अमेरिका । अमेरिकाले नेपाललाई टेम्पोररी प्रोटेक्टेड स्टाटस ९टीपीएस० सूचीबाट हटाएको छ। सन् २०१५ को अप्रिल २५ मा गएको भूकम्पलाई कारण बनाई अमेरिकाले नेपाललाई टीपीएस सुविधा दिने देशको सूचीमा राखेको थियो। कुनै पनि देशलाई यो सूचीमा समावेश गरेसँगै अमेरिकाले वैधानिक रूपमा नभएकाहरूलाई अस्थायी रूपमा वैधानिक ढंगबाट अमेरिका बस्न र काम गर्न अनुमति प्रदान गर्दछ।
अमेरिकाले प्रदान गरेको टीपीएस अर्थात् अस्थायी संरक्षित स्थितिमा रहेर करिब १४ हजार ७ सय ९१ नेपालीले यो सुविधा लिएका थिए। अमेरिकाको आप्रवासन प्रणाली अन्तर्गत विशेष परिस्थितिमा दिइने सुविधा हो टीपीएस। यो सुविधा पाएका निश्चित देशका नागरिकहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रा गर्न समेत अनुमति प्राप्त हुन्छ।
यो सुविधालाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी ९डीएचएस० अन्तर्गत रहेको अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले व्यवस्थापन गर्छ। यसको वेबसाइटमा उल्लेख भएअनुसार यो सुविधा त्यस्ता देशका नागरिकहरूलाई दिइन्छ, जहाँ आन्तरिक वा बाह्य युद्ध, प्राकृतिक विपद् वा अन्य किसिमका गम्भीर मानवीय संकट आइपरेको छ। र, त्यहाँ उनीहरूको सामान्य जीवन सम्भव छैन। त्यहाँ उनीहरूलाई सुरक्षाको जोखिम छ।
यो सुविधा पाएका व्यक्तिहरूलाई अमेरिकी भूमिबाट निष्कासन गरिँदैन भने उनीहरूलाई वैध रूपमा काम गर्ने अनुमति पनि दिइन्छ। यद्यपि, यो स्थायी बसोवासको सुविधा भने होइन। यसबारे लेखिएको सूचनामा नै निश्चित अवधि समाप्त भएपछि सम्बन्धित व्यक्ति अमेरिकामा बस्न योग्य नभए फर्किनुपर्ने भनिएको छ।जुन २४, २०१५ अगावै अमेरिका आएकाहरू जो वैधानिक कागजविहीन छन् ती नेपालीलाई टीपीएसबाट लाभ लिने अवस्था निर्माण भएको थियो।
टीपीएसमा रहेकाहरूले ट्राभल डकुमेन्टमार्फत नेपाल समेत जान आउन पाएका थिए। राष्ट्रपति डोनाल्ड जे ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरिरहँदा अन्य टीपीएस प्राप्त देशहरुलाई यो सूचीबाट हटाइरहँदा नेपाल पनि त्यो सम्भावना रहेको अनुमान गरिएको थियो। सोही अनुमान अनुरूप नै अहिले नेपाललाई त्यो सुविधा दिन आवश्यक नभएको निष्कर्षसहित ट्रम्प प्रशासनले टीपीएस खारेज गरिदिएको हो।
टीपीएस नवीकरण गर्ने वा खारेज गर्ने अधिकार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरीलाई रहेकोमा सेक्रेटरी क्रिस्टी नोईमले नवीकरण गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेकी हुन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार मार्च २४, २०२५ सम्म ७ हजार ८ सय ७५ जना नेपाली टीपीएसमा रहेका थिए।
सुरुमा १४ हजारभन्दा बढी टीपीएसमा रहे पनि यस बीचमा धेरै नेपालीले टीपीएस सुविधाको प्रयोग गर्दै अमेरिकामा स्थायी रूपमा बस्नका लागि अन्य प्रक्रिया अवलम्बन गरेका थिए। पछिल्लो समय टीपीएसमा रहेका मध्ये पनि धेरैले अन्य कानुनी प्रक्रिया अवलम्बन गर्दै स्थायी बसोबासका निम्ति आधार बनाएको हुन सक्ने भएकाले ट्याक्कै कति नेपाली यसबाट मारमा पर्दै अमेरिका छाड्नुपर्ने हो त्यसको यकिन विवरण छैन।
कतिपय असाईलममा समेत रहेकाले उनीहरुबारे अन्तिम निर्णय नुहुँदासम्म अमेरिका छाड्नुपर्ने छैन। अमेरिकाले दिँदै आएको टीपीएस जुन २४, २०२५ मा सकिँदै थियो, यस बीचमा विगतमा जस्तै टीपीएस स्वतः नवीकरण हुने झिनो आशा टीपीएसमा रहेका नेपालीले राखेका थिए। तर टीपीएसबारे टीपीएसको अवधि सकिन ६० दिनअघि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निर्णय लिनुपर्नेमा नलिदा कतै स्वतः नवीकरण हुने हो कि भन्ने आशा रहेको थियो।
तर बुधबार सेक्रेटरी नोईमको भनाई र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सूचना जारी गर्दै टीपीएस खारेज गरिएको जानकारी गराएको छ। नेपालको अवस्थाको समीक्षा र सरकारका निकायहरूसग परामर्श गरेपछि टीपीएस खारेज गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ। होमल्याण्ड सेक्युरिटीले अगस्त ५,२०२५ भित्र टीपीएस वाहक जोसँग टीपीएस सुविधा मात्र छ उनीहरूलाई अमेरिका छाड्न निर्देश पनि गरेको छ।
‘यदी तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनु भएको छ र यहा बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’, सूचनामा भनिएको छ, ‘अमेरिका छाड्ने मनसाय भएमा तपाईं सीबीपी मोबाइल एप पनि प्रयोग गर्न सक्नुपर्छ।’हाल नेपालको लागि टीपीएसवाहकका साथ अमेरिकामा रहनको लागि अन्य कुनै कानुनी आधार नभएको खण्डमा नेपाल फर्कन तयारी गर्नुपर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ। अमेरिका छोड्ने विचारमा भएकाले सीबीपी वन मोबाइल एप्लिकेशन प्रयोग गर्न सक्ने समेत सेक्युरिटीले बताएको छ।
अर्को स्टाटसमा पनि नगईसकेका, स्टाटस परिवर्तन गर्ने प्रक्रियामा पनि नगएका, टीपीएससँगै अर्को ढंगबाट स्थायी रुपमा बस्ने प्रक्रियामा पनि नरहेका र यसअघि नै अमेरिका छाड्न अदालतले अन्तिम फैसला गरिसकेकाहरु यसवाट प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्। उनीहरुका सन्दर्भमा अमेरिका बस्नका लागि ठोस आधार नभएपनि ती मध्ये पनि अमेरिका आएको एकवर्ष नभई टीपीएस लिएकाहरुलाई एसाइलम आवेदन दिन सक्ने अवस्था रहेकाले अमेरिका रहनका लागि झिनो आशा पनि रहेको अध्यागमन कानुनले जनाएको छ।
अमेरिका आएको एक वर्ष नहुँदै टीपीएस लिएकाहरुले अगस्त ५ भन्दा अगाडि एसाइलम आवेदन दिन चाहेको खण्डमा दिन सक्नेछन्। अमेरिकाको विदेश मन्त्रालयसँगको समीक्षा र परामर्शका आधारमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालले आफ्ना नागरिकहरूको फिर्तीलाई पर्याप्त रूपमा सम्हाल्न सक्षम हुनेगरी भूकम्पको विनाशबाट पर्याप्त पुनर्निर्माण भएको निष्कर्ष निकालेको सूचनामा जनाइएको छ।
सन् २०१५ को जुन २४ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका तत्कालीन सेक्रेटरी जेह जोन्सनले अप्रिल २५, २०१५ मा नेपालमा गएको भूकम्पको परिणाम स्वरूप अमेरिकामा रहेका नेपालीहरूलाई टीपीएस प्रदान गरेका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट…
