भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘हेल्लो प्रहरी ! मेरो भाइले अपराध गर्‍यो’


  • चैत्र १८, २०७७
  • 794 Views
‘हेल्लो प्रहरी ! मेरो भाइले अपराध गर्‍यो’ image

स्याङ्जा । एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे।

ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए। त्यसपछि चालकले ट्र्याक्टर फर्काए। घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्‍याए। तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। त्यही घटनाका एक आरोपित व्यक्ति हुन्, सहचालक २१ वर्षे सुनील राना। उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्‍याएका थिइन्।

घटनापछि राना चालक २४ वर्षे अमित परियारको घरमा बसेका थिए। परियार भोलिपल्ट बिहानै बुटवलमा ससुरालीको घरतर्फ लागे। राना भने पाल्पास्थित दिदीको घरमा पुगे। त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो। अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए। उनले दिदीलाई भने, ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फालिदिए।’

उनी घटना सुनेर झस्किइन्। गाहालाई भाइसरह सम्झिइन्। यस्तो घटना लुकाउन हँुदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन्। त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन्। भाइले गरेको गल्तीको कानुनी उपचार पाउनुपर्छ भन्दै उनी अघि बढिन्। परियारलाई फोन गरेर बोलाएतर आउन नमानेको प्रहरीले जनाएको छ।

राना चैत ८ गते पक्राउ परे। उनकै सहायतामा प्रहरीले अनुसन्धान अघि बढायो। पत्नी र एक छोरीसहित भारततर्फ जान लागेको अवस्थामा परियारलाई पनि रूपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए। परियार रूपन्देहीमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरी निरीक्षक हरिप्रसाद पौडेल नेतृत्वको टोली खटिएको थियो। परियार सासू सिकिस्तै बिरामी भएको र नगई नहुने जनाउँदै पत्नीसहित बुटवल जानै पर्ने भनेर त्यसतर्फ लागेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

ट्र्याक्टरबाट खसेर घाइते भएका गाहा नदीमा फालेपछि बेपत्ता भई घटनाबारे कसैलाई थाहा हँुदैन भन्ने अक्कल लगाउँदा ज्यानै गएको जिल्ला प्रहरी प्रमुख बोगटीले बताए। ‘घाइतेलाई उपचारमा लग्नुपर्नेमा ज्यानै लिनेसम्मका काम गरे’, उनले भने, ‘सवारी दुर्घटनासम्बन्धी मुद्दालाई बेवास्ता गर्नाले कर्तव्य ज्यान मुद्दा बन्यो।’

दुर्घटना भएकै स्थानका बासिन्दा मनोज विकले एक महिनाअघि ट्र्याक्टर किनेकाथिए। जसले स्थायी नम्बर पनि पाएका थिएनन्। अस्थायी नम्बर लु.अ.अ.फ. १०१२ को ट्र्याक्टरमा गल्याङ नगरपालिकाका विकले परियारलाई चालक, राना र गाहालाई सहचालकको जिम्मेवारी दिएका थिए।

घटनास्थलमा मृतकको एक जोर चप्पल र रगत लागेको ढुंगा भेटिएको प्रहरीले जनाएको छ। दुवैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट सोमबार सात दिनको म्याद थपी अनुसन्धान जारी रहेको प्रहरीलले जनाएको छ। घटनाको ६ दिनपछि गाहको शव पाल्पास्थित कालीगण्डकी नदीकिनार मुलियाघाटमा भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.