DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओमानको बोरामा इरानको मल नेपालमा


  • जेष्ठ २५, २०८०
  • 237 Views
ओमानको बोरामा इरानको मल नेपालमा image

वीरगन्ज । इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ । नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको साढे २७ हजार मेट्रिक टन युरिया मल नेपाली गोदामसम्म आइपुग्दा मल उत्पादन मुलुकको इरान हटाएर ओमान राखिएको पाइएको हो ।

आतंकवादी क्रियाकलाप र सम्पत्ति शुद्धीकरण निवारण तथा आमविनाशकारी हतियारमा हुने वित्तीय लगानी रोकथाम गर्ने अन्तर्राष्ट्रिय संस्थाका रूपमा ‘एफएटीएफ’ले उत्तर कोरिया, म्यानमार र इरानलाई कालोसूचीमा राखेको छ । ती मुलुकका सामग्री नेपाल ल्याउनु वैधानिक मानिँदैन । मलको कारोबार गर्ने गिरोहसँगको मिलेमतो यसपालि इरानमा बनेको मलको बोरामा ओमानको नाम लेखेर ल्याइएको हो । यसरी मल ल्याउँदा राष्ट्र बैंकले भुक्तानी नरोकोस् भनेर त्यसो गरिएको खुलेको छ ।

नेपालका लागि आईपीएलले खरिद गरेको सो युरिया मल इरानबाट २३ र २७ वैशाखमा २७ हजार ४ सय ५८ टन बोकेको फर्चुन जहाज त्यहाँको अब्बासस्थित बन्दरगाहबाट छुटेको कागज सुरक्षित छ । मलमा भएको अवैध आर्थिक चलखेल’दयगत सरकारले भने केही नसुनेको सांसद ज्वालाकुमारी साह बताउँछिन् । आयातकर्ता र नेपाल सरकारको समेत मिलेमतोमा आईपीएलले नेपालका लागि प्रतिबन्धित मुलुक इरानबाट सस्तोमा मल खरिद गरेको पहिले नै सार्वजनिक भइसकेको हो ।

साल्ट ट्रेडिङले खरिद गरेको सो मल अहिले इरानबाट कोलकाता हुँदै बन्द अवस्थामा रहेको वीरगन्जस्थित नेसनल टे«डिङको गोदाममा भण्डारण गरिएको छ । त्यहाँ मलको फोटो खिच्न दिइँदैन । बोरा गणना गर्न बसेका नेपाली भाषा नबुझ्ने कर्मचारीले गोदाममा पुगेका सञ्चारकर्मीलाई क्यामेरा खोल्न पनि दिँदैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि मन्त्रालयको समेत कार्यभार सम्हालेका बेला साढे ७ अर्ब रकम साल्ट ट्रेडिङलाई उपलब्ध गराएको कुरा सांसद साहले सदनमै उठाएकी थिइन् । नीतिगत आधारमा ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषि मन्त्रालयले उपलब्ध गराउनुपर्ने रकम र जीटुजी प्रक्रियाबाट मल खरिद गरिनुपर्ने कुराको समेत उल्लंघन भएको भेटिएको छ ।

मल खरिदका लागि एक महिना लामो आफ्नो प्रक्रिया छोट्याई साल्ट ट्रेडिङले समेत हतारमा ११ दिनको अवधि कायम गरेको तथ्य भेटिएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले सरकारले दिएको जिम्मेवारी आफूहरूले पूरा गर्न केही समय परिवर्तन गरिएको बताए । प्रतिबन्धित मुलुक इरानबाट मल खरिदको विषयमा भने उनले आफूहरूलाई थाहा नभएको र यस विषयमा आईपीएललाई मात्र जानकारी हुने तर्क गरे । ‘मल ल्याउन टेन्डर पारेको आईपीएलले कहाँबाट मल ल्याउँदै छ भन्ने ठूलो कुरा भएन,’ प्रवक्ता राजभण्डारीले भने, ‘समयमा मल आयो यही उपलब्धि हो ।’

मल ढुवानीकर्ता आईपीएल पहिले कृषि सामग्री कम्पनीको कालोसूचीमा परेको कम्पनी हो । नेपाल सरकारले मल खरिद गर्दा डलरमा कमिसन खानकै लागि आफ्नो आधिकारिक निकाय कृषि सामग्री कम्पनीलाई पाखा लगाउँदै साल्ट ट्रेडिङलाई नै ७ अर्ब रकम फास्ट ट्र्याकको नाममा उपलब्ध गराएको रहस्योद्घाटन गएको कुरा १ जेठको संसद् बैठकमा उठेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) की सांसद रञ्जुकुमारी झाले पनि गत ५ जेठमा रासायनिक मल खरिद प्रक्रियामाथि अवैध आर्थिक चलखेल भएको भनी त्यसको छानबिन हुनुपर्ने माग सदनमा गरेकी थिइन् । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.