भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमालेको चियापानमा दलहरूबीच सौहार्दताको सन्देश


  • कार्तिक १६, २०८०
  • 251 Views
एमालेको चियापानमा दलहरूबीच सौहार्दताको सन्देश image

काठमाडौं । संक्रमणकालीन न्यायको विषय टुंग्याउन पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दबाबमा थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यो विषय चाँडै टुंगिनुपर्ने दबाब दिएर फर्किए। गुटेरेस गएकै दिन बिहान प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली यसै विषयमा छलफल गर्न बालुवाटारमा जुटे पनि। नतिजा सकारात्मक रहेको बुधबार दिउँसो एमालेद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पुगेका शीर्ष नेताको हाउभाउबाट झल्कन्थ्यो। त्यहाँ पुगेर प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेस सभापति, एमाले अध्यक्ष र म छलफलमा बसेका थियौं।

एउटा अन्डरस्ट्यान्डिङ बनेको छ। यो विषय छिट्टै टुंगिन्छ।’ उनले निर्णय नखुलाए पनि समझदारी भएको संकेत देखाए। ‘हामीले पीडित केन्द्रित भएर कानुन बन्ने भनेर पटक–पटक भन्दै आएका छौं। विधेयकमा पनि त्यही छ,’ प्रधानमन्त्री दाहालले थपे, ‘मैले जहिले पनि दलहरूलाई एकै स्थानमा ल्याउन पहल गरेको छु। बुधबार बिहानको मिटिङ पनि त्यही पहल हो। त्यो सकारात्मक भएको छ। अस्ति कांग्रेसको शुभकामना र बुधबार भएको कार्यक्रमले पार्टीहरूबीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको छ।’

अध्यक्ष ओलीले पनि चियापानमा नै द्वन्द्वपीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका थिए। उनले शान्ति प्रक्रिया टुंग्याउन एमाले तयार रहेको बताए। सहमतिकै आधारमा अदालतको आदेशलाई सम्मान गर्दै संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सम्बोधन हुनुपर्ने उनको भनाइ थियो। भने, ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्छ। सहमतिका साथ टुंग्याउनुपर्छ। पीडितलाई केन्द्रमा राखेर टुंग्याउनुपर्छ। सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै टुंग्याउनुपर्छ। अन्तर्राष्ट्रिय समुदायले भनेको कुरालाई पनि ख्याल राख्नुपर्छ,’ उनले भने।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्मा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री दाहालले केही साथीहरूले शान्ति प्रक्रियाका विषयमा गलत ब्रिफिङ गरेको आरोप लगाएका थिए। यो अभिव्यक्तिमा उनले ओलीप्रति इंगित गरेको विश्लेषण गरिएको थियो। ओलीले प्रधानमन्त्री दाहालकै कारण शान्ति प्रक्रिया प्रभावित भइरहेको बताउँदै आएका थिए। तर, आफ्नै चियापानमा ओलीले प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाबारे नेताहरूबाटै आएको ‘देश विभाजित हुने अभिव्यक्ति भनेर’ भनेको कुरा आफूले नसुकेको प्रतिक्रिया दिए।

बुधबारमात्रै प्रधानमन्त्री दाहालसँग भएको छलफल राम्रो लक्षण देखिएको दाबी गरे। ‘आज मात्रै हाम्रो छलफल भएको छ। अघि पनि उहाँ यहाँ आउनुभएको थियो। हाम्रो चेहेरा देख्नुभयो होला रु हाम्रो हाउभाउ देख्नुभयो होला रु हामी मुस्कुराएको, खुसी भएको देख्नुभयो होला रु राम्रै लक्ष्ण छ नि रु,’ उनले उल्टै प्रतिप्रश्न गरे। संक्रमणकालीन न्यायसँग सम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ९टीआरसी० केही प्रावधानमा दलबीच सहमति नजुट्दा संसद्मा पेस हुन सकेको छैन।

संक्रमणकालीन न्यायको सम्बन्धमा चारवटा विषयमा राजनीतिक रूपमा सम्बोधन हुनुपर्ने एमालेको मत छ। एमालेका प्रतिनिधिसभाका सचेतक महेशकुमार बर्तौलाले संसदीय समितिमा अधिकांश विषयमा सहमति भएकाले राजनीतिक स्तरबाट केही टुंगिन नसकेका विषय समाधान गर्नुपर्ने बताउँदै आएका छन्। कानुन न्याय तथा मानव अधिकार समितिले उपसमिति नै बनाएर यो विषय टुंग्याएको छ। उसले केही विषय राजनीतिक स्तरबाट टुंग्याउन भन्दै प्रतिवेदन नै तयार गरिएको छ। एमालेले दसैं, तिहार र छठ पर्वका अवसरमा बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदानमा सबै दलका शीर्ष नेताहरू सहभागी भएका छन्। उसले प्रत्येक वर्ष चियापान गर्दै आएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका शीर्ष नेताहरू एउटै टेबलमा देखिए। जसले राजनीतिक सौहार्दताको सन्देश दिएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेतृ रामकुमारी झाँक्रीलगायत सहभागी भए। चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेललगायतका नेताहरूले स्वागत गरेका थिए।

झाँक्रीको आकर्षक आगमन

नेकपा एकीकृत समाजवादी उपमहासचिव झाँकीको आगमन पनि आकर्षक थियो। एमालेमा रहँदासमेत इतर समूह रहँदै आएकी झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। उनले ओलीलाई पुष्पगुच्छा दिइन्। यस्तै उनी अष्टलक्ष्मी शाक्यसँग अंगालोमा बाँधिएकी थिइन्। झाँक्री पछिल्लो समय पार्टीभित्र सन्तुष्ट छैनन्। उनको एमालेका नेतासँगको हिमचिम पनि बढ्दै गएको छ। एकीकृत समाजवादीको पार्टी नेतृत्वदेखि रुस्ट बनेको झाँक्री एमाले प्रवेश गर्ने चर्चा पनि चल्ने गरेको छ।

एमालेमा असन्तुष्ट रहेका भीम रावल पनि चियापान आएका थिए। विप्लवसँग उनको पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समेत आएका थिए। कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरूसमेत सहभागी भए। कार्यक्रमको ठूलो संख्यामा उपस्थिति रहेको थियो। च्यासलको केन्द्रीय कार्यालय पूरै भरिभराउ थियो। चियापानमा बोल्दै एमाले अध्यक्ष ओलीले राजनीतिक विषयवस्तु नबोल्दै भन्दा भन्दै पनि संक्रमणकालीन न्यायका विषयमा बोलेका थिए। चियापानमा प्रधानमन्त्री दाहालले दलहरूबीच विश्वासको वातावरण बन्दै गएको बताए। उनले सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको बताए।

संक्रमणकालीन न्यायमा सहमति भएको हो ?

कांग्रेस सभापति, एमाले अध्यक्ष र म छलफलमा बसेका थियौं। एउटा अन्डरस्ट्यान्डिङ बनेको छ। यो विषय छिट्टै टुंगिन्छ। हामीले पीडित केन्द्रित भएर कानुन बन्ने भनेर पटक–पटक भन्दै आएका छौं। विधेयकमा पनि त्यही छ। मैले जहिले पनि दलहरूलाई एकै स्थानमा ल्याउन पहल गरेको छु। पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री

शान्ति प्रक्रिया टुंग्याउनुपर्छ। सहमतिका साथ टुंग्याउनुपर्छ। पीडितलाई केन्द्रमा राखेर टुंग्याउनुपर्छ। सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै टुंग्याउनुपर्छ। अन्तर्राष्ट्रिय समुदायले भनेको कुरालाई पनि ख्याल राख्नुपर्छ। यसैमा केन्द्रित छलफल भयो। आज हाम्रो मुहार हेरे निर्णय थाहा हुन्न र ? केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले । अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.