भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तयार


  • बैशाख २, २०७८
  • 791 Views
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तयार image

इलाम । सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ। सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाएको छ। प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङ लगायतका काम पूरा भएको बताए। ‘अब विमानस्थलमा विमान उडान–अवतरण गर्न चाहिँ सकिन्छ,’ उनले भने, ‘नाली निर्माण र सामान्य अरू काममात्र बाँकी छ। ती काम पनि भइरहेका छन्।’

इन्जिनियर भट्टराईले यही वैशाखभित्र उडान–अवतरण सुरु गर्न प्राधिकरणले तयारी गरिरहेको बताए। ‘यही वैशाखभित्र उडान–अवतरण गर्ने गरी प्राधिकरणले तयारी गर्दैछ,’ उनले भने, ‘उडान–अवतरण त गर्दा हुने भएको छ तर सामान्य काम पनि सकेर अफिसियल रूपमै टेस्ट फ्लाइट गर्ने तयारी गर्दैछौं।’ विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको हो। इलाम नगरपालिकाले नगरको वडा ९ मा निर्माण भएको विमानस्थलका लागि जग्गा व्यवस्थापनको काम गरेको हो। नगरले विमानस्थल कालोपत्रे भई उडानका लागि करिब तयार भइसकेकाले उडान–अवतरण सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ।

मेयर महेश बस्नेतले मन्त्रालयले चाँडै नै उडान–अवतरण व्यवस्थापन गर्ने जानकारी आएको बताए। धावनमार्गमा १५ महिनाअघि कालोपत्रे निर्माणको प्रक्रिया थालिएको थियो। विमानस्थलछेउमा अस्थायी टर्मिनल भवन पनि निर्माण भइसकेको छ। ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ,’ इन्जिनियर भट्टराईले भने, ‘भर्खरै ९ करोड रूपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ र कार पार्किङ लगायतको काम भइसकेको छ।’ विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रूपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए। यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्विनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्विनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुन सक्ने प्राविधिकले जनाएका छन्। ट्विनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ।

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भए पनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रूपैयाँसम्म चन्दा संकलन गरिएको थियो। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रूपैया“ खर्च भएको थियो।

 


Thali Mobile Pvt.Ltd.