DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उकालो लाग्दै डेंगु संक्रमणः हालसम्म ७१ जिल्लामा संक्रमण फैलियो, छैन सरकारको पूर्वतयारी


  • जेष्ठ २१, २०८२
  • 137 Views
उकालो लाग्दै डेंगु संक्रमणः हालसम्म ७१ जिल्लामा संक्रमण फैलियो, छैन सरकारको पूर्वतयारी image

काठमाडौं, २१ जेठ । गर्मी बढ्दै जाँदा डेंगु संक्रमण दर पनि उकालो लागेको छ । हालसम्म ७१ जिल्लामा डेंगु फैलिएको छ । जनवरीयता २ जुनसम्म एक हजार १३५ जनामा डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौंमा सयजनामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख गोकर्ण दाहालले वर्षा सुरु भएकाले संक्रमण दर पनि बढ्दै गएको बताए । ‘पानी परेपछि ठाउँठाउँमा पानी जम्ने र डेंगु फैलाउने लामखुट्टेको आतंक बढ्ने गरेको छ । पानी जमेको ठाउँमा डेंगु फैलाउने लामखुट्टेले लार्भा पार्छ र डेंगु संक्रमण दर बढ्दै जान्छ,’ उनले भने, ‘समयमै सचेत हुने र जनचेतना फैलाउने हो भने डेंगु नियन्त्रणमा ल्याउन सकिन्छ ।’

दाहालका अनुसार गत वर्ष ४६ हजारमा डेंगु संक्रमण देखिएको थियो । डेंगुकै कारण १५ जनाको मृत्यु भएको थियो । पूर्वतयारी नहुँदा र सावधानी नअपनाउँदा गत वर्ष बढी संक्रमण देखिएको थियो । गत वर्षभन्दा यसपालि २ जुनसम्म कम संख्या देखिए पनि केही दिनमै संक्रमण दर ह्वात्तै बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ । गत वर्षको यही अवधिसम्म दुई हजार पाँच सयमा देखिएको डेंगु यसपटक एक हजार १३५ जनामा देखिएको छ । तर, सावधानी नअपनाउने र लार्भा नष्ट गर्ने अभियानमा नलागे संक्रमण दर बढ्ने भन्दै सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन् ।

सरकारले गर्मीको समयमा डेंगु फैलने भन्दै दुई वर्षअघि मापदण्ड तयार पारेको थियो । त्यसमा तीन तहका सरकारको जिम्मेवारी पनि तोकिएको छ । स्थानीय सरकारले जनचेतना प्रवाह गर्ने, लार्भा नष्ट गर्ने, स्थानीय स्वास्थ्य चौकीमा उपचार सेवा सहज बनाउने र नजिकै अस्पतालसँग समन्वय गर्ने, प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गर्ने र केन्द्र सरकारले बजेट तथा जनशक्ति व्यवस्थापन गर्ने मापदण्डमा उल्लेख छ ।

तर, पछिल्लो समय तीन तहका सरकारले डेंगु नियन्त्रण तथा यसको पूर्वतयारी गरेको देखिँदैन । कतिपय नगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्ने नाममा विषादी र धुलो छर्किने गरेका छन् । तर, त्यसभन्दा बढी उत्तम उपाय पानी जम्न नदिनु र सबै ठाउँलाई सफा राख्नु रहेको विज्ञ चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले गत वर्षभन्दा यस वर्ष डेंगु संक्रमण दर बढ्न सक्ने आकलन गरे । ‘डेंगु संक्रमण अहिले कम भए पनि अघिल्लो वर्षभन्दा बढी हुन सक्छ । पानी परेपछि संक्रमण ह्वात्तै बढ्छ, यस वर्ष बजेट तथा कार्यक्रममा डेंगु नियन्त्रणलाई पनि राखेका छौँ,’ उनले भने, ‘हरेक पालिकामा महामारी नियन्त्रणका लागि कार्यक्रम राखेका छौँ, तर पोहोरजस्तो अहिले नै अभियान सुरु भएको छैन ।’

कस्तो ठाउँमा बस्छ एडिस भाइरसधारी लामखुट्टे ?
एडिस भाइरसधारी लामखुट्टेको टोकाइबाट मात्र डेंगु हुने गर्छ । डा. शाक्यका अनुसार बगिरहेको पानीमा यो लामखुट्टे बस्दैन । जम्मा भएको सफा पानीमा मात्रै बस्छ । टायर, कुनै खुला भाँडा, खाल्टाखुल्टी, पानी जम्ने भाँडा तथा स्थानमा यसले लार्भा पार्छ र फैलावट बढ्छ । यस्तो लामखुट्टे २५–३० डिग्री तापक्रममा बस्ने उनको भनाइ छ । शाक्यका अनुसार डेंगु गराउने लामखुट्टे लाई टाइगर लामखुट्टे पनि भन्ने गरिन्छ । यो जहाँ पानी छ त्यहीँ बस्छ ।

तीन–चार थोपा पानी भएको ठाउँमा पनि यसले फूल पार्न सक्छ । यो बिहान र साँझ बढी सक्रिय हुन्छ । ‘डेंगुको ठ्याक्कै औषधि छैन, यसको लक्षणका आधारमा औषधि प्रयोग गर्ने हो, तर चिकित्सकको सल्लाहविना औषधि प्रयोग गर्न मिल्दैन,’ शाक्यले भने, ‘डेंगु भएकालाई लामखुट्टे ले टोकेर पनि अर्कोलाई सार्न सक्छ ।’

यस्तो हुन्छ डेंगुको लक्षण
डेंगु संक्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी बेस्सरी दुख्ने, बान्ता आउने, प्लेटलेट घट्ने, जिब्रोमा रगत आउने, पेट दुख्ने, शरीरमा बिमिरा आउने, आँखा दुख्नेलगायत लक्षण हुन्छ । तर, एउटै समस्या लगातार भइरह्यो र निको भएन भने तुरुन्त अस्पताल जानुपर्ने डा। शाक्यले बताए । उनका अनुसार कहिलेकाहीँ निको भयो भन्ने अवस्थामा यसले जोखिम निम्त्याउन सक्छ । डेंगु भएपछि दीर्घरोगी, सुत्केरीलाई बढी गाह्रो हुने चिकित्सकहरू बताउँछन् । डेंगुको दुखाइ बढी भएमा पारासिटामोल र सिटामोल प्रयोग गर्न सकिने उनीहरूको सुझाव छ ।

डेंगु संक्रमण हुने देशमध्ये नेपाल २०औँ स्थानमा
डेंगु संक्रमण हुने देशमध्ये नेपाल २०औँ स्थानमा पर्छ । पछिल्लो समय जलवायु परिवर्तन, सहरीकरण र बसाइँसराइका कारण डेंगु संक्रमण दर बढ्दो छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार गत वर्ष विश्वका एक करोड ४० लाखलाई डेंगु संक्रमण भएको थियो । यस्तै, डेंगुकै कारण ११ हजारको मृत्यु भएको थियो । डेंगुबाट ब्राजिल, अर्जेन्टिना, मेक्सिको, कोलम्बिया, भारत, थाइल्यान्ड, बंगलादेश, पाकिस्तानलगायत देश बढी प्रभावित छन् । नेपाल पनि प्रभावित देशमध्येमा पर्छ ।

डब्लुएचओका उपेक्षित तथा उष्णप्रादेशीय रोग विशेषज्ञ डा। प्रकाश शाक्यले नेपाल डेंगु संक्रमणको हिसाबले उच्च जोखिममा रहेको बताए । उनका अनुसार एडिस प्रजातिको लामखुट्टेले डेंगु सार्ने गर्दछ । साथै, डेंगुले जिका, चिकनगुनियालगायत संक्रमण पनि हुन्छ । त्यसबाट वेलैमा सचेत रहनुपर्ने शाक्यले बताए । ‘पछिल्लो समय तापक्रम बढ्दो छ, डेंगुको संक्रमण पनि यही कारण बढेको हो,’ उनले भने, ‘यो विश्वमा दु्रत गतिमा फैलिएको संक्रमण हो, नेपालमा पनि संक्रमण दर बढ्दो क्रममा छ ।’ नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.