भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विमानस्थलको जग्गामा यतीको आँखा


  • फाल्गुन १९, २०७७
  • 700 Views
विमानस्थलको जग्गामा यतीको आँखा image

काठमाण्डाैं । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।

यती समूहले एयरपोर्टको सिनामंगलस्थित ९२ रोपनीभन्दा बढी जग्गा २०७२ सालमै भाडामा लिने प्रयास गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालाका पर्यटनमन्त्री कृपासुर शेर्पाले यती समूहलाई यो जग्गामा होटल खोल्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए। तर प्रधानमन्त्री कोइराला र मुख्य सचिव सोमलाल सुवेदीले रोकेपछि प्रयास असफल भएको थियो। अहिले फेरि यो समूहलाई जग्गा भाडामा दिनेगरी सरकारले तयारी गरेको हो।

सुरक्षा संवेदनशीलताका कारण यो जग्गा होटल वा अन्य जुनसुकै प्रयोजनका लागि पनि भाडामा दिन नहुने सरोकारवाला सबैको धारणा छ। तत्कालीन मुख्य सचिव सुवेदीले २०७२ मा पर्यटनमन्त्री शेर्पाले उक्त जग्गा यती समूहलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा ल्याएको जानकारी दिए। विमानस्थल अन्डर ग्राउन्ड बनाउँदा पनि उक्त जग्गा चाहिने र सुरक्षालगायतका हिसाबले पनि त्यो जग्गा निजी क्षेत्रलाई होटल सञ्चालन गर्न दिन नहुने अडान राखेपछि मन्त्री शेर्पाले आफूमाथि हात उठाउने प्रयास गरेको सुवेदीले नागरिकलाई बताए। ‘त्यसपछि प्रधानमन्त्री कोइरालाले हस्तक्षेप गर्नुपरेको थियो’, उनले भने। सबैसँगको छलफलपछि मध्यमार्गी बाटो निकालेर त्यो प्रस्तावलाई मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाइएको सुवेदीले जानकारी दिए।

सरकारी उच्च स्रोतका अनुसार पाँच वर्षअघि असफल भएको प्रयासलाई अहिले सफल बनाउन यती समूह लागि परेको छ। उक्त स्रोतले प्रधानमन्त्रीमा केपी शर्मा ओली भएकै समयमा जग्गा भाडामा लिनेगरी तयारी थालिएको दाबी गरेको छ। त्यसै पनि प्रधानमन्त्री ओली यती समूहका ‘प्रिय’ भएको आरोप लाग्दै आएको छ।

यसअघि पनि यो समूह सरकारका उच्चपदस्थ अधिकारीलाई मिलाएर सहरका मुख्य भागका सरकारी जग्गा कौडीको मूल्यमा भाडामा लिन सफल भएको थियो। यो समूहले नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्ग र ताहचलको जग्गा भाडामा लिएर व्यापारिक कम्प्लेक्स बनाएको छ। यस्तै गोकर्ण फरेस्ट रिसोर्ट, सोलुखुम्बुको होटल कोन्दे भ्यु, पाथीभरालगायतका सरकारी जग्गा पनि यतीले मिलेमतोकै आधारमा भाडामा लिएको थियो।

यसको चौतर्फी विरोध भए पनि सरकार र अन्य निकायले नसुनेजस्तै गरिरहेका छन्। कतिपय विवादमा प्रधानमन्त्री ओलीले सरकारको निर्णय र यती समूहको बचाउसमेत गर्दै आएका छन्। यतीले भाडामा लिन खोजेको जग्गा सशस्त्र प्रहरीको भ्याली (विपत् उद्धार) गणले भोगचलन गरिरहेको छ। यही क्षेत्रमा पाँचतारे होटल सञ्चालन गर्न खोजिएको हो।

यो समाचार नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.