काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि शनिबार मतदान हुँदै छ । अन्तिम समयसम्म सहमतिको प्रयास गरिए पनि सफल हुन सकेन । महासंघका ६४ पदमा निर्वाचन हुँदै छ । महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिई आआफ्ना प्यानल बनाएर चुनावी मैदानमा छन् । ‘निर्वाचन निष्पक्ष ढंगबाट होस् भनेर तयारी गरिएको छ,’ महासंघकी अध्यक्ष राणाले भनिन्, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन हुनेछ ।’ शनिबार राति अबेरसम्म मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिइन् । गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निर्वाचन गराउन स्वीकृति दिएसँगै सोहीअनुसार निर्वाचनको स्थान तय गरिएको छ ।
सबै तयारी पूरा भइसकेको निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । निर्वाचनमा उपत्यकाका तीन स्थानबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । यसअनुसार एसोसिएटतर्फ कार्की ब्यांक्वेट बबरमहल, जिल्ला नगर उद्योग वाणिज्य संघको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी र वस्तुगत समूहको मतदान महासंघ कार्यालय टेकुमा हुनेछ । निर्वाचनमा ११ सय १० मतदाता छन् । यसअन्तर्गत जिल्लारनगरतर्फ १ सय ५, वस्तुगततर्फ १ सय १, एसोसिएटतर्फ ९ सय ४ रहेको महासंघले जनाएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहमा १२ मतदाता छन् । त्यसमा ६ वटाले मात्र नवीकरण गरेको निर्वाचन अधिकृत पौडेलले बताए । ‘द्विराष्ट्रियको गणना एसोसिएटतर्फ हुन्छ । यसका सदस्यले वरिष्ठ उपाध्यक्ष पदमा मात्र भोट हाल्न पाउँछन्,’ उनले भने, ‘यो समूहबाट एक जना निर्विरोध भइसकेका छन् ।’ त्यस्तै संस्थापक समूह जिल्लारनगर समूहमा गनिने उनले जानकारी दिए ।
शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुने पौडेलले बताए । ‘सबैको फरकफरक ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘सहज भएसम्म शनिबार राति १२ बजेभित्र नतिजा आइसक्छ ।’ निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै तीन उपाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला नगर समूहमा ३८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पौडेलले बताए । एसोसिएटतर्फ ३१, वस्तुगततर्फ २८ र संस्थापक समूहमा दुई जनाको उम्मेदवारी परेको छ । दुई पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले द्विराष्ट्रिय संघमा नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल र प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका हुन् ।
महासंघको साधारणसभा ११ गतेबाट सुरु भएको हो । पहिलो दिन बिहीबार ५४औं वार्षिक साधारणसभाको उद्घाटन भयो भने दोस्रो दिन शुक्रबार बन्द सत्र चल्यो । बन्द सत्रलाई महासंघकी अध्यक्ष भवानी राणाले सम्बोधन गरेकी थिइन् । कार्यक्रममा महासंघकी निमित्त महानिर्देशक मीना श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरियो । कोषाध्यक्ष निरक केसीले प्रस्तुत गरेको महासंघको आर्थिक प्रतिवेदन पनि बन्द सत्रमा पारित भयो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ढकाल र प्रधान, जिल्ला र नगर उपाध्यक्ष पदका उम्मेदवारहरू दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत क्षेत्रका लागि उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एसोसिएटतर्फ उपाध्यक्ष पदका उम्मेदवार सौरभ ज्योति र रामचन्द्र संघाईले आआफ्ना तर्फबाट नीतिगत मन्तव्य राखे । कान्तिपुर दैनिकबाट…..
