काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका– ४ साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुईजनाको मृत्यु भएको छ । एक्कासि सडक भासिएपछि एउटा कार र दुईवटा मोटरसाइकल मर्स्याङ्दी नदीमा बगेका थिए । सवारीसाधनसँगै बगेका दुईजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका– २ बस्ने ३५ वर्षीय केशव घिमिरे र हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल छन् । शुक्रबार एक्कासि सडक भासिँदा गुडिरहेका तीन सवारीसाधन मर्स्याङ्दी नदीमा खसेको र दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार सडक भासिएर सवारी साधन बगेको खबर पाएपछि पुगेको प्रहरीले खोजी गर्दा दुई शव भेटेको हो । ग। १५ प २९५३ नम्बरको मोटरसाइकलका चालक घिमिरेको शव फेला परेको, तर मोटरसाइकल बेपत्ता भएको डिएसपी खड्काले बताए । त्यस्तै, बा। ३३प १०८१ नम्बरको मोटरसाइकल पनि खसेर बेपत्ता भएको छ । तर, मोटरसाइकलचालक र त्यसमा सवारी अर्का व्यक्ति जोगिएका छन् ।
नदीमा बा १० च ४७७९ नम्बर लेखिएको कारको केही भाग भेटिएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएको कारमा कतिजना सवारी थिए भन्ने खुलेको छैन । मर्स्याङदीमा पानीको बहाब बढेकाले गोताखोर टोली परिचालन गर्न नसकिएको प्रहरीले जनाएको छ । सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय तनहुँले प्रयास गरिरहे पनि आधा रातसम्म खुलेको छैन । कार्यालय प्रमुख लक्ष्मी केसीले रातिसमेत काम गरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिइन् ।
जाममा परेकी श्रीमती लिन जाँदा नदीमा बगे केशव
स्थानीयका अनुसार शुक्रबार बिहान आएको पहिरोले जाममा परेकी श्रीमतीलाई लिन मुग्लिन गएका केशव दुर्घटनामा परेका थिए । श्रीमतीले जाममा परेको जानकारी मोवाइल फोनबाट गराएपछि केशव लिन गएको आफन्त नरनाथ काफ्लेले जानकारी दिए । ‘जाममा परेपछि नातिनीले फोन गरेर बोलाएकी रहिछन् । त्यसपछि नाति बिहान मोटरसाइकल लिएर गएको थियो । त्यति नै बेला सडक भासिन पुगेछ,’ उनले भने ।
जाममा परेकी केशवकी श्रीमती भने मोटरसाइकलमा लिफ्ट मागेर घरतर्फ आउँदै थिइन् । लिफ्ट लिएर आउँदै गरेको जानकारी गराउन मोवाइल फोनमा सम्पर्क नहुँदा ठूलो दुर्घटना भएको परिवारको भनाइ छ ।
पृथ्वीराजमार्ग खोल्न मध्यरातसम्म प्रयास
सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बिहान पाँच बजेदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो तीनबजे साना सवारी साधनका लागि एकतर्फी खुलाइएको केही समयमै रोकिएको छ । सडक जोखिमपूर्ण रहेकाले पुनः आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले अवरुद्ध राजमार्गलाई छिटोभन्दा छिटो सुचारु गर्नको लागि निर्देशन दिएका छन् ।
सडक भासिएर सवारी साधन मर्स्याङदीमा खसेको थाहा पाउने बित्तिकै मन्त्री बिक निरिक्षणको लागि पोखराबाट आँबुखैरेनी आएका थिए । ‘घटना भएको थाहा पाउने बित्तिकै म पुगेँ । तर, साना सवारी साधन कटाउन पनि असहज अवस्था भएकाले आवागमन रोकेर रातभर काम गरेर भए पनि शनिबार बिहानबाट राजमार्ग सुचारु गराउन निर्देशन दिएको छु,’ मन्त्री डोवाटेले भने, ‘राजमार्ग बन्द हुँदा सबै प्रभावित भएका छन् । विशेष गरी बिरामीहरू बढी मर्कामा छन् ।’
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका गम्भीर अवस्थाका एक विरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । गोरखाको बारपाकका ५२ वर्षीय बालशम्सेर गुरुङलाई उपचारको लागि काठमाडौं लगिएको हो । राजमार्ग अवरुद्ध भएपछि लैजान विकल्प नभएकाले उनलाई हेलिकोप्टरमा लगिएको हो ।
पहिरो झर्दा पुनः मुग्लिङ्ग नारायण सडक अवरुद्ध
चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलामा पहिरो झर्दा शुक्रबार बिहानदेखि मुग्लिङ नारायणगढ सडक अवरुद्ध भएको छ । साझको अविरल वर्षाको कारण माथीबाट पहिरो झर्दा बाटोको दुबैतर्फ पहिरो खसेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । वर्षातको कारण तत्काल पहिरो पन्छाउन नसकिने प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
गोरखाको पालुङटारमा दुई मोटरेबल पुल बगायो
अविरल वर्षापछि आएको बाढीले गोरखाको पालुङटारमा दुईवटा मोटरेबलपुल बगाएको छ । शेरबजार र सिस्नेरीबीच चुतिखोलामा रहेको निर्माणाधीन पुल बाढीले बगाएको पानपा–९ का वडाध्यक्ष भेषराज पाण्डेले जानकारी दिए । पालुङटार नगरपालिका–९ स्थित विर्दीको चुतीखोलामा रहेको मोटरेबलपुल पनि बाढीले बगाएको छ ।
अबुवा–शेर सडकखण्डअन्तरगत रहेको विर्दीको चुर्तीखोलामा माथिको पुल बगाएपछि आवतजावत ठप्प बनेको अध्यक्ष पाण्डेले जानकारी दिए । लगातारको वर्षापछि केही स्थानमा विजुलीका पोल ढलेको र बाढीका कारण करिब ३ हजार रोपनी क्षेत्रफलमा लगाइएको खेतीबाली नष्ट भएको पनि उनले जानकारी दिए ।
पालुङटार नगरपालिका–६ केरउनीका केशरबहादुर थापाको घर पहिराले बगाएको छ । पहिराले थापाको जस्ताले छाएको ढुङ्गा र सिमेन्टले बनेको २ कोठे घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । घर बगेपछि थापा परिवार बारीमा पाल टाँगेर बसिरहेको छ । नयाँ पत्रिका दैनिकबाट…..
