भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मध्य तमोरको प्रगति पचहत्तर प्रतिशत


  • माघ ८, २०७९
  • 234 Views
मध्य तमोरको प्रगति पचहत्तर प्रतिशत image

ताप्लेजुङ, माघ ८ गते । ताप्लेजुङमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ७३ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य कोरोना महामारीमा पनि रोकिएको थिएन।

ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका–१, सावादिन, मिक्वाखोला गाउँपालिका–१ र २ (खोक्लिङ) र फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ। निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भइसकेको छ।

सन् २०१९ मार्च ९ देखि आयोजनाको सिभिलतर्फ निर्माण कार्य सुरु गरिएको थियो। आयोजनाका प्रबन्धक डा. मणिराज पोखरेलले कामको प्रगति ७५ देखि ८० प्रतिशत बीचमा रहेको बताउनुभयो। सुरुङ निर्माण सम्पन्न भएसँगै हेडवक्र्स निर्माण कार्य, बालुवा थिग्राउने पोखरी, सेटलिङ बेसिन, विद्युत् गृहलगायत आयोजनाको सबै क्षेत्रको काम निरन्तर भइरहेको पोखरेलले बताउनुभयो। आयोजनाको सम्पूर्ण काम सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पनि आयोजनाका प्रबन्धक डा. पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सोही लक्ष्यसहित हाल निर्माणको कार्य भइरहेको छ। मुख्य ठेकेदारका रूपमा चच्याचङ फस्ट हाइड्रो तथा पावर कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले काम गरिरहेको छ।

यस्तै इलेक्ट्रो मेकानिकलसम्बन्धी कार्य सीडब्लूटीडब्लु, हाइड्रो मेकानिकलको कार्य माछापुच्छ«े मेटल तथा मेसिनरी वर्क प्रालि र विद्युत् प्रसारण लाइनको कार्य कस्मिक इलेक्ट्रिकल एन्ड इन्जिनियरिङ प्रालिले गरिरहेको छ। सुरुमा ठूलै सङ्ख्यामा चिनियाँ मजदुरले काम गरेको भए पनि हाल केही चिनियाँ र अधिकांश नेपाली मजदुर आयोजनाको काम गरिरहेका छन्। हाल सात सयभन्दा बढी मजदुर कार्यरत रहेका आयोजनाले जनाएको छ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत् करिब १२ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुस्थित २२० केभीए क्षमताको सबस्टेसनमा जडान गरिनेछ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो सबस्टेसनमार्फत मध्य तमोरबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाले जानकारी दिएको छ। निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजना जिल्लाको हालसम्मकै ठूलो आयोजना पनि हो।

गाेर्खापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.