भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

किसानलाई मल पाउनै सकस


  • असार ३०, २०८०
  • 319 Views
किसानलाई मल पाउनै सकस image

गोरखा । जिल्लाभरका खेतमा रोपाइँ गर्ने यसबेला, किसानले मल नपाउँदा चिन्तामा परेका छन्। उनीहरू मल पाउँदा जति पनि मूल्य तिर्न तयार भए पनि पाउनै मुस्किल परेको सुनाउँछन्। सिरानचोक गाउँपालिका– ४ चोरकाटेकी इन्दिरा पोखरेलले यो रोपाइँमा ५० केजी मलको माग गरेकी थिइन्, तर पाइनन्। उनको भागमा पाँच केजीमात्रै पर्‍यो। उनी आबद्ध जन्मभूमि बहुउद्देश्यीय सहकारी संस्थाका करिब १४ सय किसान सदस्यले सय–सय किलो मल मागेका छन्। तर अहिलेसम्म पालिकाले पाँच–पाँच किलो मात्र उपलब्ध गराएको छ।

‘मल तेब्बर बढी मूल्य तिरेर पसलमै किनेर चलाउनु परेको छ’, सहकारीकी व्यवस्थापकसमेत रहेकी पोखरेल भन्छिन्, ‘सहकारीले १८ सय बोरा मल माग गरेको छ। तर अहिलेसम्म जम्मा ६६ बोरा मात्र पाइएको छ।’ अनुदानको मल पाउन नसक्दा किसानले प्रतिकिलो २५ रुपैयाँमा पाइने युरिया मललाई ७५ रुपैयाँसम्म तिर्नु परेको उनले सुनाइन्। ‘व्यापारीले सीधै नारायणगढबाट ल्याएर प्रतिकिलो ७५ रुपैयाँमा बेच्छन्’, उनी भन्छिन्, ‘किसानलाई चोट्टे परेको छ, सरकार दिन सक्दैन। अनि जति पनि तिरेर किसान किन्न बाध्य छन्।’

अनुदानको मल कृषि सामग्री संस्थानले प्रतिबोरा ७ सय ५० र साल्ट ट्रेडिङले प्रतिबोरा ८ सयमा उपलब्ध गराउँछ। व्यापारीले नारायणगढको पसलबाट प्रतिबोरा १८ सयमा ल्याएर २४ सयमा बेच्ने गरेको उनले सुनाइन्। पालुङटार नगरपालिका– ९ बिर्दीको खहरे कृषि सहकारी संस्थाले युरिया मल पाएको छैन। संस्थाले पाएको २३ बोरा डीएपी मल प्रहरी राखेर ८५ किसानलाई वितरण गरेको अध्यक्ष उमेश ढकालले बताए। प्रतिबोरा २५ सय २० रुपैयाँमा ल्याएर प्रतिकिलो ५८ रुपैयाँका दरले वितरण गर्‍यौं’, उनले भने, ‘युरिया मल भने अझै आएको छैन।’ खाँचो परेका बेला बर्सेनि मलको हाहाकार हुन्छ।’

पालुङटार नगरपालिकामा अहिलेसम्म आधाजसो मात्रै रोपाइँ भएको छ। पर्याप्त पानी नपरेको र बाँध कुलोका प्रशस्त पानी नभएकोले पनि रोपाइँ हुन नसकेको हो। यसअघि मलको वितरण गर्दै आएको उपभोक्ता सहकारी संघले पनि हात झिकेको अध्यक्ष ऋषिराज धौरालीले बताए। ‘किसान पैसा जति परे पनि तिर्छौं, बोरा–बोरा मल चाहिन्छ भन्छन्, तर सरकारले दिने मल हात्तीको मुखमा जिराजस्तो मात्रै हुन्छ’, उनले भने, ‘हामीले जति कराए पनि काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ जस्तो मात्र भएको छ। किसानको मलको माग पनि पूरा गर्न सकिएन।’ कुनैबेला सहकारीले प्रतिबोरा ११ सय रुपैयाँमा उपलब्ध गराएको मल अहिले २४ सयमा कालोबजारी भइरहेको उनले बताए।

अहिलेसम्म गोरखा नगरपालिकाले युरिया ९३।१५ टन र डीएपी ५४ टन पाएको छ। पालुङटार नगरपालिकाले १०१।०५ टन युरिया र ४८।५ टन डीएपी पाएको छ। त्यस्तै गण्डकी गाउँपालिकाले ८१।३५ टन युरिया र ५४ टन डीएपी प्राप्त गरेको छ। सहिद लखन गाउँपालिकामा ५५।९५ टन युरिया, २७।७ टन डीएपी, भीमसेन थापा गाउँपालिकामा ४१ टन युरिया र ३५।२५ टन डीएपी, आरुघाट गाउँपालिकामा ३५।१५ टन युरिया र २१ टन डीएपी प्राप्त भएको छ। त्यस्तै सिरानचोक गाउँपालिकामा ४६।७५ युरिया र २३ टन डीएपी, बारपाक सुलिकोट गाउँपालिकामा २४।२ टन युरिया र ११।६५ डीएपी मल प्राप्त भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। अन्नपुर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.