DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महानगरका मेयरका उम्मेदवार टुंग्याउँदै एमाले


  • चैत्र २९, २०७८
  • 356 Views
महानगरका मेयरका उम्मेदवार टुंग्याउँदै एमाले image

काठमामडौं । ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकार र मञ्जली शाक्य एमालेबाट मेयर–उपमेयरको उम्मेदवार, चितवनमा विजय सुवेदी सर्वसम्मत, विराटनगरमा पाँचजनाको नाम सिफारिस, काठमाडौंका एक सय ३८ र ललितपुरका २९ वडाबाट उम्मेदवार सिफारिस, काठमाडौं, पोखरा र वीरगन्जमा आज मेयरका उम्मेदवार सिफारिस हुने

एमालेले ललितपुर महानगरपालिकामा पार्टीका तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी सर्वसम्मत टुंगो लगाएको छ । महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको उम्मेदवारी सर्वसम्मत रूपमा टुंगो लगाएको हो । एमाले ललितपुरका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य व्यञ्जनकार ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसतर्फबाट विजयी अहिलेका मेयर चिरिबाबु महर्जनसँग तीन सय ३६ मतको झिनो अन्तरले पराजित भएका थिए ।

त्यस्तै, उपमेयरमा प्रस्तावित शाक्य एमाले ललितपुर महानगर कमिटीकी अध्यक्षसमेत छिन् । महानगरका मेयर–उपमेयरको अन्तिम टुंगो केन्द्रीय कमिटीले लगाउनेछ । शाक्यले महानगर कमिटीको बैठकले आफूहरूलाई सर्वसम्मत उम्मेदवार प्रस्ताव गरेर सकारात्मक सन्देश दिएको दाबी गर्दै समयमै जनताको घरदैलोमा पुग्न सहज बनेको प्रतिक्रिया दिइन् । ललितपुर महानगरका २९ वडामा पनि एमालेका वडाध्यक्ष र सदस्यहरूको उम्मेदवार सिफारिस भएको छ । सर्वसम्मत हुन नसकेका अन्य नामहरू जिल्ला कमिटीले टुंग्याउनेछ ।

त्यस्तै, चितवनको भरतपुर महानगरमा एमालेले विजय सुवेदीलाई सर्वसम्मत मेयरको उम्मेदवार प्रस्ताव गरेको छ । तीनपटकसम्म पूर्व जिल्ला सचिवका रूपमा पार्टीलाई नेतृत्व गरेका सुवेदीलाई एमाले केन्द्रीय सदस्य तथा अघिल्लो निर्वाचनका उम्मेदवार देवी ज्ञवालीले आइतबार आयोजित महानगर कमिटीको बैठकमा सर्वसम्मत मेयरको उम्मेदवारका रूपमा प्रस्ताव गरेका हुन् । चितवनमा एमालेले उपमेयरको नाम भने सिफारिस गरिसकेको छैन । मेयरमा प्रस्तावित सुवेदी प्रदेश सभा सांसद तथा पूर्वप्रदेशमन्त्रीसमेत हुन् ।

उता, विराटगर महानगरपालिकामा एमालेले मेयरका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको एमाले विराटनगर महानगर कमिटी बैठकले मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो । सिफारिसमध्ये साह एमाले केन्द्रीय सदस्य, बस्नेत र भट्टराई प्रदेश कमिटी सदस्य, कार्की जिल्ला उपाध्यक्ष र थापा एमाले विराटनगर महानगरका अध्यक्ष हुन् ।

त्यस्तै, उपमेयरमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’को नाम सिफारिस भएको छ । एमाले विराटनगर महानगर अध्यक्ष सागर थापाका अनुसार दाहाल प्रदेश सदस्य, उपाध्याय जिल्ला सदस्य र कार्की महानगरकी उपाध्यक्ष हुन् । एमालेले काठमाडौंमा मंगलबार दश नगरपालिकाको बैठकबाट मेयर, उपमेयरको नाम सिफारिस गर्दै छ । जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार सोमबार जिल्लाका एक सय ३८ वडाबाट अध्यक्ष र सदस्यहरूको नाम सिफारिस भएको छ । तीमध्ये कतिपयमा सर्वसम्मत र कतै नाम सिफारिसपछि पनि छलफलकै क्रममा रहेको पनि निरौलाले बताए ।

त्यस्तै, काठमाडौं महानगरले पनि मंगलबार महानगर कमिटीको बैठकबाट मेयर र उपमेयरको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौंको मेयरका लागि अहिलेसम्म अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, एमाले महानगर कमिटीका अध्यक्ष निर्मल देउला, जिल्ला उपाध्यक्ष नवराज पराजुलीलगायत आकांक्षी छन् । उपमेयरमा भने पार्टी नेतृत्वले राष्ट्रिय राजनीतिको शक्तिसन्तुलनलाई समेत ध्यान दिएर तालमेल गर्न सक्ने भएकाले धेरै छलफल नभएको जनाइएको छ ।

अघिल्लो निर्वाचनमा काठमाडौं महानगरमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । त्यस्तै, काठमाडौं महानगरका ३२ वटै वडाबाट वडाध्यक्ष र सदस्यहरूको नाम सिफारिस भएको महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले बताए । उता, पोखरा महानगरमा एमालेले मंगलबारको महानगर बैठकबाट मेयर र उपमेयरको नाम सिफारिस गर्ने गरी तयारी गरेको छ । अहिलेसम्म पोखरा महानगरको मेयरका लागि कृष्ण थापा, रश्मी आचार्य, मीना गुरुङ, मञ्जु गुरुङ, राजीव पहारी, भरत पहारीलगायत आकांक्षी देखिएको गण्डकी प्रदेश कमिटीका एक नेताले बताए । अहिलेका मेयर मानबहादुर गुरुङ भने लामो समयदेखि अस्वस्थ छन् ।

उपमेयर मञ्जुले मेयरमा आकांक्षा राखेकी छिन् । मेयरमा दाबी गर्ने तयारीमा रहेका थापा ०४९ मा तत्कालीन पोखरा नगरपालिकाका निर्वाचित मेयरसमेत हुन् । त्यस्तै, आचार्य अनेरास्ववियुका पूर्वउपाध्यक्ष तथा राजीव पहारी युवा संघका पूर्वअध्यक्ष हुन् । त्यस्तै, वीरगन्ज महानगरपालिकामा पनि एमालेले मंगलबारबाटै उम्मेदवार चयन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । नयाँ पत्रिका दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.