DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उच्च हिमाली क्षेत्रमा तापक्रम माइनस १५ डिग्री सेल्सियस, बन्दोबस्तीबिनै बीओपी


  • पुष ४, २०७७
  • 726 Views
उच्च हिमाली क्षेत्रमा तापक्रम माइनस १५ डिग्री सेल्सियस, बन्दोबस्तीबिनै बीओपी image

काठमाडौँ । मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ नेचुङस्थित बोर्डर आउट पोस्ट ९बीओपी० मा कार्यरत सशस्त्र प्रहरी केही साताअघिसम्म दिउँसो र मौसमको अनुकूलता हेरेर साँझपख पनि वरपर बाक्लै निस्कन्थे । स्थानीयसँग उनीहरूको भेटघाट नियमितजसो हुन्थ्यो । केही दिनयता भने नेचुङ र आसपास क्षेत्रमा चिसो अत्यधिक बढेकाले सशस्त्र प्रहरीलाई बाहिर निस्कनै मुस्किल परेको छ । ठन्डीकै कारण बीओपीको भवन निर्माणको काम रोकेर ठेकेदार र कामदार फर्किएका छन् ।

समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको नेचुङमा गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइन भवनमा बीओपी स्थापना गरिएको थियो । चीनसँग सीमा जोडिएको कोरला नाका क्षेत्रमा यो बीओपी छ । पुसदेखि मध्य फागुनसम्म हिमपातका कारण सदरमुकाम जोमसोमबाट नेचुङ र कोरला जाने बाटो अवरुद्ध हुन्छ । त्यसबेला ओहोरदोहोर गर्न हेलिकप्टरको विकल्प छैन । त्यहाँको प्रतिकूल स्थितिबारे गृह मन्त्रालय जानकार भए पनि आवश्यक व्यवस्थापनका लागि पहल भएको छैन । चीन र भारतसँग सीमा जोडिएका उच्च हिमाली भेगका अरू बीओपीमा पनि हिमपात र प्रतिकूल मौसमको प्रभाव देखिन थालेको छ । भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइमा नेपालको सीमा क्षेत्र छ ।

उच्च हिमाली भेगमा सशस्त्र प्रहरी बल ९एपीएफ० का एक दर्जन बीओपी छन् । यी बीओपी सशस्त्र प्रहरीलाई बाह्रै महिना तैनाथ गराउने गरी खडा गरिएका हुन् । गत वैशाखयता मात्र सरकारले उच्च हिमाली क्षेत्रमा १० वटा बीओपी स्थापना गरेको छ । भारतले नेपाली भूमि दार्चुलाको कालापानी–लिपुलेकसम्मै अतिक्रमण गरी आफ्नो नक्सामै समावेश गरेपछि नेपालले सीमा क्षेत्रमा आफ्नो उपस्थिति सशस्त्र प्रहरीमार्फत बढाएको हो । सीमा सुरक्षा आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण, सीमा क्षेत्रका नागरिकको सुरक्षा र त्यस क्षेत्रमा राज्यको उपस्थिति देखाउन अतिविकट उच्च हिमाली क्षेत्रमा सशस्त्र प्रहरी खटाइए पनि उनीहरूलाई प्रतिकूल मौसममा चाहिने लत्ताकपडालगायत सामान व्यवस्था गर्न सरकारले सकेको छैन ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले उच्च हिमाली क्षेत्रमा खटिएका जनशक्तिलाई नियमित स्केलबाहेक प्रतिकूल मौसमसँग जुध्न सक्ने गरी बन्दोबस्ती व्यवस्था गर्न आवश्यक भएको बताए । ‘विगतमा जिल्ला तहमा बाहेक उच्च हिमाली क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी र गुल्म तैनाथ थिएनन्, नियमित स्केलको बन्दोबस्तीबाटै व्यवस्थापन हुँदै आएको थियो । यस पटकबाट उच्च हिमाली क्षेत्रमा बीओपी स्थापना गरिए पनि त्यहाँका जनशक्तिलाई प्रतिकूलतासँग जुध्न लत्ताकपडामा समेत अतिरिक्त व्यवस्था गरिएको छैन,’ उनले भने । बीओपी भएका स्थानमा हिमपातलगायत कारण विपत् भए खोज तथा उद्धारका लागि उपकरण पनि नभएको उनले बताए ।

ताप्लेजुङको ओलाङचुङगोलामा ३ हजार २ सय मिटर उचाइमा बीओपी स्थापना गरिएको छ । जहाँ दिउँसो माइनस ८ डिग्री र रातमा माइनस १५ डिग्री सेल्सियससम्म तापक्रम हुने भएकाले बाहिर हिँडडुल गर्न कठिन छ । हुम्लाको हिल्सामा ३ हजार ६ सय मिटर उचाइमा बीओपी छ । बीओपी रहेको दार्चुलाको छाङरुमा पनि तापक्रम माइनसमा झरिसकेको छ । चिसोकै कारण हिल्सा र छाङरुका बासिन्दा सदरमुकाम र पायक पर्ने स्थानमा सरिसकेका छन् । रातमा हिटर नबाली ड्युटी बस्न सक्ने स्थिति नरहेको सुरक्षाकर्मीहरूको भनाइ छ । उच्च हिमाली भेगमा खटिनेलाई चस्मा, माइनस तापक्रम धान्न सक्ने ज्याकेट, भित्री कपडा जरुरत हुने सुरक्षाकर्मीहरू बताउँछन् । कतिपय बीओपीमा पन्जा र ऊनीको टोपीसमेत पुगेको छैन ।

बीओपी रहेका पाँचथरको फालोट, तोरीफुले र चिवाभन्ज्याङ, संखुवासभाको किमाथाङ्का, इलामको जौबारी र कालापोखरीमा पनि यतिबेला अत्यधिक चिसो छ । यी क्षेत्रमध्ये कतै माइनस १५ डिग्री र कतै शून्य डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट १ सय ९ किमि टाढा रहेको लोमन्थाङको नेचुङमा पुसदेखि फागुनसम्म हिउँ जमेर स्थल यातायात अवरुद्ध हुन्छ । नेचुङबाट १२ किमि तल सेनाको गुल्म र ८ किमि तल प्रहरी चौकी छ । चिसोमा प्रहरी चौकी जोमसोम झर्छ । सेनाको गुल्म भने सशस्त्रको तुलनामा अलि व्यवस्थित छ ।

नेचुङ क्षेत्रमा मंसिर अन्तिमतिर तापक्रम दिउँसो १० डिग्री र राति माइनस २ डिग्री थियो तर शुक्रबार दिउँसोकै तापक्रम माइनस हुन थालेको छ । राति माइनस १५ डिग्रीसम्म पुग्न थालेको छ । हिमपातका बेला सडक अवरुद्ध भएर मानिसको आउजाउ नै बन्द हुने भएकाले कतिपय बीओपीमा खाना पकाउने ग्यास र पानी जम्न सक्ने हुनाले विकल्प के गर्ने भनेर बेलैमा व्यवस्था गर्न जरुरी रहेको एक सुरक्षा अधिकारीले बताए । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने यो वर्ष आन्तरिक साधनस्रोतबाटै उच्च हिमाली भेगमा तैनाथ सुरक्षाकर्मीका लागि बन्दोबस्तीका सामान व्यवस्था गर्न भनिएको बताए । आगामी वर्षका लागि मात्रै रासन र लत्ताकपडाको स्केलमा पुनरावलोकन गरेर मौसमअनुसारको व्यवस्था गर्न आन्तरिक छलफल अघि बढाइएको उनले बताए ।

उच्च हिमाली क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको बन्दोबस्तीका विषयमा मन्त्रालयको चौमासिक कार्यप्रगति समीक्षामा पनि छलफल भएको तर ठोस निर्णय नभएको गृह प्रवक्ता बुढाले बताए । ‘सशस्त्र र नेपाल प्रहरीले रासन र लत्ताकपडाको स्केलमा मौसमी प्रतिकूलता र अनुकूलता अनुसार परिमार्जन गर्नुपर्ने माग अघि सारेका छन्, यसलाई समयसापेक्ष बनाउनुपर्छ भन्ने कुरा पनि आएको छ,’ उनले भने, ‘तर यसमा तत्कालै निर्णय हुने सम्भावना छैन । त्यसैले अहिलेकै प्रावधानअनुसार व्यवस्थापन गर्न भनेका छौं ।’ आगामी वर्ष रासन र लत्ताकपडाको स्केल समयसापेक्ष बनाउने विषयमा गृहले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । पछिल्लो पटक उच्च हिमाली क्षेत्रका बीओपीलाई २ देखि ६ महिनासम्म पुग्ने गरी रासन भण्डारण गर्न निर्देशन दिइएको छ ।

सशस्त्र प्रहरीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्दै चीनतर्फ १५ र भारततर्फ ४ सय ८५ ठाउँमा बीओपी स्थापना गर्ने गरी काम अघि बढाएको छ । तर बीओपी थप्नुअघि न भौतिक संरचना विकासमा अध्ययन पुगेको छ, न साधनस्रोत व्यवस्थापन र जनशक्ति थपमा कुनै अध्ययन र समीक्षा नै भएको छ । उच्च हिमाली भेगमा खटिने जनशक्तिको स्वास्थ्य अवस्थाबारे पनि पर्याप्त ध्यान पुगेको छैन । पछिल्लो पटक सशस्त्रले दम, मुटु, मिर्गौलालगायतमा समस्या देखिएका दीर्घरोगी कर्मचारीलाई हिमाली भेगमा नखटाउन अनौपचारिक अध्ययन थालेको छ तर त्यसअनुसारको नीति कहिले बन्ने टुंगो छैन । सरकारले खटाएपछि कार्यस्थल पुगेका सशस्त्र प्रहरीका युनिटहरू उच्च हिमाली भेगमा बढ्दो चिसोसँगै ड्युटीमा छ । बास र बन्दोबस्तीका सामानको उचित व्यवस्थापन नहुँदा भने जिम्मेवारीमा खरो उत्रिन उनीहरूलाई निकै गाह्रो परेको छ । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.