काठमाडौं । आधा दर्जन मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा समावेश गर्नुपर्ने एजेन्डाहरू पेस गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्यस्वरूप परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूलाई आ–आफ्नो एजेन्डाबारे प्रस्ताव पठाउन आग्रह गरेको थियो ।
अधिकांश मन्त्रालयले आफ्ना एजेन्डाहरू पेस गरिसकेका छन् । एजेन्डाको सूची हेर्दा धेरैजसो विगतकै सहमति तथा सम्झौतालाई अघि बढाउने प्रकृतिका छन् भने केही नयाँ छन् । अघिल्लो साता परराष्ट्रमन्त्री एनपी साउदले चीन भ्रमणको एजेन्डाका सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवलाई बोलाएर छलफल गरेका थिए ।
त्यही आधारमा मन्त्रालयहरूले परराष्ट्रमा प्रस्ताव पठाउनका लागि काम गरेका हुन् । ‘मैले सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग पनि छलफल गरें, उनीहरूलाई प्रस्ताव तयार पारेर पठाउन आग्रह गरेको छु,’ परराष्ट्रमन्त्री साउदले भने, ‘प्रस्ताव आएपछि आगामी शुक्रबार प्रधानमन्त्रीज्यूसँग छलफल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीज्यूसँग छलफल गरेपछि मात्र चीन भ्रमणमा के प्रस्ताव लाने भन्ने टुंगो लाग्नेछ ।’ भदौ ३० मा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागिता जनाएर प्रधानमन्त्री दाहाल असोज ५ मा त्यहींबाट चीन उड्ने कार्यक्रम छ । दाहालले असोज ६ देखि १० ९सेप्टेम्बर २३ देखि २७० सम्म चीन भ्रमण गर्ने गरी गृहकार्य भइरहेको छ ।
असोज ६ मा चीनको हाङचाओमा एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिएर दाहाल असोज ७ मा बेइजिङ प्रस्थान गर्नेछन् । दाहालले असोज ८ मा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । त्यसपछि थप दुई दिन चीनका अन्य स्थानको भ्रमण गरेर फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालको भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चार वटा राजमार्गको निर्माण र स्तरोन्नति तथा एउटा सुरुङको विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० बनाउने प्रस्ताव गर्न लागेको छ । त्यसका लागि सडक र सुरुङको नाम अन्तिम टुंगो लागिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सडक पूर्वाधारतर्फ कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारीदेखि चीनको सीमानाका किमाथांकासम्मको १६२ किलोमिटर सडक निर्माणको प्रस्ताव गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव अर्जुनजंग थापाले जानकारी दिए । नेपाल र चीनबीचको बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको चिनियाँ टोलीले सम्भाव्यता अध्ययन गरिरहेकाले यस पटक एजेन्डा बनेको छैन । कान्तिपुरबाट…
