भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘बढुवाको सपना टायरको धुवाँसँगै खरानी भयो’


  • आश्विन २३, २०८०
  • 254 Views
‘बढुवाको सपना टायरको धुवाँसँगै खरानी भयो’ image

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका रूपमा रहेको जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा। सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आयोगमा तालबन्दी गरिहाल्छन् । अनि उनी विश्वविद्यालय सेवा आयोगको गेटमा पुगेर पुनः जनकपुरै फर्कन्छन् ।

यसरी यादव बढुवा लिन नपाउँदै अवकाशको दोसाधमा छन् । उनको अवकाश हुने समय अब केही महिना मात्र बाँकी छ । उनी आफूले यस्ता विद्यार्थी जन्माएकोमा पछुतो गर्छन् । बिहीबार पनि उनी बढुवाका लागि अन्तर्वार्ता दिन राजधानी आए । शुक्रबार असोज १९ गते त्रिवि सेवा आयोगमा अन्तर्वार्ता थियो । यादव अन्तर्वार्ताका लागि तयारीका साथ राजधानी पुगे । ‘तर मेरो आश तब मर्यो जब त्रिवि सेवा आयोग पुग्दा सेवा आयोगमा तालाबन्दी थियो । विद्यार्थीले टायर बालेका थिए । धुवाँ उडिरहेको थियो । त्यही धुवाँसँगै मेरो प्राध्यापकमा बढुवा हुने आशा पनि खरानी भयो,’ जनकपुर फर्केका यादवले नागरिकसँग कुरा गर्दै भने, ‘केही महिनामा म अवकाश हुँदै छु । तीनपटक परीक्षाका लागि राजधानी गएँ र फर्कें । अब त मेरो समय खत्तम भयो ।’

६२ वर्षीय यादवले भने, ‘विश्वविद्यालयका हरेक शिक्षकको सपना प्राध्यापक बन्ने हुन्छ । तर, विश्वविद्यालयभित्र विद्यार्थी र शिक्षक नेताहरूको राजनीतिले प्राज्ञिक मर्यादा खत्तम पारिदियो । विद्यार्थीलाई दलका नेताले नै परिचालन गराएर आफ्नो स्वार्थ पूर्ति गराउन तालाबन्दी गर्न लगाउँदा रहेछन् ।’ सेवा आयोगले २०७८ सालमा सहप्राध्यापक र प्राध्यापक पदको बढुवाका लागि विज्ञापन खुलाएको भए पनि विज्ञान खुलेको दुई वर्षभित्र पनि अन्तर्वार्ता गर्न नसकेका कारण प्राध्यापकहरू मर्कामा परेको अर्का प्रतिस्पर्धी सहप्राध्यापक डा। युवराज लुइँटेल दुखेसो गर्छन् ।

उनले पनि त्रिविमा समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो तर यस सेवा अवधिभित्र उनी उपप्राध्यापकबाट सहप्राध्यापकमा बढुवा भए, प्राध्यापक हुन पाएनन् । ‘हाम्रा विश्वविद्यालयमा तीन वर्षमा तीन सय बढी दिन तालाबन्दी हुन्छ तर पदाधिकारीहरू ताला खुलाउन चासो दिनुहुन्न,’ समाजशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत रहेको डा। लुइँटेलले विश्वविद्यालयको बेथिति सुनाए, ‘मैले पढाएका विद्यार्थी मसँग प्राध्यापकमा प्रतिस्पर्धी हुनुहुन्छ । अब सोच्नुस्, हामीलाई कति मानसिक पीडा होला ।’

समाजशास्त्रकै प्राध्यापक पदका अर्का प्रतिस्पर्धी टीकाराम गौतमले भने सेवा आयोग समयमा नखुलेकाले त्रिविका शिक्षकहरूको बढुवा समस्यामा परेको बताए । ‘कहिले सेवा आयोगको अध्यक्षको वर्षदिनसम्म पनि नियुक्ति हुँदैन भने नियुक्ति भए पनि समयमा परीक्षा नहुने भएकाले समस्या आएको हो,’ गौतमले भने, ‘हाल पनि समाजशास्त्रको अन्तर्वार्ता विद्यार्थीको तालाबन्दीकै कारण रोकिनु त्रिविका शिक्षकहरूमाथि अन्याय हुनु हो ।’ ६६ महिनामा खुल्नु पर्ने सेवा आयोग वर्षौंसम्म पनि नखुलेका कारण त्रिविका शिक्षकहरूको बढुवा नहुँदै अवकाश हुने अवस्था आएको उनको गुनासो छ ।

राजनीतिक भागबन्डा नमिलेकै कारण त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति कार्य एक वर्ष १३ दिन ढिला भएको थियो । साउन ३१ गते सरकारले सेवा आयोगको अध्यक्ष एक वर्ष १३ दिनमा प्रा। घनश्याम भट्टराईलाई नियुक्त गर्यो । अध्यक्ष भट्टराई कांग्रेस निकट मानिन्छन् । उनी नियुक्त भएको केही महिनामै विद्यार्थीले ताला लगाइदिए । ‘रोकिएको व्यवस्थापन संकायको बढुवा अन्तर्वार्ता अगाडि बढाउँदै थिएँ । नेवि संघका विद्यार्थीले बढुवा परीक्षा रोक्नुपर्यो भन्दै आए र ताला लगाएर मलाई कार्यालय प्रवेश नै निषेध गरिदिए,’ भट्टराईले भने, ‘सेवा आयोगको काम नै त्रिविले पठाएको दरबन्दीमा परीक्षा लिने र नतिजा प्रकाशन गर्ने हो ।

त्रिविको मुटु हो सेवा आयोग । तर यहीं विद्यार्थीले तालाबन्दी गरी काम ठप्न बनाउनु त्रिवि ठप्प बनाउनु हो ।’ परीक्षा अनियमित र अपारदर्शी भएको भन्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिका सभापति विष्णु बडैलाको हस्ताक्षरसहितको विज्ञप्ति सेवा आयोगको कार्यालयमा टाँसिएको अध्यक्ष भट्टराईले बताए । विज्ञप्तिमा सेवा आयोगका अध्यक्ष भट्टराई र सदस्य प्राडा हेमराज ढकाललाई प्रवेश निषेध गरिएको र परीक्षासमेत रोक्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको उल्लेख छ ।

सत्तासीन दलनिकट नेवि संघको तालाबन्दीप्रति विरोध जनाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रीय समितिका अध्यक्ष समिक ढकाल, त्रिवि स्ववियु सभापति श्यामराज ओझा र त्रिवि प्राध्यापक संघका अध्यक्ष प्राडा वसन्त ढकालले सेवा आयोगमा कुनै पनि संगठनले तालाबन्दी गर्नु गैरजिम्मेवारपन भएकाले तत्काल खोल्नुपर्ने माग गर्दै छुट्टाटुट्टै विज्ञप्ति जारी गरेका छन् ।

‘सेवा आयोगले सञ्चालन गरिरहेको अन्तर्वार्तालाई बिचैमा विद्यार्थीले रोक्नु गलत हो,’ त्रिवि प्राध्यापक संघका सभापति ढकालले भने, ‘परीक्षा कुर्दाकुर्दै कति शिक्षक अवकाश हुनुभयो भने कति अवकाश हुने क्रममा हुनुहुन्छ । आफ्नो जीवन त्रिवि सेवामा बिताउँदा पनि समय छँदै बढुवा नहुनु प्राज्ञिक क्षेत्रकै अपमान हो ।’

नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति दुजाङ शेर्पाले त्रिविमा गरिएको नेविसंघको तालाबन्दी आधिकारिक नभएको स्पष्ट पारे । उनले नेविसंघको नाम दुरूपयोग गरी तालाबन्दी गर्नेलाई काराबाही गर्ने दाबी गरे । ‘विष्णु बडैला नेवि संघका आधिकारिक व्यक्ति होइनन्,’ सभापति शेर्पाले भने, ‘नेवि संघको नाममा उसले त्रिविमा आतंक मचाइरहेका छन् । उनी नसचिए हामी कारबाही गर्छौं ।’ नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.