भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जिरीमा बन्दै कृत्रिम ताल


  • चैत्र २९, २०७९
  • 255 Views
जिरीमा बन्दै कृत्रिम ताल image

दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा कृत्रिम ताल बन्ने भएको छ। सगरमाथाको द्वार तथा नेपालको स्विट्जरल्यान्ड नामले चर्चित जिरीमा मानव निर्मित ताल बन्ने भएको हो। बागमती प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरी ताल निर्माणलाई अगाडि बढाएको हो। ताल निर्माणको काम सुरुवात गर्नका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ।

पर्यटन व्यवसाय सुस्ताएको अवस्थामा रहेको जिरीलाई पुरानै लयमा फर्काउनका लागि ताल निर्माण कार्य शिघ्र सुरु होस् भन्ने चाहना रहेको जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले बताए। ताल निर्माणका लागि सहयोग गर्न नगरपालिका तयार रहेको मेयर जिरेलको भनाइ छ। तालको डीपीआर तयार गर्न नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको उनले बताए। ‘बागमती प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरी अगाडि बढाएकोमा जिरीवासीको सपना पूरा हुने विश्वास छ’, जिरेलले भने।

जिरीमा मानव निर्मित ताल निर्माण भएमा जिरीको महत्त्व बढ्ने मात्र नभई समग्र दोलखाको आर्थिक क्रियाकलापमा वृद्धि हुने जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए। स्थानीयलाई मर्का नपर्ने गरी जग्गाको मुआब्जा निर्धारण गर्नुपर्ने उनले सुझाए। यसैगरी ताल निर्माण छिटोभन्दा छिटो सुरु होस् भन्ने स्थानीयको चाहना रहेको जिरी नागरिक अगुवा केन्द्रका ज्योति खड्काले बताए।

ताल निर्माणका लागि जग्गाको लगत संकलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। यसका लागि करिब सात सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने डिभिजन सिँचाइ कार्यालय दोलखाका प्रमुख निर्मल दाहालले जानकारी दिए। जिल्ला नापी कार्यालय तथा मालपोत कार्यालयबाट आयोजनाको क्षेत्रभित्र पर्ने जग्गाको लगत लिई अध्ययनको काम भइरहेको उनको भनाइ छ। अध्ययन पूरा भएपछि आवश्यक जग्गा अधिग्रहणका लागि सिफारिस गरिने उनले बताए। डिभिजन सिँचाइ कार्यालय दोलखाका अनुसार तालको डीपीआर तयार भइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकनका लागि परामर्श दाताको छनोटको प्रस्ताव मूल्यांकन भइरहेको कार्यालयले जनाएको छ।

ताल एक किलोमिटर लामो तथा दुई सय मिटर चौडाइको हुनेछ। सो ताल निर्माणको लागि डुबान हुने क्षेत्रभित्र पर्ने १ सय ५१ कित्ता तथा वरिपरि आवश्यक पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि ३ सय ३९ कित्ता अधिग्रहण गर्नुपर्ने डिभिजन सिँचाइ कार्यालयका प्रशासन प्रमुख शारदप्रसाद दंगालले जानकारी दिए।

भारतको पर्यटकीय स्थल नैनीतालकै आकारमा तालको निर्माण हुने भएकोले यो ताल निक्कै आकर्षक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुने उनको भनाइ छ। डीपीआर अनुसार ताल निर्माणको लागत ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.