काठमाडौँ । कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।
तेस्रो चरण सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको हो । नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीबारे गृहकार्य सुरु गरेको छ । खासगरी खोपको कोल्ड चेनलाई लिएर तयारी सुरु भएको हो । ‘प्रदेशहरूलाई पनि सबै तयारी गर्न भनिएको छ ।
विशेष रूपमा खोपको ढुवानी र भण्डारणबारे काम गर्नुपर्नेछ किनभने यो धेरै न्यून तापक्रममा भण्डारण गर्नुपर्छ । खोप धेरै ताप संवेदनशील रहेको कुरा आइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘भ्याक्सिन कहिलेबाट बजारमा आउँछ र प्रयोग सुरु हुन्छ भन्ने निश्चित नभए पनि केही समयमा आउँछ । कोभाक्समा हामीले एप्लाइ गरेका छौं, त्यहाँबाट हामीले पनि खोप पाउँछौं ।’ कोभाक्स एउटा यस्तो प्रणाली हो, जसको माध्यमले गरिब र धनी सबै मुलुकमा प्रभावकारी रूपमा खोप पाउने सुनिश्चित गरिन्छ ।
विकसित र अन्य दाताले आर्थिक स्रोत दिने र गरिब मुलुकले पनि रकम योगदान गर्ने गरी कोभाक्सको धारणा ल्याइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार मुलुकमा सबैलाई कोभिडको खोप लगाउँदा करिब ६० अर्ब लाग्ने देखिएको छ । सरकारले हालसम्मको विश्लेषणअनुसार करिब ७० प्रतिशत नेपालीलाई खोप आवश्यक हुने आकलन गरेको छ । कान्तिपुरबाट…
