DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एक वर्षमा ३७ हजार बढी क्षयरोगी पुष्टि, ९१ प्रतिशत बिरामीको सफल उपचार


  • चैत्र १०, २०७९
  • 322 Views
एक वर्षमा ३७ हजार बढी क्षयरोगी पुष्टि, ९१ प्रतिशत बिरामीको सफल उपचार image

काठमाडौँ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर केन्द्रले एक कार्यक्रम गर्दै आर्थिक वर्ष २०७८(७९ मा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रका नि।निर्देशक डा। नवीन प्रकाश शाहका अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष १० हजार बढी नयाँ बिरामी पत्ता लगाएको छ । डा। शाहका अनुसार केन्द्रले गत वर्ष २८ हजार भन्दा बढी बिरामी पत्ता लगाएको थियो ।

यो वर्ष पत्ता लागेका बिरामी मध्ये ६१।६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र करिब ८.७ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाहरू रहेको शाहले जानकारी दिनुभयो । बिरामी मध्ये ९१।५ प्रतिशत क्षयरोगका बिरामीको उपचार गराई निको बनाएको शाहको दाबी छ ।

करिब ३२ हजार बिरामी उपचार बाहिर

विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसार हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ । सोही सर्वेक्षण अनुसार नेपालमा हरेक वर्ष नयाँ पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुने अनुमान गरिएको छ ।

क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या र उपचारमा आएका बिरामी सङ्ख्याको अनुपात हेर्दा नेपालमा हरेक वर्ष झन्डै ३२ हजार क्षयरोगका बिरामीहरूमा रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन नसकिएको शाहले जानकारी दिनुभयो ।

सरकारले सन् २०५० भित्रमा क्षयरोगका बिरामीहरू प्रति दश लाख जनसङ्ख्यामा एक जना भन्दा कम गराउने लक्ष्य रहेको छ । क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न पञ्च वर्षीय रणनीतिक योजना २०७८(७९–२०८२(८३ तयार गरी कार्यान्वयन भइरहेको शाहले जानकारी दिनुभयो ।

औषधि प्रतिरोधी क्षयरोगका

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या वार्षिक रूपमा करिब दुई हजार आठ सय रहेको छ । यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अत्यन्त धेरै भएको विज्ञको तर्क छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । यो आर्थिक वर्षमा क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा दर्ता भएका थिए ।

यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा २१ सय जना बढी औषधि प्रतिरोधी क्षयरोगका व्यक्तिहरूको रोग पत्ता लगाई उपचारमा ल्याउन नसक्दा क्षयरोग कार्यक्रम थप चुनौती देखिएको छ ।

२०७८(७९ मा २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त अभियानका क्रियाकलापहरू सञ्चालन भएका थिए । चालु आर्थिक वर्ष २०७९÷८० मा थप १०० स्थानीय तहमा कार्यान्वयन गरी यस अभियानलाई आगामी चार वर्ष भित्रमा ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको केन्द्रले जनाएको छ ।

यस्तो छ विश्वको तथ्याङ्क

विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसार भरी ६० लाख पुरुष,३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब एक करोड छ लाख मानिसहरू क्षयरोगबाट पीडित भएका थिए । क्षयरोग नियमित उपचारले निको हुने रोग भएता पनि सन् २०२१ मा संसार भरी क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

क्षयरोग के हो र ?

शाहका अनुसार क्षयरोग माइक्रोव्यटेरियम टयुवरकोलोसिस भन्ने किटाणुबाट लाग्ने सङ्क्रमण रोग हो । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरूमा पनि यो रोग लाग्ने चिकित्सकहरू बताउँछन् । क्षयरोग ८० प्रतिशत जति फोक्सोको क्षयरोग हुने भएकाले बिरामीले श्वास फेर्दा हावामा सास लिँदा स्वस्थ मानिसमा कीटाणु सर्दछ । क्षयरोग महालिमाभन्दा पुरुषमा बढी मात्रामा देखिने गर्छ । जसमा आर्थिक रूपमा क्रियाशील उमेर समूहका वयस्क मानिस पर्छन् ।

लगातार २ हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुन् र साँझपख मन्द ज्वरो आउनु क्षयरोगका मुख्य लक्षण हुन । समयमा उपचार नगरेमा मृत्यु हुनसक्ने चिकित्सकहरू बताउँछन् । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो । यो वर्ष विश्व क्षयरोग दिवस ‘हो, हामी क्षयरोग अन्त्य गछौँ’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.