DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

छठका लागि सङ्लिँदै सिर्सिया


  • कार्तिक ३०, २०८०
  • 254 Views
छठका लागि सङ्लिँदै सिर्सिया image

पर्सा । छठ पर्व नजिकिएसँगै सिर्सिया खोलाको पानी सङ्लिँदै गएको छ । खोलाको पानीमा अहिले कालो लेदो देखिँदैन । गत शनिबारदेखि खोलाको पानी सफा हुँदै गएको वीरगन्ज राधेमाई निवासी सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् । झन्डै २ दशकदेखि सिर्सिया खोलाको किनारको राधेमाई टोलका बासिन्दा रहेका थारुको यो खोलाको पानी छठ पर्वपछि पनि यसरी नै सङ्लो र प्रदूषणमुक्त रहोस् भन्ने चाहना छ ।

‘मलाई मेरो जीवनकालमै यो खोलाको पानी सधैँभरकिा लागि यसरीनै कञ्चन र सङ्लो देख्ने चाहना छ,’ उनले भने, ‘खोलाको पानीको शुद्धता मात्र नभई अस्तित्व नै समाप्त पार्ने गरी खोलालाई प्रदूषित बनाउने काम अब सधैँभरका लागि बन्द गरिनु पर्छ ।’ बर्सेनि छठ पर्वमा आ–आफ्ना उद्योगबाट निस्कने प्रदूषित रसायन र अवशेषहरू फाल्ने उद्योगहरूले खोलामा फोहोर फाल्ने काम अल्पकालीन रूपमा बन्द गर्छन् । तर धेरै पर्सा–बाराबासीको चाहना अब सिर्सिया खोला सधैंका लागि प्रदूषणमुक्त होस् भन्ने रहेको अभियन्ता थारु बताउँछन् ।

पर्सा र बाराका करिब २ दर्जन गाउँबस्तीका बासिन्दाले यो खोलाको घाटमा छठ पर्वको विधि श्रद्ध पूर्वक गर्ने गर्छन् । कतिपय गाउँमा छठ पर्वका लागि खोलामा स्थायी घाट नै निर्माण गरिएको छ ।‘सिर्सिया नदी एवं वीरगन्ज प्रदूषणमुक्त अभियान’का सचिव वृजेश्वरप्रसाद चौधरी पनि सिर्सिया खोलाको प्रदूषण अब सदाका लागि अन्त्य हुनुपर्ने बताउँछन् । ‘खोलाको पानी सफा देखिन करिडोरका उद्योगले अब सदाका लागि खोलामा आ–आफ्ना उद्योगबाट निस्कने अवशेष फाल्न बन्द गर्नु पर्छ,’ उनले भने, ‘अब पर्सा र बाराबासीको धैर्यको बाँध फुट्नै लागेको छ, सरोकारवालालाई यसको समयमै हेक्का हुन जरुरी छ ।’

अभियानले गत वर्ष खोलालाई प्रदूषण मुक्तबनाउन संघर्षका चरणबद्ध कार्यक्रम सञ्चालनसमेत गरेको थियो । पर्सा–बारा औद्योगिक करिडोरमा उद्यागेहरू बढेसँगै चार दशकयता अत्यधिक प्रदूषित बनेको सिर्सिया खोलामा सामान्य अवस्थामा कालो पानी बग्छ । खोलाको पानी मानवीय तथा चौपायाको उपयोगमा आउने लायक पनि छैन । खोलाको पानीबाट सिंचाइ पनि गर्न सकिँदैन ।
खोलामा धार्मिक परम्पराअनुसार पूजाआजा गर्न र सर्वसाधारणको मृत्युमा दाहसंस्कार गर्न समेत अप्ठेरो भएको छ । बाराको सिमरास्थित रामवनबाट निस्केको खोला करिब ३ किलोमिटर बगेपछि फोहोर मिसाउन थालिएको छ । वीरगन्ज पुग्दा खोलाको पानी पूर्ण रूपले कालो भइसक्छ ।

डेढ दशकअघि सिर्सिया खोलाको प्रदूषणको स्रोत पत्ता लगाउन गठित ‘सिर्सिया नदी अनुगमन समिति’ले आफ्नो प्रतिवेदन तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाउँदै सिर्सिया खोलालाई प्रदूषित बनाउने ४८ स्रोत किटान गरेको थियो । ती स्रोतमध्ये पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, बाँकी दुईमा वीरगंज महानगरपालिकाको कार्यालयले खोलामा फाल्ने गरेको फोहोर र वीरगंज नगर क्षेत्रमा सञ्चालित अवैध मदिरा भठ्ठीलाई किटान गरिएको थियो ।

प्रतिवेदनले खोला प्रदूषित बनाउने मुख्य उद्योगहरूमा छाला उद्योग,कपडा उद्योग,फलाम उद्योग,साबुन उद्योग,घ्यू उद्योग,मदिरा उद्योग आदि रहेको दाबी गरेको थियो । हालसम्म तीमध्ये केही उद्योगले मात्र आफ्नो वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर प्रयोग गरेका छन् । अधिकांशले अझै खोलामै उद्योगबाट निस्कने प्रदूषित पानी र खरानी फाल्ने गरेकाछन् । ३ वर्षअघि लकडाउनका बेला कात्तिकी छठ पर्वको समयमा सिर्सिया खोला प्रदूषणका लागि जिम्मेवार एक छाला उद्योगका व्यवस्थापक तथा प्रबन्धक गरी २ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत चलाएको थियो । हिमालयन लेदर उद्योगका व्यवस्थापक चिनियाँ नागरिक लिउता छुवाङ र म्यानेजर भारत घर भई हाल मकवानपुर बस्ने तिनजुङ गुरुङ पक्राउसमेत परेका थिए । सार्वजनिक अपराध मुद्दा चलाइएका उनीहरू त्यसपछि सामान्य धरौटी राखी मुक्त भए ।

पछिल्लो समय वीरगन्ज महानगरपालिकाले पनि प्रदूषण अन्त्य गर्न प्रदूषणका लागि जिम्मेवार उद्योगहरूको स्थलगत अनुगमन गरी उद्योग व्यवस्थापनलाई खोलामा प्रत्यक्ष रूपमा उद्योगबाट निस्कने अवशेष नफाल्न सचेत समेत गर्दै आएको छ । तर खोला प्रदूषणका लागि जिम्मेवार उद्योगले भने अझै पनि अटेर गरिरहेका छन् । पर्सा,बारा हुँदै भारतमा प्रवेश गर्ने सिर्सिया खोलाको प्रदूषणका कारण भारत रक्सौलका बासिन्दा पनि पीडित छन् । उनीहरूले पनि पटक–पटक खोलाको स्वच्छता फर्काउनका लागि चरणबद्ध रूपमा संघर्ष गर्दै आएका छन् । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.