भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अन्नपूर्ण हिमालबाट भारतीय आरोही बलजित कौरको उद्धार, अनुराग मालु बेपत्ता


  • बैशाख ६, २०८०
  • 219 Views
अन्नपूर्ण हिमालबाट भारतीय आरोही बलजित कौरको उद्धार, अनुराग मालु बेपत्ता image

बेनी । म्याग्दी स्थित अन्नपूर्ण हिमालबाट मंगलबार एक जना भारतीय पर्वतारोहीको जिवितै उद्धार गरिएको छ। काठमाडौंको पायोनियर एडभेन्चर मार्फत आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका गरेर फर्कने क्रममा २७ वर्षीय बलीजत कौर मंगलबार बिहानदेखि सम्पर्कविहिन भएकी थिइन्।

पायोनियर एडभेन्चरका अनुसार सात हजार ६०० मिटरको उचाईबाट कौरलाई मंगलबार दिउँसो कैलाश एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। ‘कैलाशका क्याप्टेन क्लाउडी मार्टिनको उच्च उचाईमा साहसी र दक्ष उडानले उद्धार सफल भएको हो,’ पायोनियर एडभेन्चरले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, ‘उद्धारका लागि पायोनियरका निर्देशक मिङ्मा दोर्जीले कौरको खोजीमा क्याप्टेन क्लाउडीलाई साथ दिएका थिए।’

ससारको दशौं अग्लो र आरोहणका लागि जोखिमपूर्ण मानिने अन्नपूर्णको शिखर मुनी, समिट क्याम्प माथिको डाँडामा रहेकी कौरसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो। जीपिएस उपकरण मार्फत उनलाई सम्पर्क गरेर उद्धार गरिएको पायोनियरका निर्देशक दोर्जीले बताए।

उद्धारपछि हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर र म्याग्दीको दाना हुँदै कौरलाई काठमाडौको सिभिक अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था सुधार र खतरामुक्त भएको अस्पतालले जनाएको छ। उद्धारमा खटिएका म्याग्दी दानाका व्यवसायी इन्द्रसिंह शेरचनले कौरले नयाँ जिवन पाएको भन्दै खुसी व्यक्त गरेकी बताए।

धौलागिरि र अन्नपूर्ण हिमालमा दुर्घटना हुँदा उद्धारमा खटिने शेरचन बलजितको सकुशल उद्धार दुर्लभ भएको बताउँछन्। कौर सहित पासाङ शेर्पा र कामी शेर्पाले सोमबार अन्नपूर्णको शिखर चुमेका थिए। आधार शिविरमा फर्कने क्रममा बेपत्ता भएकी कौरसँग आरोहण टोलीका अन्य सदस्यहरुको सम्पर्क टुटेको थियो।

यसैबीच अन्नपूर्ण हिमालको सात हजार ५०० मिटरको उचाईमा स्कटल्याडका आरोही नोयल हान्ना मृत भेटिएका छन्। हान्नाको शव हेलिकप्टर मार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए।

सोमबारदेखि बेपत्ता भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भने भेटिएका छैनन्। हान्ना र मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए। आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसो सात हजार ५०० मिटरको उचाईबाट समातेको डोरी फुत्किएपछि खसेर बेपत्ता भएका थिए।

उद्धारमा निजी कम्पनीका चार वटा हेलिकप्टर परिचालन गरिएको थियो। सिम्रिक, कैलाश, एयर अल्टीच्युट र एभरेष्ट एयरका हेलिकप्टर उद्धार र खोजीमा परिचालन भएका थिए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण संसारको दशौं अग्लो हिमाल हो। वि।स। १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.