भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी

मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी

मुख्य बुँदा

मुस्ताङमा छिटो पाक्ने स्याउको टिपाइ सुरु ।

गाला र गोल्डेन जातका स्याउ भदौ १५ देखि टिप्न अनुमति ।

ढिलो पाक्ने स्याउ भने भदौ २२ गतेदेखि टिप्न पाइने ।

थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा प्रारम्भिक जातको स्याउ टिपाइ सुरु ।

तीजलाई लक्षित गरी स्याउ काठमाडौँको बजारमा पठाउने तयारी ।

उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीतर्फ किसानको आकर्षण बढ्दो ।

गत वर्ष मुस्ताङमा करिब ९० करोड रुपैयाँभन्दा बढीको स्याउ उत्पादन भएको थियो ।

मुस्ताङ, १६ भदाै  । मुस्ताङका स्याउ बगैँचामा छिटो पाक्ने जातको स्याउ टिप्ने काम सुरु भएको छ । जिल्लास्थित सरोकारवाला निकायले छिटो पाक्ने स्याउ टिप्ने समय भदौ १५ गते तोकेपछि किसान तथा व्यापारीले बगैँचाबाट स्याउ टिप्न थालेका हुन् ।

स्याउको गुणस्तर कायम राख्दै व्यवस्थित रूपमा बिक्री वितरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको पहलमा जिल्लाका पाँच स्थानीय तह, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, स्थानीय प्रशासन तथा कृषक प्रतिनिधिको सहभागितामा स्याउ टिप्ने कार्यतालिका निर्धारण गरिएको हो ।

कार्यतालिकाअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाइने व्यवस्था गरिएको छ । स्याउमा पर्याप्त गुलियोपन तथा गुणस्तर कायम भएपछि मात्रै बजारमा पठाउने उद्देश्यले यस्तो कार्यतालिका बनाइएको सम्बन्धित निकायले जनाएको छ ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने गाला र गोल्डेन जातका स्याउ टिप्न सुरु गरिएको हो ।

उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउको उत्पादन राम्रो भएकाले किसानहरू यस्ता जातको खेतीतर्फ आकर्षित भइरहेका छन् । हरितालिका तीजलाई लक्षित गर्दै किसान तथा व्यापारीले स्याउ टिपेर बजार पठाउन थालेका हुन् ।

स्थानीय किसान भीम गुरुङको बगैँचामा पनि सोमबारदेखि स्याउ टिपाइ सुरु भएको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले बताए । स्याउ टिपेर क्रेटमा राख्ने, ग्रेडिङ, नापतौल तथा प्याकेजिङ गरी काठमाडौँ पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

बगैँचाबाट स्याउ संकलन तथा प्याकेजिङका लागि करिब तीन दर्जन कामदार परिचालन गरिएको छ । करिब ४० रोपनी क्षेत्रफलमा उत्पादन भएको हाइब्रिड छिटो पाक्ने स्याउ टिपेर दुई दिनभित्र काठमाडौँ पुर्‍याउने योजना रहेको व्यवस्थापक तामाङले बताए । यद्यपि, स्थानीय जातको लोकल स्याउ भने भदौपछि मात्रै टिपाइ गरिने जनाइएको छ ।

घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मले पनि स्याउ टिप्ने तयारी गरेको छ । तर काठमाडौँतर्फ जाने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको फार्मका व्यवस्थापक आइतराम तामाङले बताए ।

स्याउ टिप्ने समय सुरु भएसँगै मुस्ताङका बगैँचामा व्यापारी तथा मजदुरको चहलपहल बढेको छ । व्यापारीहरूले साउनअघि नै किसानका बगैँचामा पुगेर स्याउ खरिदका लागि बैनापट्टा गर्ने र सिजन सुरु भएपछि स्याउ संकलन गर्ने गरेका छन् ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार गत वर्ष मुस्ताङमा करिब ९० करोड रुपैयाँभन्दा बढीको स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउमध्ये करिब ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्थानीय बजारमै खपत भएको थियो ।

मुस्ताङमा हाल करिब १ हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ । पछिल्लो समय छिटो उत्पादन दिने उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.