्रियावादीको ठूलो ग्र्रान्डडिजाइनमा विघटन
नेकपा अध्यक्ष प्रचण्डले ०१७ सालमा जस्तै प्रतिगमन हुन थालेको भन्दै सशक्त आन्दोलनको आवश्यक हुन सक्ने बताएका छन् । ‘प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, सबै जाली–फटाहाहरूले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरूलाई ध्वस्त पार्न चाहेका छन् । मेरो अध्ययन, विश्लेषण र घटनाक्रम नजिकबाट नियालेर हेर्दा यो पार्टीभित्रको सामान्य अन्तर्संघर्ष मात्र होइन । यो प्रतिक्रियावादीहरूको ठूलो डिजाइनअन्तर्गत विचलित साथीहरूलाई उपयोग गरेर कम्युनिस्ट आन्दोलन र नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूलाई निस्तेज गर्ने र प्रतिगमनको आधार तयार पार्ने ठूलो डिजाइनअन्तर्गत नै यी सबै नाटक मञ्चन भएका हुन् । नेपालमा फेरि एकचोटि ०१७ सालजस्तो प्रतिगमन वा प्रतिक्रान्तिकारी षड्यन्त्र जो मञ्चन हुँदै छ, त्यसलाई सफल हुन दिने वा नदिने रु यो तपाईं–हाम्रा लागि, मैले हेर्दा यो जीवन–मरणको संघर्ष हो’ बैठकमा प्रचण्डले भने ।
उनले क्रान्तिको झन्डा उठाउने र फ्याँक्नेहरूबीचको लडाइँ सुरु भएको बताए । ‘अहिलेको लडाइँ हामी कम्युनिस्टहरूले सात दशक लामो संघर्ष र बलिदानबाट हजारौँहजारको रगत–पसिना बगाएर प्राप्त गरेका उपलब्धिहरूको अपहरण गर्ने अपहणकारी र त्यसको रक्षा गर्न चाहने जनताबीचको लडाइँ हो । यो एकातिर क्रान्तिको झन्डा उठाउने र फ्याँक्नेहरूबीचको लडाइँ हो,’ प्रचण्डले भने, ‘अहिले प्रारम्भिक आन्दोलनका कार्यक्रम घोषणा गरेका छौँ । तर, जस्तोसुकै मूल्य चुकाउन तयार भएर अगाडि जाने प्रतिगामीहरूको यो षड्यन्त्र र डिजाइन, इन्टरनेसनल डिजाइन पनि कहीँ न कहीँ जोडिएको छ, यो हामी बुझ्छौँ । केन्द्रीय कमिटीमा आइसकेका तपाईं–हामीले इन्टरनेसनल डाइनामिक्स के छ भन्ने बुझेका छौँ ।’
प्रचण्डले केन्द्रीय कमिटी ठूलो बनाएकोप्रति इंगित गर्दै भने, ‘एकथरी मान्छेहरू बडो अराजक र अनैतिक तरिकाले ११ सयको केन्द्रीय कमिटी घोषणा गरेर जुन विचलन कम्युनिस्ट आन्दोलनमा देखा परेको छ र पदका निम्ति जता पनि दौडिने मान्छेहरूलाई आकर्षित गर्ने षड्यन्त्र भएको छ, हामी त्यसलाई चुनौती दिन चाहन्छौँ । पूर्वगुटतिर फर्काउने कुनै पनि षड्यन्त्र हामीलाई मान्य छैन । त्यसका निम्ति जरुरी प¥यो भने सडकमा, अदालतमा, जहाँ पर्छ जान सक्छौँ । भीषण संघर्ष गर्ने अवस्था आउन सक्छ ।’
नेपालले भने– विभाजन होइन, एकताको पक्षमा लागिरहन्छौंँ
अध्यक्ष माधवकुमार नेपालले आफ्नो समूह कम्युनिस्ट आन्दोलनलाई एकीकृत दिशामा अगाडि बढाउन दृढतापूर्वक अघि बढिरहने बताएका छन् । उनले अहिले भइरहेका सबै षड्यन्त्रविरुद्ध एकताबद्ध भएर पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्ने गरी क्रान्तिकारी दिशामा लैजान अपिल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ, एकताको पक्षमा छौँ, एकताका लागि सधैँभरि दृढतापूर्वक उभिन्छौँ र त्यसका लागि लागिरहन्छौँ, हामी विधिविधान र पद्धतिको पक्षमा छौँ । हामी आफैँले दुःख गरेर, जेलनेल, भूमिगत यात्रा खेपेर अनेकौँ उतारचढाव व्यहोरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकप्रियताको चुलीसम्म पु¥याउन यहाँसम्म ल्याएका हौँ,’ नेपालको भनाइ थियो, ‘हामी पार्टीलाई सिद्धान्तनिष्ट विचारनिष्ठ, पद्धतिनिष्ठ बनाउन चाहन्छौँ ।
पार्टीभित्र हुर्किएको गलत प्रवृत्तिका विरुद्धमा सधैँ उभिन्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउँछौँ ।’ उनले सबैखाले जालझेल र षड्यन्त्र चिर्दै आन्दोलनका पक्षमा दृढतापूर्वक लाग्न पनि केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए । इतिहासको चुनौतीपूर्ण घडीमा विश्वासका साथ पार्टी नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा बैठक सुरु गर्दै अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरूलाई आभारसमेत व्यक्त गरेका थिए ।
सबै शक्ति निर्वाचन तयारीमा परिचालन गर्ने ओली समूहको निर्णय
नेकपा केपी ओली समूहले सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न ओली समूहको केन्द्रीय कमिटीले सम्पूर्ण शक्ति निर्वाचन तयारीको मुख्य एजेन्डामा केन्द्रित हुने गरी परिचालन गर्ने निर्णय लिएको हो । ‘वैशाखमा निर्वाचन मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेको परिप्रेक्ष्यमा सबै मातहत कमिटी, जनवर्गीय र सरोकार संगठन, पार्टी सदस्य, जनप्रतिनिधि एवं सम्पूर्ण पार्टीपंक्तिलाई एकढिक्का भएर निर्वाचनको तयारीको मुख्य एजेन्डामा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दछ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने । प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा दुई चरणमा निर्वाचनको घोषणा गरेका थिए ।
बैठकले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आह्वान गर्दै सरकार संविधान र लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि दृढसंकल्पित रहेको प्रस्ताव पास गरेको छ । ‘यो बैठक सबै राजनीतिक दलहरूलाई आमनिर्वाचनको यस अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न आह्वान गर्दछ,’ बैठकपछि पारित प्रस्तावमा छ, ‘परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न आग्रह गर्दछ । हाम्रो पार्टी र सरकार नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलब्धिहरूको रक्षा एवं विकासका लागि कृतसंकल्पित रहेको विश्वास दिलाउन चाहन्छ ।’
त्यस्तै, बैठकले प्रतिनिधिसभा विघटन बाध्यात्मक भन्दै प्रधानमन्त्री ओलीको कदम स्वाभाविक ठहर गरेको छ । ‘जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात् नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलापहरू लोकतन्त्रको मूल्यमान्यताविपरीत, जनआकांक्षाविपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरूको क्रियाकलापहरूकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ,’ बैठकले पारित गरेको प्रस्तावमा छ, ‘नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पष्ट गरेको छ ।
त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मत रूपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ ।’ त्यस्तै, केन्द्रीय कमिटी विस्तारलाई अनुमोदन गर्दै बैठकले विभाजनकारी गतिविधिको भ्रममा नपरी एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको छ ।
बैठकले सरकारले गरेका कामलाई समर्थन गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक–आर्थिक रूपान्तरणको नायकका रूपमा स्थापित गर्ने संकल्प पनि गरेको छ । ‘यो बैठक करिब तीन वर्षको अवधिमा दूरगामी महत्वका विकास कार्य, रणनीतिक पूर्वाधारहरूको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं संघीयताको कार्यान्वयन, राष्ट्रियताको सुदृढीकरण एवं नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्वपूर्ण कामहरूलाई उच्च मूल्यांकन गर्दछ । ती कार्यहरूलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरू गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक–आर्थिक रूपान्तरणको नायकका रूपमा स्थापित गर्ने संकल्प गर्दछ,’ पारित प्रस्तावमा छ ।
त्यस्तै, कोभिड– १९ को विश्वव्यापी महामारीबाट सिर्जित चुनौतीलाई सामना गर्ने सम्बन्धमा सरकारले चालिरहेका कदमहरूलाई समर्थन गर्दै बैठकले कोभिड भ्याक्सिनको यथाशीघ्र आपूर्ति गर्न र सबै नेपालीलाई प्राथमिकताका आधारमा र निःशुल्क रूपमा खोप उपलब्ध हुने गराउन सरकारसँग आग्रह गरेको छ । चिनी उद्योगसँग उखु बिक्री गरेबापत प्राप्त गर्नुपर्ने बक्यौता रकम प्राप्त गर्न तराई–मधेसका विभिन्न जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बसेका उखु किसानको सबै रकम उद्योगीबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न पनि बैठकले माग गरेको छ ।
प्रचण्डमाथि ओली पक्षको कारबाही
ओली पक्षको नेकपा बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाएको छ । बैठकले अध्यक्ष प्रचण्डलाई अनुशासनको कारबाही गरी कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाएको हो । यससँगै ओली आफ्नो पक्षको एकल अध्यक्ष भएका छन् भने अबदेखि बैठकका निर्णयमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्नेछ ।
सातवटै प्रदेश र जनसंगठनमा तोकिए इन्चार्ज
ओली पक्षले सातै प्रदेश र जनवर्गीय संगठन मोर्चामा इन्चार्ज तोकेको छ । जसअनुसार प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा, सुदूरपश्चिममा लेखराज भट्ट, जनवर्गीय संगठनमा टोपबहादुर रायमाझी र राजधानी उपत्यकामा कृष्णगोपाल श्रेष्ठ तोकिएका छन् । नयाँ जिम्मेवारी पाउने रायमाझी र थापा पूर्वमाओवादी समूह र बाँकी पूर्वएमाले समूहका हुन् ।
प्रचण्ड–माधवलाई ओलीको आरोप– चुनावको डरले पुनस्र्थापनाको माग
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले चुनावमा पराजित हुने डरले प्रचण्ड–माधव समूहले बैसाखीका भरमा सरकारमा जाने उद्देश्यले प्रतिनिधिसभा पुनस्र्थापनाको माग अघि सारेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने निर्णय गरिसकेपछि जनतामा जान उहाँहरूलाई केको डर रु जनताले देश बिगार्ने, एकता तोड्ने, अग्रगमनको बाटोबाट जान व्यवधान खडा गर्नेलाई मत दिन्छ रु त्यसकारण एक–डेढ वर्ष भए पनि संसद् पुनस्र्थापना गरेर, जोड–घटाउ गरेर, जालझेल, तिकडम, यता सम्झौता, उता सम्झौता, कसैको आशीर्वादबाट यसो सरकारमा पुग्न पाइन्थ्यो कि भन्ने उहाँहरूलाई लागेको छ,’ ओलीले भने, ‘चुनाव भयो भने सरकारमा जाने मौकै आउँदैन भन्ने ठानिरहनुभएको छ, त्यसैले चुनाव सुन्नेबित्तिकै उहाँहरू निद्रामा झस्किनुहुन्छ । तर, त्यसरी झस्यांग हुनुपर्दैन, मूलधारमा आउनुस्, महाअभियानमा सामेल हुनुस् ।’
ओलीले शान्तिपूर्ण र सशस्त्र आन्दोलन चलिरहेका वेला सुरक्षित रूपले बसेको व्यक्तिलाई प्रचण्ड–माधव खेमाले आन्दोलन परिचालनको संयोजक तोकेको भन्दै कटाक्षसमेत गरेका थिए । ‘लाखौँ जनता सडकमा उत्रिएर यत्रो परिवर्तन ल्याए, भूमिगत हिँडेर, ज्यान जोखिममा राखेर परिवर्तनको आन्दोलनमा सामेल भए, तर परिवर्तनपछि, लोकतन्त्र आइसकेपछि पनि एउटा मान्छे पर्दाभित्रबाट राजनीति गर्छ, इन्टरभ्यु दिन्छ, उसको नेतृत्वमा आन्दोलन, कठैबरा १ अब आन्दोलन केका लागि रु’ ओलीको कटाक्ष थियो । उनले सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरिएकाले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको घटनाक्रमको व्याख्यासमेत गरेका थिए ।
बादलले भने– चुनावमा गएर फुटवादी र अवसरवादीलाई परास्त गर्नुपर्छ
ओली पक्षको बिहीबारको केन्द्रीय कमिटी बैठकबाट त्यस समूहमा खुलेका गृहमन्त्री रामबहादुर थापा बादलले चुनावबाटै फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताएका छन् । ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, अब चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ,’ बादलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरू ९प्रचण्ड–माधव समूह०को ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ, उहाँहरू दुस्मनको जालमा पर्नुभएको छ ।’ प्रधानमन्त्री ओली राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिएका कारण पनि आफूले समर्थन गरेको बताएका थिए ।
‘कम्युनिस्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ दिन म यहाँ उपस्थित भएको हुँ,’ बादलको भनाइ थियो, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउनेछ ।’ बादलले ओली समूहलाई समर्थन गरे पनि उनीनिकट अधिकांश नेता भने प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । नयाँ पत्रिका दैनिकबाट…
