जोमसोम । उत्तरी कोरला नाका जोड्ने उपल्लो मुस्ताङको जोमसोम(कोरला सडकमाथि थुप्रिएको हिउँ उपकरणको सहायताले पन्छाइएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी कोरला सडकको हिउँ पन्छाएको हो। पालिकाले शुक्रबार र शनिबार दुईदिन लगाएर उपल्लो मुस्ताङको कोरला सडकमाथिको हिउँ पन्छाएको हो। हिउँ पन्छाएपछि सडक आवागमन सञ्चालनमा ल्याएको छ ।
लो(ध्ये क्न्ट्रक्सनको डोजर भाडामा लिएर हिउँ पन्छ्याईएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। उनका अनुसार जोमसोम(कोरला सडक अन्तर्गत वारागुङ मुक्तिक्षेत्र(३ छुसाङ देखि स्याङवचे र स्याङवचे देखि लोघेकर गाउँपालिका(१ चराङ सम्मको करिब ५० किमी सडकको हिउँ पन्छाएको हो।
एक साताअघि उपल्लो मुस्ताङ क्षेत्रमा ३ फिट र तल्लो मुस्ताङमा २ फिट बढी हिउँ परेको थियो। भारी हिमपातका कारण जोमसोम(कोरला सडक, मुक्तिनाथ सडक र बेनी(जोमसोम सडक अवरुद्ध भएको थियो। बाँक्लो हिमपातले सडक अवरुद्ध भएपछि मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई समस्या परेको थियो भने उपल्लो मुस्ताङमा सवारी आवागमन पुरै ठप्पै भएको थियो।
मुक्तिनाथ सडकको हिउँ सुरक्षाकर्मीले पन्छ्याईएको थियो भने बेनी—जोमसोम सडकको घाँसादेखि लेतेसम्मको हिउँ उक्त खण्डमा काम गर्ने कन्ट्रक्सनले सफा गरेको थियो। तर, कागबेनी देखि माथि कोरला सडकको हिउँ पन्छाउन नसक्दा सवारी साधन चल्न सकेका थिएनन्।
उपल्लो मुस्ताङको चराङसम्म हिउँ पन्छाएपछि उपल्लो मुस्ताङ जाने पर्यटक तथा स्थानीय सर्वसाधारणलाई आउजाउमा सहज भएको गापा अध्यक्ष बिष्टले उल्लेख गरे । हिमपातका कारण यसअघि सडक माथि बाँक्लो हिउँ जमेकाले एक सातासम्म सडक अवरुद्ध भएको अध्यक्ष बिष्टले बताए।
हिउँदको हिउँ पर्ने समय अझै थाँती छ। कार्तिक देखि फागुनसम्म हिउँ पर्ने सम्भावना रहन्छ। उपल्लो मुस्ताङ जाने सडक आवागमन अवरुद्ध हुँदा खाद्यान्न लगायतका अतिआवश्यकिय सामाग्री ढुवानी तथा सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन अप्ठेरो पर्ने भएकाले स्थानीयले सडकको हिउँ पन्छ्याउन अनुरोध गरेका थिए। हिउँ पर्ने समय थाँती रहेपनि जनताको सुविधाका लागि पालिकाकै पहलमा हिउँ पन्छाउने काम गरेको अध्यक्ष बिष्टले उल्लेख गरे। अन्नपूर्ण पोष्ट दैनिकबाट…
