DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उपल्लो डोल्पालीका दुःख


  • मंसिर १६, २०७७
  • 664 Views
उपल्लो डोल्पालीका दुःख image

डोल्पा । उपल्लो डोल्पामा यति बेला चिसो खपिनसक्नु छ । तापक्रम माइनसमा झरेको छ । चिसो छल्न मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका बासिन्दा औल झरिरहेका छन् ।  चौंरी, याक र घोडामा सामल बोकाएर तल्लो डोल्पातिर झर्ने मानिसको ताँती बाटामा देखिन्छ । उनीहरू औलको बस्ती नपुगुन्जेल टेन्टभित्र बास बस्छन् ।

खान्की घरकै हुन्छ । ‘५ दिन लगाएर यहाँसम्म आयौं,’ फोक्सुन्डोमा भेटिएका साल्दाङका उर्गेन लामाले भने, ‘काइगाउँमा बसेर वैशाखमा माथि फर्किने हो ।’ फोक्सुन्डोबाट काइगाउँ पुग्न पैदल तीन दिन लाग्छ ।साल्दाङ र भिजेर गाउँका ९० प्रतिशत बासिन्दा ओरालो लागिसकेका छन् । अरू पनि मंसिरभित्रै गाउँ छाडिसक्ने सुरमा छन् । हिउँदका करिब ६ महिना उपल्लो डोल्पाली सबैको बास तल्लो क्षेत्र औलमा हुन्छ ।

अधिकांश तल्लो डोल्पाका काइगाउँ, कागेनी, सुलिगाड, पहाडामा टेन्टमा हिउँद गुजार्छन् । केहीको अस्थायी घर छ । केही भने कोठा भाडामा लिएर बस्छन् । उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन् । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ । बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ । उपल्लो डोल्पामा नेपाल सरकारले खाद्यान्न पुर्‍याउँदैन ।

उपल्लो डोल्पालीका लागि हिउँदमा बेंसी झर्नु संस्कृति नै बनेको छ । पहिले आर्थिक हिसाबले मजबुत डोल्पालीहरू चिसो छल्न काठमाडौंसम्मै पुग्थे । त्यही मौकामा जडीबुटी व्यापार गर्थे । कोभिड–१९ संक्रमणका कारण यो वर्ष काठमाडौंसम्म जानेहरू घटे । वैशाख लागेपछि उपल्लो डोल्पा तात्न थाल्छ । त्यससँगै फर्किने क्रम सुरु हुन्छ । फर्कनासाथ बाली लगाउने र यार्चागुम्बु संकलन गर्ने समय हुन्छ । यार्चागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन् ।

उपल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्– शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध । तीनवटै गाउँपालिका तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ ।

साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यहीं छन् । साल्दाङमा रहेको कक्षा ८ सम्म पढाइ हुने विद्यालय चिसोले बन्द भइसकेको छ । फोक्सुन्डो तालको छेउमा पुरानो बस्ती छ जहाँ तिब्बती शैलीका लगभग ५० घर छन् । उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात छ । यो वर्ष कोभिड–१९ का कारण विदेशी पर्यटकको आगमन भएन । आन्तरिक पर्यटक भने बढिरहेका छन् ।

शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । शे–फोक्सुन्डो–८ का वडाध्यक्ष निमा लामाका अनुसार सबै स्थानीयको मुख्य बजार नै क्याटो हो । यो पटक भने कोभिड संक्रमणका कारण उक्त नाका खुलेन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–ला नाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन् । संघीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । कान्तिपुर दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.