भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाढीमा डुबेको धान खेतमै उम्रिन थाल्यो, किसानलाई परिवार पाल्ने चिन्ता


  • कार्तिक ७, २०७८
  • 492 Views
बाढीमा डुबेको धान खेतमै उम्रिन थाल्यो, किसानलाई परिवार पाल्ने चिन्ता image

कैलाली । कैलारी गाउँपालिका–२, बसौटीका फूलपाती चौधरीले दुई बिघामा लगाएको धानबाली भित्र्याउन सकेका छैनन् । अविरल वर्षाले डुबान भएको खेतमा पानी अझै सुकेको छैन । काटेर सुकाउन राखेको धान डुबानमा पर्दा खेतमै उम्रिन थालेको छ ।

पानी सुक्यो भनेर हेर्न उनी बारम्बार खेतमा पुग्छन् । उम्रिन लागेको धान हेर्छन्, पानी नसुक्दा संकलन गर्न नपाएपछि अमिलो मन बनाएर फर्कन्छन् । ‘अलिअलि पानी सुकेको ठाउँको धान संकलन गरेँ । खेतमा अझै धेरै ठाउँमा पानी छ,’ चौधरीले भने, ‘चार÷पाँच दिनसम्म डुबान हुँदा धान उम्रिएर काम नलाग्ने भएको छ ।’ अधिकांश धान उम्रिएको उनले बताए ।

बसौटीकै किसान खुसीरामको खेतमा पुला बाँधेर राखेको धान जरा टुसाएर सेताम्य छ । खेतमा पानी नसुक्दा उनले त्यही धान पनि थ्रेसिङ गर्न पाएका छैनन् । खेतमा ट्रयाक्टर लैजाँदा हिलोमा फस्ने डरले टुसाउन लागेको धान थ्रेसिङ गर्न नपाएको उनले बताए । दुई बिघा जमिनमा लगाएको धान टुसाएर काम नलाग्ने अवस्थामा पुगेको उनले बताए ।

कैलालीमा अविरल वर्षापछि चार/पाँच दिनसम्म डुबानमा परेको धान खेतमै उम्रिन थालेको छ । खेतमा पानी नसुक्दा अधिकांश किसानले उम्रिन लागेको धान पनि भित्र्याउन पाएका छैनन् । वर्षाले धानबाली नष्ट गरेपछि किसान परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

‘धान बेचेरै गुजारा चल्थ्यो । यसपालि सबै बर्बाद भयो,’ खुसीरामले दुखेसो पोखे, ‘साँझ–बिहानको छाक टार्नै समस्या हुने भयो ।’ धान बेचेरै नुनतेललगायत खर्च जोहो गर्ने उनी पूरै धान नष्ट भएपछि नौजनाको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

परिवार पाल्नेसँगै अर्को चिन्ता पनि छ– धानबाली लगाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने । धानको बिउ र मल किन्न उनले गाउँको प्रगति कृषक समूहबाट २० हजार रुपैयाँ ऋण लिएका थिए । अधिया लिएको पौने दुई बिघामा लगाएको धान थ्रेसिङ गर्ने तयारीमा थिए । तर, गत आइतबारबाट भएको अविरल वर्षाले काटेर खेतमा राखेको धान डुबानमा पर्‍यो ।

काटेर खेतमै राखेको धान नष्ट भएपछि धनगढी उपमहानगरपालिका–१५, कनरीका गंगाराम चौधरी पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उनले दसैँकैबीच धान काटेर खेतमा सुकाउन राखेका थिए । मंगलबार उठ्दा भने उनको खेतमा धान थिएन, नदी बगिरहेको थियो । खेतमा पसेको खुटिया नदीले उनी उठ्दासम्म धान बगाइसकेको थियो । बचेको केही धान जोगाउन उनले पानीमा हामफाले ।

‘अलिकति जोगाएँ, बाँकी सबै नदीले बगायो । म उठ्दा धानको कुन्यू त डुंगाझैँ पानीमा तैरिरहेको थियो,’ उनले भने । दुई बिघामा लगाएको धानमध्ये केही धान उनले खेतमै कुन्यू बनाएर राखेका थिए । धान बगाएपछि ६ जनाको परिवार भोकभोकै बस्नुपर्ने अवस्था रहेको दुखेसो उनले सुनाए ।

२१ हजार हेक्टरमा लगाएको धानबालीमा पूर्ण क्षति
धान उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति गरेको छ । वर्षा र डुबानले जिल्लाभरि करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रूपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले प्रारम्भिक तथ्यांक हेर्दा २१ हजार हेक्टरको धानबाली पूर्ण रूपमा नष्ट भएको बताए । लामो समय पानीमा रहेकाले धान टुसाउन थालेको उनको भनाइ छ । कैलालीमा ७० हजार हेक्टरमा धानबाली लगाइन्छ । उत्पादकत्वका आधारमा करिब साढे नौ लाख क्विन्टल धान नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.