भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्णालीमा पनि कफी खेती उपयुक्त


  • माघ १, २०७७
  • 980 Views
कर्णालीमा पनि कफी खेती उपयुक्त image

वीरेन्द्रनगर । ६ वर्षअघि लेकबेंसी नगरपालिका–९ स्थित जनअपेक्षा कृषि सहकारीले २ लाख ८० हजार रुपैयाँ लगानीमा तीन रोपनी जग्गामा करिब १ हजार ६ सय कफीका बिरुवा रोप्यो । तर कफी उत्पादन कसरी गर्ने भन्नेबारे प्राविधिक ज्ञान नहुँदा उक्त बिरुवासँगै लगानी पनि खेर गयो । कर्णालीका प्रायः किसानलाई कफी खेतीबारे ज्ञान नहुँदा उत्पादनमा खासै चासो दिएको पाइँदैन । तर कर्णाली प्रदेश कफी खेतीका लागि उपयुक्त रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । किसानले व्यावसायिक कफी खेतीका लागि विशेष प्याकेज ल्याउनुपर्ने किसानको जोड छ । बोर्डले मंगलबार आयोजना गरेको चिया तथा कफीको एकीकृत विकाससम्बन्धी गोष्ठीमा सहभागी किसानले अन्य खेतीमा जस्तै कर्णालीका किसानलाई कफीतर्फ आकर्षित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनुपर्ने औंल्याए ।

बोर्डले पनि कर्णालीमा तीनै तहको सरकारको समन्वयमा व्यावसायिक कफी खेतीको पहल थालेको जनाएको छ । सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा कफी खेतीका लागि उपयुक्त जमिन रहेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा सुर्खेत, जाजरकोट र सल्यानमा डेढ लाख कफीका बेर्ना उत्पादन गरी विस्तृत परीक्षण गर्ने बोर्डको तयारी छ । बोर्डले आगामी वर्षसम्म कर्णालीमै कार्यालय स्थापना गरी चक्लाबन्दीको अवधारणाअनुसार व्यावसायिक कफी खेतीमा आकर्षित गर्ने योजना अघि सारेको हो । समुद्री सतहदेखि करिब ८ सयदेखि १६ सय मिटरसम्मको उचाइमा अरबिका जातको कफी उत्पादन हुने निर्देशक भट्टराईले बताए । ‘कफी खेती गर्न अन्य बालीजस्तो धेरै दुःख पनि गर्नुपर्दैन,’ उनले भने, ‘तीन महिनाभित्र बेर्ना तयार हुन्छ र तीन वर्षपछि फल्न सुरु गरिहाल्छ । बजार भाउ पनि बर्सेनि बढिरहेको छ ।’

कर्णालीमा व्यावसायिक रूपमा कफी उत्पादन नभए पनि सुर्खेतलगायत केही जिल्लाका किसानले व्यक्तिगत प्रयोजनका लागि कफी खेती गरिरहेको कृषि विकास निर्देशनालयले जनाएको छ । प्राविधिक ज्ञान नपाउँदा किसान भने समस्यामा छन् । ‘कफीका बिरुवामा लेपन गर्न नजान्दा सबै बिरुवा खेर गए,’ ६ वर्षअघि कर्णालीमा कफी खेतीको अभ्यास गरेको जनअपेक्षा सहकारीका कार्यालय प्रमुख छविलाल आचार्यले भने, ‘प्राविधिक ज्ञान र किसानको आकर्षण नहुँदा पूरै लगानी खेर गयो ।’ कफी उत्पादनपछि प्रशोधनको व्यवस्था पनि बोर्डले नै गर्ने भट्टराईको भनाइ छ । उनका अनुसार यही चौमासिकमा कर्णालीका अगुवा किसानलाई भेला गरी कफी खेतीबारे तालिम दिने बोर्डको योजना छ ।

कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.