काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि नेपाल सरकारले सक्रियता देखाएको छ । चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज चक्रपथ सडक खण्डमा नेपाल पक्षले ‘साइट क्लियर’को काम सम्पन्न गरेपछि चिनियाँ पक्षले विस्तारका लागि जिम्मा लिने सम्झौतामा उल्लेख छ ।
नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा विस्तार गर्न लागिएको सडकखण्डको आज ९बिहीबार० स्थलगत निरीक्षण गर्न लागिएको छ । निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकता’दयगत जानकारी लिन स्थलगत निरीक्षण गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठसँगै चिनियाँ राजदूत ‘छन् सङ’, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत नेपालका लागि सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।
नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत आफूले गर्नुपर्ने साइट क्लियरको कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकेको छैन । साइट क्लियरको काम सम्पन्न नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईपटक बोलाएर विस्तारको कार्य अघि बढाउन अनुरोध गरेको थियो । चिनियाँ पक्षले भने शतप्रतिशत साइट क्लियर नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएको छ ।
नेपाल सरकारले साइट क्लियरको काम सम्पन्न भएको जनाएपछि चिनियाँ पक्ष एक महिनाअघि ‘फिल्ड भिजिट’मा आएको थियो । निर्माणस्थलमा मन्दिर देखेपछि चिनियाँ पक्ष फर्किएर गएको छ । करिब एक वर्षअघि पनि नेपाल पक्षले चिनियाँ पक्षलाई विस्तारको काम हस्तान्तरणका लागि बोलाएको थियो । स्वयम्भूमा रहेका दुईवटा बिजुलीका पोल नहटाएको भन्दै त्यस समयमा चिनियाँ पक्ष फिर्ता भएको थियो ।
एक वर्षको बीचमा नेपाल पक्षले बिजुलीका पोल भूमिगत गर्ने कार्य भने सम्पन्न गरेको छ । तर, आयोजनाअन्तर्गत विभिन्न ठाउँमा मठमन्दिर रहेका छन् भने स्वयम्भूको पुरातात्विक सम्पदा क्षेत्रभित्र पर्ने भाग र महाराजगन्जस्थित जग्गाको मुआब्जा विषय अझै टुंगिन सकेको छैन ।
आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिँदै आएको छ । यसअघि, गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने चक्रपथ स्थलगत निरीक्षण गरेको थियो । त्यसबेला टोलीले स्वयम्भूका दुई विद्युत्का टावर नहटाएको विषयलाई गम्भीर रूपमा लिएको थियो ।
स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६ केभीका बिजुलीका टावर नेपाल विद्युत् प्राधिकरणले अहिले भने हटाइसकेको छ । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्डमा नेपालले पहिला ‘साइट क्लियर’ अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले ‘सर्भिस ट्र्याक’ बनाउनुपर्ने हुन्छ ।
चिनियाँ पक्षले शतप्रतिशत ‘साइट क्लियर’ नभएको कारण देखाउँदै विस्तार कार्य सुरु गर्न आनाकानी गर्दै आएको छ । यसअघिको सरकारको पालामा परराष्ट्रमन्त्री डा। नारायण खड्काको औपचारिक चीन भ्रमणका क्रममा पनि चक्रपथ विस्तार विषय उठान भएको थियो ।
चीनको स्टेट काउन्सिलर र पराराष्ट्रबीचको भेटमा निर्माण कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै चिनियाँ सरकारले गर्ने भनिएका आयोजनाको काममा तीव्रता देखिएको छ । राजधानी दैनिकबाट…
