DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे


  • जेष्ठ ११, २०७९
  • 417 Views
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे image

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाए पनि मतदाताले भने अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । श्रीमती सिर्जना सिंहलाई उनले पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि काठमाडौं महानगरका मतदाताले अस्वीकार गरेका छन् । काठमाडौं महानगरको मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

शाहले ५० हजार ३० मत ल्याउँदै गर्दा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेत्री सिर्जना श्रेष्ठ ३० हजार ७ सय ६७ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् । एमालेका नेता एवं काठमाडौंका पूर्वमेयरसमेत रहेका मेयरका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी थिइन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए ।

तिलोत्तमा नगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेस नेता रामकृष्ण खाँणले १७ हजार ५ सय ४३ मत ल्याएर अग्रता लिइरहेका छन् । खाँणलाई एमालेका उम्मेदवार मोहन चापागार्इंले १६ हजार ६ सय ५९ मतसहित पछ्याइरहेका छन् । यस्तै, कांग्रेस नेता मोहन बस्नेतले आफ्ना भाइ बालकृष्ण बस्नेतलाई सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । बस्नेतले ७ हजार ७ सय २८ मत ल्याएर विजयी भइसकेका छन् । बाह्रविसेमा एमालेका उम्मेदवार निम फुन्जो शेर्पाले ५ हजार ४ सय ३३ मत ल्याएर दोस्रो भएका छन् ।

कांग्रेसले स्थानीय तहसम्बन्धी जारी गरेको घोषणापत्रमा स्थानीय तहका जनप्रतिनिधिले मनोनीत गर्दा आफ्नो परिवारका सदस्यलाई नराख्ने उल्लेख गरेको थियो । तैपनि केन्द्रमा राम्रो प्रभाव हुनेले पालिकामा उम्मेदवार बनाउनका साथै विजयी गराउनसमेत सफल भएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । रेणु ५२ हजार ३० मत ल्याएर मेयरमा विजयी भइसकेकी छन् ।

गत निर्वाचनमा समेत मेयरमा विजयी रेणु सत्तारूढ पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेकी हुन् । रेणुका प्रतिस्पर्धी रहेका एमाले नेता विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याएर दोस्रो भएका छन् । उता सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा भाइ कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएका थिए । सापकोटा ११ हजार ७२ मत ल्याएर मेयरमा विजयी भइसकेका छन् । सापकोटाका प्रतिस्पर्धी रहेका एमाले नेता इन्द्रबहादुर नेपालले ६ हजार ७ सय ८५ मत ल्याएर दोस्रो भएका छन् । पाँच दलीय गठबन्धनबाट माओवादीको कोटामा सो नगरपालिका पारेर सभामुख सापकोटाले भाइलाई नै टिकट मिलाइदिए थिए ।

जनता समाजवादी पार्टी नेपाल ९जसपा० अध्यक्ष उपेन्द्र यादवले समेत आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाए । तर, विराटनगरका मतदाताले उनलाई पत्याएनन् । विराटनगर महानगरपालिकाको पार्टी अध्यक्षसमेत रहेका अमरेन्द्रले सुरुमा मेयरको दाबी गर्दै आएका थिए । तर, पाँच दलीय गठबन्धनमा मेयर कांग्रेसको भागमा परेपछि उपेन्द्रले छोरा अमरेन्द्रलाई उपमेयरमा टिकट मिलाइदिए । मेयरमा दाबी गर्दै आएका अमरेन्द्र उपमेयरमा समेत विजयी हुन सकेनन् ।

अमरेन्द्रले १४ हजार २ सय १९ मत ल्याएर पराजित भएका छन् । अमरेन्द्रका प्रतिस्पर्धी एमाले नेत्री शिल्पा कार्कीले २५ हजार ६ सय ८० मत ल्याएर उपमेयरमा विजयी भएकी छन् । तर, विराटनगरमै पाँच दलीय गठबन्धनतर्फबाट मेयरका उम्मेदवार रहेका कांग्रेस नेता नागेश कोइराला विजयी भएका छन् । यसैगरी, जसपाबाट मधेस प्रदेशका मुख्यमन्त्री भएका लालबाबु राउतले श्रीमतीलाई गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनाए । तर, विजयी गराउन सकेनन् । पर्साको जगरनाथपुर गाउँपालिकाको उपप्रमुखमा लालबाबुले श्रीमती जलेखा खातुनलाई उम्मेदवार बनाए पनि उनले ३१ सय २३ मत ल्याएर तेस्रो स्थान बनाइएकी छन् । कांग्रेस नेत्री बबिता सिंहले ५५ सय ३१ मत ल्याएर उपप्रमुखमा विजयी भएकी छन् । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.