जाजरकोट र रुकुम । बढ्दो जाडोका कारण जाजरकोटमा साँझबिहान आगो ताप्नुपर्ने मौसम छ । यही मौसममा शुक्रबार मध्यराति बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घरबासविहीन भएका पीडित भने खुला आकाशमुनि छन् ।
भूकम्पपीडितका लागि सहयोग दिने भन्दै घोषणा गर्ने र केही राहत बोकेर आउनेको लस्कर नै भए पनि पीडितहरूले अझै पर्याप्त त्रिपाल, ओढ्ने कम्बल र खाने सामग्री पाउन सकेका छैनन् । उनीहरू एउटै त्रिपाल बिछ्याउने र ओढ्ने बनाएर रात कटाइरहेका छन् ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालदेखि कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, निजी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको जाजरकोटमा लस्कर थियो । आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना पनि खलंगा आए ।
उद्धार र राहतका लागि आएका मानिसको लस्कर बढे पनि पीडितको समस्या भने उस्तै छ । धेरै पीडित सडक र बारीका पाटामा आगो तापेर रात काट्न बाध्य छन् । भूकम्पले घर भत्किएपछि शुक्रबार रातभर बारीमा र शनिबार तल्लो बसपार्कको छेउमा बसेर रात कटाएको भेरी नगरपालिका–३ तल्लो थाप्लेका राजु विकले बताए ।
‘आजसम्म पनि त्रिपाल र ओढ्ने बिछ्याउने कसैले दिएको छैन,’ उनले भने, ‘६ जनाको परिवार दुई रातदेखि खुला आकाशमुनि छौं ।’ शनिबार रेडक्रसले केही त्रिपाल वितरण गरे पनि पर्याप्त नभएको स्थानीयले बताए । आठ महिनाकी गर्भवती नलगाड नगरपालिका–८ हलचौरकी २९ वर्षीया सिर्जना केसी बिहीबार शिक्षक लाइसेन्सको परीक्षा दिन खलंगा आएकी थिइन् । सानीआमा शिला क्षत्रीको घरमा बसेकी उनी भूकम्पपछि दुई दिन सडक छेउमै रात बिताउँदा बिरामी परेकी छन् । तल्लो पेट दुख्न थालेपछि उनी आइतबार बिहानै जाजरकोट अस्पताल पुगेकी थिइन् ।
सानीआमाको घरमा सुतेकी उनलाई शुक्रबार राति २ बजेतिर स्थानीयले उद्धार गरेर बाहिर निकालेका थिए । ‘घर भूकम्पले भत्किगो, दुई रातभरि चिसोमा बस्दा पेट, शरीर, टाउको सबैतिर दुखाइ छ,’ उनले भनिन्, ‘तल्लो पेट धेरै दुख्न थाल्यापछि अस्पताल आया हुँम ।’ सानिआमा शिलाले शनिबारसम्म सहयोग गर्ने कोही नआएको र गर्भवती छोरी र आफूले छिमेकीले दिएको चाउचाउमै रात बिताएको बताइन् । ‘हिजो त कसैले केही दियानन्, आज दिने भन्यान्छन्,’ उनले भनिन्, ‘खान दिन्या भया नि सुत्न्याको ठेगान छैन ।’ जाजरकोटको खलंगामा मात्र सडक छेउ, बारी, बसपार्क, वडा कार्यालय परिसरको खुला स्थानमा बस्नेको संख्या ३ सयभन्दा बढी छ ।
सदरमुकामका पक्की घरहरूमा ठूलो क्षति छैन । तर, माटोको गारो र सामान्य इँटाले बनेका पुराना घर पूरै भत्केका छन् । अधिकांश घर चर्केकाले बस्न मिल्ने छैनन् । भेरी नगरपालिकाले उद्धार, बिरामीको उपचार र सामान्य राहतमै समय खर्चिनु परेकाले भत्केका घरको विवरण र त्यसबाट प्रभावित नागरिकको विवरण संकलन गर्न नसकेको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘हामीले पहिलो प्राथमिकता उद्धारमै दियौं, त्यसैले बास गुमाएकाले थप एक दिन दुःख पाउनुभयो,’ उनले भने, ‘आइतबारदेखि राहत वितरण र बसोबास व्यवस्थापनको काम सुरु गरेका छौं ।’ सोमबारसम्म बिस्तारै लयमा फर्किने उनले बताए ।
जिल्लाका जनप्रतिनिधि, सरकारी संयन्त्र र सुरक्षा निकाय शनिबार रातिसम्म उद्धारमै खटिएको थियो । आइतबारदेखि राहत संकलन, व्यवस्थापन र वितरणमा जुटेका जनाएका छन् । जिल्ला प्रशासनले राहत वितरण व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गरेको छ । राहत दिनेको भीड बढ्दै गएपछि प्रशासनले खलंगास्थित त्रिभुवन माविमा राहत संकलन डेक्स बनाएको छ । प्रशासनका आपूर्ति संयोजक महेश आचार्यका अनुसार आइतबार बिहानसम्म त्रिपाल, ब्लाङ्केट, मेट्रेक्ससहित खाद्यान्न र जंकफुड संकलन भएको छ । धेरै जनशक्ति उद्धारकै लागि खटिनु परेकाले राहतको विवरण खुलाउन नसकिएको उनले बताए ।
‘अहिले प्राप्त राहतलाई जहाँ जे बढी आवश्यक छ, त्यहीअनुसार पठाइरहेका छौं,’ उनले भने, ‘त्यसमा पनि पहिलो प्राथमिकतामा त्रिपाल र ओढ्ने सामग्री राख्ने गरेका छौं ।’ उद्धार र राहत वितरणका लागि जनप्रतिनिधिसँगै स्थानीय संघसंस्थालाई परिचालन गरिएको छ । प्रशासनले आवश्यकताअनुसार पालिकाको मागका आधारमा राहतका सामग्री पठाउने र स्थानीय सरकारले वडामा गठन भएको आपूर्ति व्यवस्थापन समितिले वितरण गर्ने व्यवस्था मिलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
‘शनिबार उद्धारमा लाग्नुपरेकाले अलिकति ढिलाइ भएको हुन सक्छ तर आइतबारबाट वितरण गरिरहेका छौं,’ उनले भने, ‘सदरमुकाममै पनि गुनासो बढेपछि अहिले म आफैं अनुगमनमा निस्किएर हेर्दै छु ।’ अति पीडितलाई प्राथमिकताका आधारमा वितरण गर्दा नपाउनेले गुनासो गरिरहेको उनले बताए । सदरमुकाममै रहेको भेरी नगरपालिकाको कार्यालयमा आइतबार साँझसम्म त्रिपाल र ओढ्ने माग्दा उपलब्ध हुन नसकेपछि पीडित आक्रोशित बनेका छन् । नगरपालिकामा त्रिपाल माग्न साँझा ६ बजे पुगेकी जयन्ती विकले आफूहरू कात्तिकको चिसोमा बिरामी पर्न थालेको बताइन् । ‘हामी यहीं भएकालाई सरकारले पीडित देख्दैन, दूरबिनबाट खोज्दै छ रे,’ उनले आक्रोश पोखिन्, ‘आज पनि त्रिपाल र ओढ्ने नदिएपछि अब सरकारको राहत चाहिँदैन, आफैं किनेर ओढ्छौं ।’ यस्तो आक्रोशित हुने धेरै छन् ।
भूकम्पका कारण चिउरी टोलका १३ जनाले ज्यान गुमाएका छन् । आइतबार दिउँसो ज्यान गुमाएका सबैको सामूहिक दाहसंस्कार गरिएको छ । ‘जनप्रतिनिधिसँग धेरै ठूला आस त थिएनन्, कम्तीमा समवेदना दिन त आउँछन् कि भनेको कोही पनि आएनन्,’ चिउरी टोलका सुरेश विकले भने, ‘यत्रो विपत्तिमा पनि सरकार भएको महसुस भएन ।’
उनका अनुसार गाउँमा ५६ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने करिब १ सय १० घर चर्किएका कारण भित्र पस्ने अवस्था छैन । सरकारले सुरक्षाकर्मीसमेत नपठाउँदा घरभित्र पुरिएका सामान पनि निकाल्न नपाएको उनले बताए । भूकम्पका कारण जिल्लामा सबैभन्दा धेरै क्षति बेहोरेको नलगाडमा पनि राहत वितरणको काम सुरु भएको छैन ।
चिउरी टोलका गोविन्द महरले पूरै बस्ती भूकम्पको कहरमा भए पनि जनप्रतिनिधिले नै बेवास्ता गरेको बताए । पर्याप्त लत्ताकपडा नहुँदा चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकमा ज्वरो, निमोनिया, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको उनको गुनासो छ । नलगाडका प्रमुख डम्बरबहादुर रावतले भूकम्पका कारण उपप्रमुख सरिता सिंहसहित ५५ जनाले ज्यान गुमाएको र झन्डै ४ सय घर भत्किएको बताए ।
‘पूर्वतयारी पनि नहुँदा ठूलो क्षति बेहोर्यौं, अहिले घाइतेको उद्धारमै व्यस्त भयौं, तथ्यांक संकलनका लागि सबै वडा समितिलाई परिचालन गरिएको छ,’ उनले भने, ‘अब राहत वितरणको कामले तीव्रता पाउँछ ।’ रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले तथ्यांक संकलनमा ढिलाइ हुँदा राहत वितरण गर्न नभ्याइएको बताए । उनका अनुसार नगरपालिकामा ४२ जनाको ज्यान गएको छ भने झन्डै ६ सय घर पूर्ण रूपमा भत्किएका छन् । कान्तिपुर दैनिकबाट…
