DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

असफल पुनर्मिलनको आख्यान


  • आश्विन २७, २०८०
  • 447 Views
असफल पुनर्मिलनको आख्यान image

काठमाडौं । लेखक प्रज्वल पराजुलीको दोस्रो किताब ‘चित्रलेखाको चौरासी’ अंग्रेजी उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद हो । किताबले वृद्ध हजुरआमा चित्रलेखाको चौरासी पूजाका लागि वर्षौं विदेशमा अलग्गिएर बसेका नातिनातिनीहरूको गान्तोक आगमन र पुनर्मिलनको कथा भन्छ ।

असफल पुनर्मिलनको आख्यान

नातिनातिनाहरू हजुरआमाको चौरासी पूजाका लागि केही दिनलाई आ–आफ्ना चटारो पन्छाएर आउँछन् । जेठी नातिनी भगवती १८ वर्षपछि माइतीघर फर्किरहेकी हुन्छिन् । कारण हो– बाहुन परिवारमा जन्मिएकी उनले भागेर एक दमाईसँग विवाह गर्नु । भगवतीपछिका अगस्त्य अमेरिकामा क्यान्सर विशेषज्ञ छन्, जो समलिंगी हुन् र आफ्नो लैंगिकता लुकाइरहेका हुन्छन् । उनी अमेरिकामै निकोलस उर्फ निक्कीसँग लिभिङ रिलेसनमा छन्, कसैसँग सम्बन्ध खुलासा नगर्ने सर्तमा ।

उमेरक्रममा तेस्रो मनसा लन्डन बस्छिन् । उनको मागी विवाह नेपालको पूर्वगृहमन्त्रीको छोरा हिमालसँग हुन्छ । उनी अक्सफोर्ड विश्वविद्यालयबाट उत्तीर्ण डाक्टर हुन्छिन् । तर, पछिल्ला केही वर्षदेखि अशक्त बिरामी ससुराको पूर्णकालीन सुसारे छिन्, जुन काम उनी पटक्कै मन पराउँदिनन् । सबैभन्दा कान्छो रुत्वा लेखक छन्, जो चर्चित हुन यौनसम्बन्धी सामग्री पनि लेख्छन् । एक पटक त उनले भीएस नयपलको किताबबाट केही हरफ आफ्नो किताबमा हुबहु सारे, त्यसमा उनलाई आत्मग्लानि छ । रुत्वालाई कसैको मतलब छैन, त्यसैले पनि कोही उनको अस्तित्वलाई गम्भीरतासाथ लिँदैन र पूजामा पनि नबोलाईकनै पुगेका हुन्छन् उनी ।

उपन्यासमा अर्की मुख्य पात्र छिन्– प्रशान्ति । प्रशान्त भएर जन्मेको, तर पछि प्रशान्ति हुन्छिन् किनभने उनी तेस्रोलिंगी वा किन्नर हुन् । चित्रलेखाले सानैदेखि प्रशान्तिलाई घरको काम गर्न राखे पनि नातिनातिनालाई झैं सम्मान र प्रेम गर्छिन् । किताबको सुरुवाती अंशमै शक्तिशाली प्रस्तुत गरिएको छ चित्रलेखालाई– बिँडी तान्ने, नेताहरूलाई सल्लाह दिने, सामाजिक अभियान चलाउने, फ्याक्ट्री र होटलहरू सञ्चालन गर्ने १ यसले उनको पात्रता सशक्त लाग्छ । बोलीमा रुखो, कसैसँग नझुक्ने स्वभाव, समुदायकै वरिष्ठ चित्रलेखाले प्रशान्तिलाई बलियोसँग आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने पाठ सिकाएकी हुन्छिन् ।

र, प्रशान्ति पनि चित्रलेखाबाटै अभिप्रेरित भएर आफूलाई ‘बोल्ड’ प्रस्तुत गर्छिन् । तेस्रोलिंगी चरित्रले पनि उनलाई बलियो भूमिकामा ढल्किन सजिलो बनाएको छ । नेपाली समाजमा तेस्रो–लिंगीमाथि उल्लेख्य संख्यामा किताब नलेखिएका बेला यस किताबले तेस्रोलिंगी के हो रु उनीहरूको भावना कस्तो हुन्छ रु भन्ने विषयमा विमर्श गरेको छ । प्रशान्ति प्रशान्त अर्थात् केटाको रूपमा जन्मेका हुन्छन् । उमेर बढ्दै गएपछि उनी केटीले गर्ने व्यवहार प्रदर्शन गर्छन् । गाउँघरका सबैको आँकलन छ– घरमा छोरी धेरै भएर त्यस्तो व्यवहार देखाएको । ९ वर्षको छँदा उनी नङमा पालिस गर्न थाल्छन्, दस वर्ष पुगेपछि दिदीको घाँघर लगाएर हिँड्छन् ।

त्यसपछि भने गाउँलेहरू प्रशान्तको बाबु पुरेतलाई सहगोत्रीसँग बिहे गरेकाले छोरो तेस्रोलिंगी भएर जन्मिएको भन्छन् र प्रशान्तलाई पागलको संज्ञा दिन्छन् । पहिलो श्रीमतीबाट चार छोरी जन्मिएपछि पुरेतले प्रशान्तकी सुस्त आमासँग साठी कटेपछि बिहे गर्छन् । र, प्रशान्त यसरी प्रशान्ति बन्छन् । प्रशान्ति त्यसपछि घर छोडेर भाग्छिन् र सिलिगुडी पुग्छिन् । कुनै बिहे भोजमा सित्तैंमा खान पाइन्छ भनेर जान्छिन् । त्यहीँ उनी तेस्रोलिंगीहरू चिटिक्क परेर शृंगारका साथ नाचगान गरेको देख्छिन् । तिनले आशीर्वाद दिएको र सट्टामा पैसा पाएको पनि देख्छिन् । किन्नरलाई पौराणिक कथासँग जोडेर हेर्ने भारतीय परम्परा छ, जहाँ किन्नरले आशीर्वाद दिँदा आफ्नो नभएको प्रजनन क्षमता पनि आशीर्वाद पाउनेमा जाओस् भन्ने विश्वास गरिन्छ ।

प्रशान्ति तीमध्ये राम्री तेस्रोलिंगीसँग कुरा गर्छिन् । र, आफूलाई सँगै लैजान रोइलो पनि गर्छिन् । अरू डराउँछन् र प्रहरीले नछोड्ला भनेर प्रशान्तिलाई धपाउँछन् । तर, तीमध्येकी एक सुन्दरी प्रशान्तिलाई लैजान राजी हुन्छिन् र तिनीहरू रेलमा दिल्लीदेखि बम्बाईसम्मको यात्रा गर्छन् । यात्रामा प्रशान्ति तेस्रोलिंगीको खास काम देख्छिन् । कसरी पैसा कमाउने रु के–के बोल्ने रु कस्तो हाउभाउ देखाउने रु कोसँग बच्ने रु कसलाई सकेसम्म धुत्ने रु नाचगान कसरी गर्ने रु सम्पूर्ण व्यवहार सिक्छिन् र आफू पनि त्यही अनुसरण गर्छिन् । पैसा कमाउने काइदा जान्दछिन् । केही समयपछि गुप्ताङ्ग हटाउने शल्यक्रियाका लागि प्रशान्तिलाई अर्को सहरको अस्पताल लगिन्छ ।

शल्यक्रियापछि असह्य पीडा हुन्छ उनलाई । उनी निर्णय लिन्छिन्– आफ्नो लैंगिकताका कारण सबै तेस्रोलिंगीझैं असहज र निरीह हुनुपरेको छैन । अस्पतालबाट भागेर प्रशान्ति गुहाटीको रेल पक्रिन्छन् र त्यहीँ नाच्दै गरेकी उनलाई चित्रलेखाले भेट्छिन् । अनि प्रशान्तिलाई घरमा काम गर्न लैजान्छिन् । नातिनातिनासँगको सम्बन्ध खासै आत्मीय छैन चित्रलेखाको । केहीसँग त तिक्तता भरिएको सम्बन्ध छ । जेठी नातिनी भगवती चित्रलेखाका लागि मरेसमान थिईन्, दलितसँगको बिहेका कारण । भागेको केही समयपछि स्विकार्लान् भन्ने आसले माइतीमा फोन गरेकी थिईन् भगवतीले, तर फोन उठाएर काटियो बारम्बार ।

भगवतीले त्यसपछि कहिल्यै फोन गरिनन् । बरु भुटानी शरणार्थी क्याम्पमा कष्टकर जीवन बिताईन् र भाग्यले अमेरिकामा पुनर्वास पाईन् । चौरासी पूजामा पुगेर चित्रलेखाद्वारा स्विकारिनु र भाइबहिनीसँग भेट्नु उनको प्रमुख उद्देश्य थियो । अचानक अमेरिकाबाट आएका अगस्त्यका साथी निक्कीलाई चित्रलेखाले सँगै बिँडी खाएर स्विकार्दा भगवती चित्रलेखामाथि व्यंग्य हानिरहन्थीन् । ‘गाई खाने जात’ लाई त्यति छिट्टै नजिक बनाउन सक्नेले आफ्नै नातिनीलाई अझै स्वीकार किन नगरेको रु उनको गुनासो थियो । व्यवहारबाट बुझ्दा भगवतीलाई स्वीकार गरेको भान हुन्थ्यो, तर बोलीमा अझै त्यो झल्किँदैनथ्यो ।

चित्रलेखा र मनसाबीचको सम्बन्ध बाहिरबाट हेर्दा तीतो र झगडालु छ, तर भित्रभित्रै एकअर्कालाई दुवै एकदमै बुझ्छन् । मनसा झगडा गर्न सिपालु, चित्रलेखा मनसालाई रिस उठाउन हरदम तयार । अन्तिममा चौरासी पूजापछि मनसा काठमाडौँ पुगेर पतिसँग ‘चित्रलेखाको हेरचाह गर्न म फेरि गान्तोक जान्छु’ भन्दै फर्किन लागेको प्रशंगले हजुरआमाप्रतिको मनसाको स्नेह प्रस्फुटित हुन्छ । साथै चित्रलेखा पनि बारम्बार ‘मनसा त्यस्तै छे छोड्दे’ भनेर अरूसँग भनिरहन्छिन् । यसले पनि चित्रलेखाको मनसा–माया प्रस्टै बुझिन्छ ।

अगस्त्यलाई चित्रलेखा सधैं ‘बिहे कहिले गर्ने रु’ भनेर हैरान बनाउँछिन् । पूजाको समयमा झनै भगवती पनि घिउमा आगो बाल्न खोज्छिन्, ‘केटीसँग भेट’ भन्दै । अगस्त्य आफ्नो लिंगबारे कसैसँग खोल्न सक्दैनन् । ४० पुगेको मान्छे, पेसाले अमेरिकी डाक्टर, प्रशस्त पैसा, त्यैपनि दुःखी जीवन १ उनी चित्रलेखासँग तर्किरहन्छन् र ‘बिहे’ शब्दबाट परै भाग्छन् । चित्रलेखाको इच्छा छ– पहिलो नातिको विवाह हेर्ने, ऊबाट जन्मिएको बच्चा हेर्ने । तर, समलिंगी अगस्त्यको आफ्नै समस्या छ ।

चित्रलेखा र रुत्वबीचको सम्बन्ध औपचारिक बढी हुन्छ । चित्रलेखा तर्सिन थालेकी थिइन् रुत्वसँग, उनका हर्कतका कारण । बढाइचढाइ गरी बलात्कारको कथा चित्रलेखाले रुत्वलाई सुनाएकी हुन्छिन्, जुन किताबमा लेखेर रुत्व सबैको सात्तो लिन्छन् । पछि पनि चौरासी पूजामा उनकै कारण सबै चौपट हुन्छ, पूजा राम्ररी सम्पन्न हुन पाउँदैन । पूजाको दिनअघिको कथा यहाँ सान्दर्भिक होला । केही वर्षअघि चित्रलेखाको भेट गोर्खाल्यान्ड मुभमेन्टका एक वरिष्ठ नेतासँग भएको थियो, जहाँ उनले राष्ट्रियता झल्काउन कुनै दिन दौरा–सुरुवाल अनिवार्य गरिनुपर्ने, उनको फ्याक्ट्रीले नै टेन्डर जित्नुपर्ने र त्यस बावजुद कमिसन दिने सम्झौता गरेकी थिइन् ।

सर्तअनुसार त्यसै गरिन्छ, दौरा–सुरुवाल अनिवार्य हुन्छ गोर्खाल्यान्ड अभियानमा । एक दिन यात्रा गर्दा रुत्वलाई त्यही अभियानका तन्नेरी केटाहरूले रोक्छन् र सोध्छन्– किन दौरा–सुरुवाल नलगाएको रु उनी सरल जवाफ दिन्छन्, ‘मलाई लगाउन मन पर्दैन र म यहाँको होइन, सिक्किमको हुँ । त्यहाँ त अनिवार्य छैन नि १’ आफ्नो रक्सी लुटिएपछि उनी सिक्किम पुग्छन्, सधैंको आफ्नो पोसाक– सर्ट र जिन्समा । चौरासी पूजाका दिन सबैलाई निम्तो गरिएको हुन्छ– समाजसेवीदेखि नेतागण, स्थानीयदेखि टाढा–नजिकका नातागोता । त्यही भीडमा निक्की हुन्छिन्, जसले सबैको ध्यान आफूतिर खिच्छिन्– गोरा भएर हिन्दुको संस्कारमा सक्रिय सहभागी भएकाले । निक्कीकै सुझावमा चित्रलेखाले ‘स्पिच’ दिने योजना पनि तय हुन्छ । पुरेतले पूजा नसक्दै विशेष अतिथिको समूह भएको मौका छोपी चित्रलेखा ‘स्पिच’ दिन तयार हुन्छिन् ।

गीत बजाइरहेको टोलीलाई त्यो बन्द गर्न, सबैलाई शान्त रहन भनिन्छ र चित्रलेखा माइक समात्छिन् । अचानक प्रशान्ति चिच्याउँदै आउँछिन् र ‘जरुरी फोन छ’ भन्छिन् । चित्रलेखा ‘पछि गर्छु भनेर सुनाइदे’ भन्छिन् । प्रशान्ति अत्तालिँदै बोल्छिन्, ‘एकदमै जरुरी छ ।’ त्यसपछि चित्रलेखा रिसिभर कानमा राख्छिन्, केही सुन्छिन् । तत्कालै ढल्छिन् र बेहोस हुन्छिन् । हतारिएर डाक्टर अगस्त्यसहितले मन्त्रीको गाडीमा उनलाई अस्पताल पुर्‍याउँछन् । उनी किन ढलिन् रु कारण खुल्छ– गोर्खाल्यान्डका नेताहरूबारे मजाक उडाएर रुत्वले पत्रिकामा लेखेका रहेछन् र ट्रेडिसनल लुगा नलगाउन उक्साएका रहेछन् । गोर्खा जनशक्ति मोर्चाले त्यसलाई ठुलो धोका मान्यो ।

मोर्चाले ठान्यो, ‘हजुरआमाले नातिलाई लेख्न लगाइन् ।’ र, तिनीहरूले फ्याक्ट्रीमा आगो लगाइदिएछन् । अब रुत्वले चित्रलेखाबाट माफी पाउने मौका कमै छ । रुत्व घर छाडेर भाग्न तयार हुन्छन् र पहिले नै भागेकी भगवती यो ‘कुनै ठूलो कुरा’ नभएको बताउँछिन् । यसरी चौरासी पूजाको अन्त्य सुन्दर हुँदैन । निम्त्याइएकाहरू भोज नखाई फर्किन्छन् । नबोलाइएका रुत्व भाग्छन् ।

चित्रलेखाको स्वास्थ्यमा सुधार त आउँछ, तर पहिलेझैं टाठी हुन्नन् । भगवती भुटानस्थित श्रीमान्को घर हुँदै अमेरिका फर्किने योजना बनाउँछिन् भने अगस्त्य निक्कीसँग सम्बन्ध नटिक्नेमा सहमत भएपछि अमेरिका फर्किन्छन् । प्रशान्ति पहिलेभन्दा बढी चित्रलेखाको हेरचाहमा लाग्छिन् । यसरी पुनर्मिलनका लागि एकै ठाउँ भेट भएका दाजुभाइ–दिदीबहिनीहरू जुन उल्लाससाथ हजुरआमाको चौरासी पूजामा आएका हुन्छन्, फर्किंदा सबैको मन बेचैन–बेचैन हुन्छ ।

उनीहरू प्रायःको तर्क छ, ‘प्रशान्तिको जीवन सार्थक हो । उनी तेस्रोलिंगी हुन्, तर भरपूर बाँचेकी छिन् ।’ सुख–सुविधामा जिन्दगी बिताएझैं देखिए पनि ती सबै भित्र–भित्रै दुःखी छन् । नेपालयले प्रकाशन गरेको ‘चित्रलेखाको चौरासी’ लाई अंग्रेजी मूल किताबबाट नेपालीमा अनुवाद गरेकी हुन्– विभू लुइँटेलले । किताब पढिरहँदा अनुवाद पढेको अनुभव हुँदैन । युवायुवतीलाई लक्षित गरी लेखिएको यो उपन्यास आधुनिक संसार, त्यसमाथि मध्यमवर्गीय नेपाली वास्तविक जीवन उतार्न सफल छ । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.