भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’

बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’

मुख्य बुँदा

बझाङको खप्तडछान्नामा किसानले वर्षौँको मेहनतपछि स्याउ उत्पादन गरे पनि बजारको अभावमा चिन्तित छन् ।

खप्तडछान्ना–६ खालीगडाका दर्जनौँ किसानले स्याउ खेती गर्दै आएका छन् ।

सडक पहुँच कमजोर हुँदा बगैँचाबाट बजारसम्म स्याउ पुर्‍याउन ढुवानी खर्च अत्यधिक महँगो पर्ने गरेको छ ।

वन्यजन्तु, चराचुरुङ्गी र वर्षायाममा हुने सडक अवरोधले किसानको उत्पादनमा थप क्षति पुर्‍याइरहेको छ ।

भारतको सिम्ला तथा नेपालकै जुम्ला र मुस्ताङबाट आउने स्याउसँग स्थानीय उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न कठिन भएको किसानको भनाइ छ ।

कतिपय किसानले बगैँचामै प्रतिकिलो ८० रुपैयाँमा स्याउ दिन खोज्दा पनि खरिदकर्ता नपाएको बताएका छन् ।

ग्रामीण स्वावलम्बन विकास केन्द्रले पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्‍याउने तयारी गरेको छ ।

उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ र भण्डारणको व्यवस्था गर्न सके किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

बझाङ, १७ भदाै । बगैँचामा लटरम्म फलेका स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा खुसीभन्दा पीडा झल्किन्छ । १६ वर्षको मेहनतपछि बोटमा फल लागेको देख्दा उत्साहित हुनुपर्ने उनी अहिले भने ‘स्याउ कहाँ बेच्ने ?’ भन्ने चिन्तामा छिन् ।

खप्तडछान्ना गाउँपालिका–६ राजकोटकी भरूनीको बगैँचामा अहिले स्याउका बोट हाँगासमेत निहुरिने गरी फलेका छन् । बगैँचा राताम्य देखिन्छ । तर, परिवारका लागि यही उत्पादन खुसीको कारण बन्न सकेको छैन । स्याउ पाक्ने समयमा श्रीमान् वीरजनसहित छोराछोरीले पालैपालो बगैँचा कुरेर रात बिताउने गरेको भरूनी बताउँछिन् ।

‘दिउँसोको उज्यालोमा झुलेको फल देख्न श्रीमान्सहित छोराछोरीले हरेक दिन पालो लगाएर निद्रा कटाएका छौँ’, उनले भनिन् । तर, उत्पादन जोगाउनु नै किसानका लागि अर्को चुनौती बनेको छ । बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल तथा विभिन्न चराचुरुङ्गीबाट स्याउ जोगाउन चौबिसै घण्टा बगैँचाको निगरानी गर्नुपर्ने उनी बताउँछिन् ।

‘वन्यजन्तुले आँखा झिमिक्क गर्दा माल गायब भएजस्तै पारिदिन्छन् । त्यसैले चौबिसै घण्टा चौकीदार बस्नुपर्छ’, उनले भनिन् । यो समस्या भरूनीको बगैँचामा मात्रै सीमित छैन । खप्तडछान्ना–६ को खालीगडामा स्याउ खेती गरिरहेका दर्जनभन्दा बढी किसानको समस्या उस्तै छ ।

सोही वडाका राजकोटका भीमबहादुर थापाले पनि वर्षभरिको मेहनत आँखै अगाडि खेर गइरहेको देख्नुपरेको बताएका छन् ।‘रातदिन नभनी स्याउकै हेरचाहमा छौँ । झरेर कुहिने र वन्यजन्तुले नोक्सान गरेर आधा भइसक्यो । बेचिने छाँटकाँट छैन’, उनले भने ।

उत्पादनभन्दा ठूलो चुनौती बजार

जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेती गरेका किसानका लागि अहिले उत्पादनभन्दा बजार ठूलो चुनौती बनेको छ ।खालीगडाबाट सडक सञ्जाल पुगेको स्थानसम्म पुग्नै करिब दुई घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ । त्यसपछि पनि किसानले आवश्यक समयमा सहज रूपमा सवारीसाधन पाउँदैनन् । सवारी पाए पनि ढुवानी खर्च निकै महँगो पर्ने गरेको किसानको गुनासो छ ।

खप्तडछान्ना–५ का किरण गिरीका अनुसार स्याउ पाक्ने समयमै वर्षायाम हुने भएकाले सडक अवरुद्ध हुने समस्या थपिन्छ । ‘बर्खाको समयमा स्याउ पाक्छ । त्यही समयमा पहाडी सडक अवरुद्ध हुन्छ । यातायात सञ्चालन नहुने र ढुवानी कठिन हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किन्छ’, उनले भने ।

उनका अनुसार किसानले बजारसम्म स्याउ पुर्‍याउँदा फलको मूल्यभन्दा ढुवानी खर्च नै बढी पर्ने अवस्था छ । बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ ।

बाहिरको स्याउले ओगट्यो बजार

बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै पाइन्छ । नेपालकै जुम्ला र मुस्ताङबाट आउने स्याउ पनि बजारमा पर्याप्त छ । ती स्याउको मूल्य प्रतिकिलो करिब १५० देखि १७० रुपैयाँसम्म पर्ने गरेको छ । तर, स्थानीय किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुर्‍याउँदा त्यसभन्दा बढी खर्च लाग्ने अवस्था छ । फलतः उपभोक्ताको घरसम्म पुग्दा स्थानीय स्याउ बाहिरबाट आएको स्याउभन्दा महँगो पर्न जान्छ ।

त्यसपछि किसानसँग सस्तो मूल्यमा बेच्नु वा बगैँचामै छोड्नुबाहेक विकल्प नरहने अवस्था छ । खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापाले स्थानीय स्याउको गुणस्तर र स्वादलाई उपभोक्ताले प्राथमिकता नदिएको गुनासो गरे । ‘हाम्रो खालीगडामा विभिन्न जातका निकै स्वादिलो स्याउ छन् । तर बगैँचामै प्रतिकिलो ८० रुपैयाँमा दिन्छुभन्दा पनि किन्न मान्दैनन्’, उनले भने ।

टाढाको बजारसम्म पुर्‍याउँदा ढुवानी खर्च नै नउठ्ने उनको भनाइ छ । ठूलो क्षेत्रफलमा स्याउ खेती गरेर पनि बजार नपाएपछि आफूलाई पछुतो लागेको नरेन्द्रले बताए । ‘उत्पादन गरेर मात्र हुँदो रहेनछ । बेच्ने बजार पनि चाहिने रहेछ । लहलहमै गरेको खेतीले उपयुक्त नतिजा दिएन । समय र लगानी व्यर्थै गयो भन्ने लाग्छ’, उनले निराश हुँदै भने ।

उनका अनुसार ढुवानी खर्च व्यहोर्न तयार भए पनि स्याउ बोक्ने मानिससमेत सहजै पाउन सकिँदैन । ‘उत्पादन हुने फलफूलको आधा भाग नै कुहिने, सड्ने र वन्यजन्तुको आहारा हुने अवस्था छ । बचेको स्याउले पनि मूल्य पाउँदैन’, उनले भने ।

८०० बोट लगाएका किसान विदेश जाने सोचमा

खालीगडाकै किसान कैलाश खड्काले स्याउबाट आम्दानी गर्ने आशामा ८०० बोट रोपेका छन् । तीमध्ये करिब ३०० बोटमा अहिले लटरम्म स्याउ फलेका छन् । बगैँचा स्याउले भरिँदा उनलाई खुसी लाग्छ । तर, स्याउ टिपेर घरमा थुपारेपछि भने चिन्ता सुरु हुन्छ ।

‘थुप्रिएको स्याउ बेला–मौकामा बेचेर छोराछोरी पाल्न र पढाउन मुस्किल देख्छु’, उनले भने, ‘छोरी काठमाडौँ पढ्छे । स्याउकै पछि लाग्दा अहिले उसलाई दिने खर्च पनि उठाउन नसकिने अवस्था भयो । अब विदेशतिर जाने सोचिरहेको छु ।’

गत वर्ष उनले ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्‍याएका थिए । तर, त्यहाँ पनि स्याउ किन्ने ग्राहक भेटिएनन् । स्याउ बोकेर फर्कनसमेत सम्भव नभएपछि उनले अन्य कृषि उपजसँग साटेर घर फर्किनुपरेको थियो । ‘कोदो, मूला, आलुसँग साटेर ल्याएका थियौँ । यो पटक पनि त्यस्तै गर्नुपर्ने छ’, उनले भने ।

गाउँघरमा समेत स्याउ किनेर खाने ग्राहक कम रहेको उनको भनाइ छ ।‘हाम्रोतिर गाउँ खालीजस्तै भइसके । खासै मान्छे नै छैनन् । टाढा पुर्‍याउन सक्ने क्षमता नै छैन । व्यवस्थित शीतभण्डार भए बेसिजनमा पनि बेचिन्थ्यो कि !’ उनले भने ।

कृषकको सहारा बन्दै आरएसडिसी

किसानको यही समस्यालाई सम्बोधन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले स्याउ बजारीकरणको पहल थालेको छ ।खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको संस्थाले पहिलो चरणमा सीमित मात्रामा भए पनि किसानको स्याउ बजारसम्म पुर्‍याउने तयारी गरेको आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताए ।

उनका अनुसार पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्‍याउने योजना छ । किसानलाई राहत दिन ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने उनले बताए । ‘सिजनमा सबै ठाउँमा हुन्छ । त्यो मूल्यभन्दा सस्तो दिन सकेमा बजार पाउने आशा रहन्छ । त्योभन्दा बढी भए थन्किन सक्छ’, उनले भने ।

पहिलो चरणलाई परीक्षणका रूपमा अघि बढाइने र सफलता मिलेपछि ठूलो परिमाणमा स्याउ बजार पठाउन सकिने रोकायाले बताए ।बजारबाट माग बढेमा उत्पादनसँगै स्याउ सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण तथा ढुवानीको व्यवस्थापन गर्न सहकारीलाई सशक्त बनाउने संस्थाको योजना छ । किसानको उत्पादनले नियमित बजार पाउन सके बझाङमा स्याउ खेती विस्तारसँगै स्थानीय किसानको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.