DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जेलबाटै आलमको आतंकः बम विस्फोटका साक्षीले सुरक्षा नपाउदा बयान फेर्न बाध्य


  • माघ १५, २०७७
  • 981 Views
जेलबाटै आलमको आतंकः बम विस्फोटका साक्षीले सुरक्षा नपाउदा बयान फेर्न बाध्य image

काठमाडौं । पीडितको पक्षको बहस गर्ने अधिवक्तालाई धम्की
आलमविरुद्धको मुद्दाका सरकारी साक्षीलाई अंगरक्षक दिन अदालतले आदेश दिए पनि प्रहरीले दिएको छैन । एकजना साक्षीलाई दिइएको अंगरक्षक पनि फिर्ता गरिएको छ । पीडितको पक्षमा पैरवी गर्ने अधिवक्तालाई पनि ज्यान मार्ने धम्की आएपछि प्रशासनमा उजुरी गरेका छन् ।

रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा उनको आतंक र त्रास अहिले पनि उस्तै छ । आफूविरुद्ध जाहेरी दिने र सरकारी साक्षी बस्नेहरूलाई आलमले डर, त्रास र आर्थिक प्रलोभन देखाएर प्रभावित गरिरहेका छन् ।

आलमविरुद्ध जाहेरी दिएका सर्लाही गोडैलाका ६० वर्षीय शेख सफी अहमदले पनि आफ्नो बयान फेरेका छन् । यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए ।पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगढ नै मगाएका थिए ।

फरहदवा ९अहिलेको राजपुर–२० स्थित आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउने कालिगढलाई सघाउन स्थानीय युवाहरू पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरलाई बोलाइएको थियो । तर, निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ को साँझ दुर्घटनावश बम विस्फोट भयो । बम बनाउने कालिगढको घटनास्थलमै ज्यान गयो, नजिकै रहेका पिन्टु र ओसी घाइते भए ।

उपचार गर्दा घटना सार्वजनिक हुने डरले उनीहरूलाई इन्जेक्सन दिएर बेहोस बनाइयो र ट्र्याक्टरमा हालेर इँटाभट्टामा पुर्‍याइयो । जहाँ उनीहरूलाई अन्य मृतकसँगै जिउँदै इँटाभट्टामा कोचेर खरानी बनाइयो । ‘युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूले त्यतिखेर प्रहरीलाई दिएको उजुरीमा भनिएको छ ।

सोही घटनामा बमका छर्रा लागेर सफी अहमद पनि घाइते भएका थिए । तर, उनी उपचार पाएर बाँच्न सफल भए । किनभने उनी आलमका टाढाका आफन्त पनि हुन् । त्यतिवेला उनी आलमकै लागि काम गर्थे । खुट्टा, पेट र छातीमा छर्रा लागेर गम्भीर घाइते भएका सफीलाई आलमकै सहयोगमा तत्काल भारतको पटनास्थित अस्पताल पु¥याएर उपचार गरिएको थियो ।

यता आलम भने चुनाव जितेर ०६७ मा मन्त्री नै भए । ०७४ को निर्वाचनमा फेरि निर्वाचित भएका थिए । फौजदारी अभियोग लागेपछि मात्रै उनी निलम्बित भएका थिए । आतंक र प्रलोभनका भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए । गत वर्ष मात्रै उनी पक्राउ परे । आलम पक्राउ परेपछि सफी अहमद प्रहरीको सम्पर्कमा पुगे ।

उनले आलमविरुद्ध जाहेरी दिए । जाहेरी दिनेमा भट्टामा जलाएर हत्या गरिएका त्रिलोकका बुबा श्रीनारायण सिंह पनि थिए । उनीहरूकै जाहेरीका आधारमा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, जेलभित्रैबाट पनि उनले आतंक र प्रलोभनका भरमा पीडितहरूलाई प्रभावित बनाइरहेका छन् । जिल्ला अदालत रौतहटमा गरेको बयानमा सफी अहमदले फरहदवामा विस्फोट भएका दिन आफू भारतको पन्जाबमा रहेको बताएका छन् ।

बमका छर्राले छाती र पेटमा बनाएको घाउका खाटालाई उनले तातो तेलले पोलिएर दाग बसेको बकपत्र गरेका छन् । ‘२७ चैत ०६४ ९विस्फोट हुँदा०मा म भारतको पन्जाबमा काम गर्न गएको थिएँ । त्यहाँ रहँदा मैले खेती किसानको काम गर्थेँ । मैले गाई, भैँसीलाई भुसा र घाँस खुवाउने काम पनि गर्थेँ,’ सफी अहमदले गरेको बकपत्रमा उल्लेख छ । खुट्टामा भएको खाटालाई भने उनले कोदालो चलाउँदा लागेको चोटको दाग बताएका छन् । मुख्य अभियुक्त अफताब आलम, उनका भाइ महताबलगायतलाई नचिनेको बयान उनले दिएका छन् ।

सफीको जिल्ला अदालतमा तीन दिनसम्म बयान चलेको थियो । जब कि, सोफी अहमदले यसअघि ०७६ असोजमा प्रहरीमा दिएको जाहेरीमा भने २७ चैत ०६४ को साँझ राजपुरस्थित शेख इद्रिसको गोठमा बम विस्फोट भएको र आफू त्यही विस्फोटमा परी घाइते भएको उल्लेख गरेका थिए । अदालतमा बकपत्र गर्दा भने उनले प्रहरीले जबर्जस्ती उजुरीमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।

उनले भनेका छन्, ‘घर आएको वेला मलाई प्रहरीले पक्राउ गरी चन्द्रनिगाहपुर लगेर गए । त्यहाँ थुनामा राखे, कुटपिट गरे । उनीहरूले नै झुटा कागजात बनाए । मलाई जबर्जस्ती गरेर सोही कागजातमा हस्ताक्षर गर्न लगाए । त्यसैले मैले दिएको जाहेरी सही होइन ।’ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुको कारण पनि उनले डर–धम्की नै भएको बकपत्र गरेका छन् ।

रौतहटको सरुअट्ठाका समसुल मियाँले धम्की दिएपछि ०७६ असोजमा प्रहरीमा आलमविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिन बाध्य भएको उनले बताएका छन् । समसुलले पेस्तोल देखाएर धम्क्याएको उनको आरोप छ । ‘प्रहरीसँगै थिए म समसुल हुँ भन्ने व्यक्ति । उसैले पेस्तोल देखाएर डर–धम्की दिए । जबर्जस्ती कागज गर्न लगाए । रूपेश साह भन्ने प्रहरी इन्स्पेक्टर पनि सँगै थिए । उनीसँग त्यहीँ भेट भएको हो ।

अरूसँग भने चिनजान छैन,’ बकपत्रमा उल्लेख छ । समसुल मियाँ त्यही व्यक्ति हुन्, जसले आफ्ना ज्वाइँ मोहम्मद ओसी अख्तर विस्फोट परी मारिएको भन्दै घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर, घटना भएको १३ वर्षपछि उनले पनि अदालतमा बयान फेरेका छन् ।

उनीसँगै ओसीकी पत्नी (समसुलकी छोरी) अमना खातुनले पनि ओसी अख्तरको मृत्यु नै नभएको बयान दिएका छन् ।तर, सफी अहमदले भने ‘आफूलाई समसुलले ओसीको मृत्यु बम विस्फोटमै भएको बताएको’ बयान दिएका छन् । ‘समसुल भन्ने सरुअट्ठाको मान्छे हो । निजले आफ्नो ज्वाइँ बम विस्फोटमा मारिएको मसँग भनेको थियो,’ स्रोतका अनुसार सफीले बकपत्रमा भनेका छन् ।

पक्राउ परेपछि आलमले जाहेरी दिने सफी अहमद र श्रीनारायण सिंह तथा सरकारी साक्षी बनेका समसुल मियाँ र उनकी छोरी अमना खातुनलाई प्रभावमा पार्न सुरु गरेका थिए । नारायणबाहेक तीनैजना प्रभावमा परिसकेका छन् । यो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आलमकै दबाब र प्रभावमा परेर तीनजनाले बयान फेरेका हुन् । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.