भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कतारमा काम गुमेका नेपालीलाई रोजगारीकाे मौका


  • आश्विन ६, २०७७
  • 705 Views
कतारमा काम गुमेका नेपालीलाई रोजगारीकाे मौका image

अब रोजगारी गुमेकै कारण घर फर्कनु पर्दैन, सीप र दक्षताका आधारमा कतार सरकारले रोजगारी उपलब्ध गराउँछ: नारदनाथ भारद्वाज, राजदूतकाठमाडौँ — कतारमा कोभिड -१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु पर्दैन,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘जसको कम्पनी बन्द भएको छ वा रोजगारी गुमेको छ, उसलाई कतार सरकारले नै सीप र दक्षताका आधारमा रोजगारी उपलब्ध गराउनेछ ।’ करार अवधि समाप्त भएपछि नेपालीहरू नेपाल फर्किन पाएका छैनन् । आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा स्वदेश फिर्तीमा समस्या भएको छ ।

उनीहरूमध्ये घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा नाम दर्ता गरिसकेका छन् । त्यसको झन्डै ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको राजदूत भारद्वाजले बताए । ‘उहाँहरूलाई नेपाल फर्कन मन छैन र अर्को कम्पनीमा रोजगारी गर्ने इच्छा छ भने यहीं काम गर्न पाउने वातावरण बनेको छ । हामीले पनि यो अवस्थामा स्वदेश फर्कनुभन्दा यहीं काम गर्न प्रोत्साहन गरिरहेका छौं,’ उनले भने, ‘दूतावासले त्यसका लागि आवश्यक कागजात बनाइदिन सहयोग गर्नेछ ।’

असोज ३ गतेसम्म ९ हजार एक सय ७१ जना स्वदेश आइसकेका छन् । सबैभन्दा बढी सेवा क्षेत्र, ढुवानी तथा मझौला कम्पनीमा कार्यरत नेपालीको रोजगारी गुमेको छ । खाद्य तथा आवास समस्या भएका, तलब भुक्तानी नपाएका वा प्राप्त गर्नेहरूको पनि कटौती हुने श्रमिकको संख्या कतारमा उल्लेख छ । खान नपाएका ७ हजार नेपालीलाई कतार च्यारिटीले नेपाली दूतावास र एनआरएनएमार्फत खाना उपलब्ध गराएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुम्नेहरूका लागि रोजगारी दिलाउन एउटा संयन्त्र बनाएको छ । संयन्त्रमा श्रमिक खोज्ने रोजगारदाता कम्पनी र रोजगारी खोज्ने श्रमिकले सम्पर्क गर्नेछन् । ‘अहिले नेपालबाट नयाँ श्रमिक ल्याउने माग भएको छैन । ल्याइहाल्ने अवस्था पनि बनेको छैन,’ राजदूत भारद्वाजले भने, ‘यहीं भएका श्रमिकलाई नै समायोजन गर्ने नीति ल्याइएको हो । यसले लाखौं ऋणको भारी बोकेर स्वदेश फिर्न बाध्य श्रमिक वर्गलाई पनि सम्बोधन गरेको छ ।’

श्रम मन्त्रालयले श्रमिकसँग सहजीकरण गर्न गैरआवासीय नेपाली संघ कतारलाई पनि अनुरोध गरेको छ । ‘श्रम मन्त्रालयको यो नीति नेपाली श्रमिकका लागि निकै महत्त्वपूर्ण छ । जसको भिसाको म्याद समाप्त भइसकेको छ वा जरिवाना तिर्नुपर्नेछ, उनीहरूका लागि पनि नयाँ रोजगारीको प्रबन्ध मिलाइएको जानकारी हामीलाई दिइएको छ,’ एनआरएन कतारका अध्यक्ष मुक्तदा आलम मुसलमानले भने, ‘श्रमिकले जरिवाना पनि तिर्नु पर्दैन । बेरोजगार भएका नेपालीले मन्त्रालयले तोकेको फाराम भरेर पठाइदिए मात्रै पनि पुग्छ ।’ कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.