रुकुम पश्चिम । जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पमा छोरा, बुहारी र दुई नातिलाई गुमाएका ७० वर्षीय प्रेम पुनको भत्केको घरको आँगनमा मंगलबार शुद्धीकार्य हुँदै थियो । दुई दर्जनजति आफन्तले प्रेम र उनकी श्रीमती सुशीलालाई सम्झाउने प्रयास गरिरहेका थिए ।
भौतिक क्षतिपछि मानसिक त्रासमा पीडित
मगर संस्कृतिअनुसार तीन वा पाँच दिनमा शुद्धीकार्य गर्न आफन्तहरू भेला भएका थिए । त्यही घरमा आफ्नो छोरा, दाइ, भाउजू र भतिज गुमाएका गोविन्द पुन सेतो लुगामा छेउमै टोलाएर बसेका थिए । सानीभेरी गाउँपालिका–१ चाइनाबगरमा रहेको प्रेमको घरको आँगनमा शुद्धीकार्यका लागि पुरी, तरकारी, अचार पकाइँदै थियो । प्लास्टिकका चार कुर्सीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका चार जनाको तस्बिरमा लेखिएको थियो, ‘हार्दिक श्रद्धाञ्जली ।’ शोकलाई कम गर्न प्रेमका आफन्तहरूको प्रयासबीच उनी बर्बराइरहेका थिए । ‘न बाँच्न दियो, न मर्न सकियो,’ उनले शोकको सास फेर्दै भने, ‘छोराका लागि के के गरिएन रु केही सुख होला भन्ने बेलामा यसरी दैव लागे ।’
घर भत्किएर चेपिएका अवस्थामा छिमेकीले उद्धार गरेपछि गोविन्द र उनकी श्रीमती बचेका थिए । ‘दाइ, भाउजू र भतिज एउटामा, म श्रीमती र छोरा अर्को कोठामा सुतेका थियौं । म र मेरो जहानलाई निकालेपछि बाँच्यौं,’ उनले भने । शुक्रबार राति आएको भूकम्प ६।४ म्याग्निच्युडको भूकम्पले सानीभेरी गाउँपालिका–१ चाइनाबगरमा ६ जनाको मृत्यु भएको थियो ।
सानीभेरी–४ गोलचौरकी नन्दी चन्दले माओवादी सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाइन्, यो भूकम्पमा एक नाति, घर, घरभित्रको अन्नपानी, एक हलगोरु, चार बाख्रा गुमाइन् । घर भत्किँदा उनका नाति निर्जलको उद्धार गर्दागर्दै मृत्यु भएको थियो । दुईतले ढुंगे घर भुइँमै खसेपछि उनी पनि पुरिएकी थिइन् । उनकी बुहारीको नेपालगन्जमा उपचार भइरहेको छ । त्यस दिन आठबिसकोट नगरपालिका बाँकेमा माइतीघर गएकाले नन्दीको ज्यान जोगियो । घर भत्किएको थाहा पाएपछि उनी शुक्रबार राति नै गोलचौर फर्किएको बताइन् ।
‘बरु म नै मरेको भए हुन्थ्यो । यो डरलाग्दो अवस्था देख्नुभन्दा त,’ उनले सुनाइन् । भत्केको घरको छेउमा पुर्पुरोमा हात राखेर टोलाइरहेकी उनी जोडले हावा चल्दा डर लाग्ने बताइन् । सानीभेरी–४ बलिबाङकी एकल महिला जमुना बुढाथोकीलाई छिमेकीले जग्गा दिएपछि त्यही जग्गामा बल्लबल्ल घर बनाएकी थिइन् । छिमेकीको सहयोगले घर बनाएपछि उनको जीवन सामान्य तरिकाले चल्दै थियो । तर पछिल्लो भूकम्पले दुःख गरेर बनाएको घर मात्र क्षतविक्षत भएन, कमाउन थालेको छोरा गोविन्द गम्भीर घाइते भएपछि सबै सपना ढले । उनको छोरा गोविन्दको नेपालगन्जको एक अस्पतालमा ढाडको अप्रेसन गर्ने तयारी भइरहेको छ । उनका श्रीमान् १८ वर्षअघि बेपत्ता भएका थिए ।
मंगलबार दिउँसो उनलाई सम्झाउन भीमा चन्द, सशिली ओली भेला भएका थिए । ‘उनी एक्लै खोलाको छेउमा बस्थिन् । छिमेकीले जग्गा दिएर घर बनाएकी हुन् । दुःख त सबैलाई परेको छ । उनलाई हाम्रोभन्दा झन् दुःख पर्यो,’ भीमा भन्दै थिइन् । उनले अझै पनि डरले शरीर काँपिरहेको बताइन् । उनी मात्र होइन, सशिली ओली, केशव चन्द, बली चन्द, आशाकुमारी चन्दलगायत त्रिपालमुनि निदाउन सकेका छैनन् । बाहिरी रूपमा एकअर्कालाई चित्त बुझाउने प्रयास गरे पनि उनीहरू त्रास कम हुन सकेको छैन ।
भूकम्पमा च्यापिएर टाउकोमा चार टाँका लगाएकी मीना चन्दले डरले सुत्न नसकेकी बताइन् । रुकुम पश्चिम चौरजहारी अस्पतालमा उपचारपछि उनी घर फर्केकी हुन् । घर भत्किएको एक घण्टापछि उद्धार गरिएका केशमबहादुर चन्दकी श्रीमतीको भने काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ‘क्या गर्ने, कता जाने रु घर सम्पत्ति गयो । मेरा जहान ९श्रीमती० घाइते छन्,’ उनले दुःखेसो पोखे ।
भूकम्पले भौतिक र मानवीय क्षति व्यहोरेका पीडितहरू मानसिक समस्याले आत्तिन थालेका छन् । सामान्य त्रिपालमुनि बसिरहेका उनीहरू दैनिक जीवनमा फर्कन अझै केही साता लाग्नेछ । खेतबारी जोत्ने गोरु च्यापिएर मारेका कारण उनीहरूको जमिन बाँझै हुने जोखिम रहेको बताउँछन् । ‘खनजोत गर्न तयार गरेको खेतबारी त्यसै छ । गोरु मरे, केले जोत्ने रु’ बली चन्दले भनिन्, ‘खेतबारीमा अन्नबाली नलाए पछि के खाने रु सधैं अर्काले दिएर खाएर चल्दैन होला ।’ सावित्रा चन्दका श्रीमान्को उपचार नेपालगन्जमा भइरहेको छ ।
बोल्दाबोल्दै भक्कानिने उनी ध्वस्त घर र श्रीमान्को उपचारको चिन्ताले पीडित छन् । भत्केको घर बाहिर बसेका पीडितले गाँस र बास गुमाएकालाई मानसिक स्वास्थ्य परामर्श आवश्यक देखिन्छ ।गोलचौरका स्थानीयले आफूहरू एकसरो कपडामा बसिरहेको बताए । ‘फेर्ने लुगासमेत पुरिएका छन् । बस्ने र खाने टुंगो छैन,’ ६७ वर्षीय केशमबहादुर चन्दले भने, ‘सम्झिँदा रिङ्टा लाग्छ ।’१० कक्षा पढिरहेका १५ वर्षीय सुदीप चन्दका ५ साथी एउटै कोठामा सुतिरहेका बेला घर भत्कियो । ‘अझै पनि जमिन हल्लिरहेको जस्तो लाग्छ । जीउ काँप्छ,’ उनले भने, ‘पुरिएपछि चिच्यायौं । एकले अर्कालाई तानेर निस्क्यौं । अहिले त खेल्न पनि मन लाग्दैन ।’
आठबिसकोट १० डाँडागाउँका चन्द्रबहादुर विकले गाउँलेहरूलाई अरू राहतका साथ मनोवैज्ञानिक परामर्श आवश्यक भएको बताए । ‘गाउँ जाँदा सबै राइरहेको देखिन्छ । हामीले सम्झाउन सकेका छैनौं,’ उनले भने । आठबिसकोटका पूर्वप्रमुख गोरखबहादुर केसीले पीडितलाई खानबस्नको राम्रो प्रबन्ध तत्काल गर्नुपर्ने पहिलो प्राथमिकता भए पनि मनोपरार्श पनि त्यत्तिकै जरुरी रहेको बताए । ‘विज्ञले मात्र सही तरिकाले परामर्श दिन सक्छन् । हामीले सम्झाउन खोजे पनि चित्त बुझाउने अवस्था छैन,’ उनले भने ।
रुकुम पश्चिमको आठबिसकोट सानीभेरीमा ५२ जनाको मृत्यु भइसकेको छ । जाजरकोट नलगाड नगरपालिका–१ का स्थानीयले एउटै टोलमा १३ दलितको मृत्यु देखे । सामूहिक दाहसंस्कार गरेका स्थानीयमा गहिरो मनोवैज्ञानिक चोट परेको स्थानीय सुरेश विक बताउँछन् । जाजरकोट भेरी नलगाडसहित प्रभावित क्षेत्रमा १५३ को मृत्यु भएको थियो भने करिब दुई सय घाइते भएका थिए ।
भूकम्प गएको कम्तीमा दुई सातासम्म प्रभावित क्षेत्रका स्थानीयमा मानसिक त्रास देखिने र त्यसको उपचार परामर्श भएको विज्ञको भनाइ छ । काठमाडौं मेडिकल कलेजकी मानसिक रोग विशेषज्ञ रचना शर्मा बस्नेतले विपत्ति आएको कम्तीमा दुई सातासम्म मानसिक त्रासमा पीडितहरू हुने बताइन् । उनका अनुसार विपत्ति आएपछि झोक्राउने, एक्लै बस्न रुचाउने, निद्रा नलाग्ने, थोरै बोल्ने तर रिसाउने लक्षण देखिन्छ । ‘विपत्ति आएको दुई हप्तासम्म असामान्य अवस्था देखिन सक्छ । त्यसपछि धेरै व्यक्ति सामान्य अवस्थामा फर्किन्छन्,’ उनले भनिन्, ‘दुई, तीन सातापछि पनि सामान्य अवस्थामा नफर्किए उपचार पद्धति अपनाउनुपर्छ ।’
भूकम्प प्रभावित क्षेत्रका अधिकांश पीडित दैनिक जीवनमा फर्कन कम्तीमा तीन साता लाग्नेछ । ‘एकले अर्कालाई आफ्नो मनको कुरा भन्नुपर्छ । बिस्तारै दैनिक जीवनमा फर्कने कोसिस गर्नुपर्छ,’ बस्नेतले भनिन्, ‘आराम गर्नुपर्छ ।’ उनले पीडितका लागि पालिकाले परामर्श टिम बनाएर परिचालन गर्न सक्ने बताइन् । रुकुम पश्चिम जिल्ला अस्पताल प्रमुख डा। सुशील पोखरेलले बढी नै समस्या आएमा चिकित्सकको परामर्श लिन सुझाव दिए । कान्तिपुर दैनिकबाट…