भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तोड्नुपर्छ गठबन्धनको जालो


  • कार्तिक ७, २०७९
  • 241 Views
तोड्नुपर्छ गठबन्धनको जालो image

ताप्लेजुङ । जनतालाई गलत प्रलोभन दिएर मत बटुल्ने घातक अभ्यास थालिएको छ। लोकतन्त्रमा गठबन्धन त्यस्तो घटना हो जो सामान्यतया बन्दैन। धेरै वा केही पक्षको गठबन्धनबाट मुलुकमा आइपरेको आर्थिक वा प्राकृतिक संकट टार्न सकिने भएमा गठबन्धन बन्ने हुन्छ। तर ती निश्चित सैद्धान्तिक आधारमा बन्ने गर्छन् र संकट सकिएपछि वा मुलुक सामान्य अवस्थामा फर्काउने लक्ष्य पूरा भएपछि तिनको औचित्य समाप्त हुन्छ र भत्कने गर्छन्।

सामान्य अवस्थामा राजनीतिक दलहरू आआफ्ना सिद्धान्त, विचार र कार्यक्रम लिएर सरकार बनाउने लक्ष्यसहित जनतासामु जान्छन्। तिनले आरामदायी बहुमत पाए सरकार बनाउँछन्, नपाए सबैभन्दा बढी मत पाउने दलले मूलमूल मुद्दामा सहमत हुन सक्ने अन्य दललाई साथ लिएर गठबन्धन सरकार बनाउँछ। विश्वमा त्यस्ता केही देश छन् जसमा गठबन्धनका विविध प्रयोग भएका छन्। जापान, भारत, इजरायल, आयरल्यान्ड, टर्की, स्पेन आदि देशका विशिष्ट ऐतिहासिक प्रयोगहरू देखेका छौं। तिनका विशिष्ट ऐतिहासिक सन्दर्भ छन्।

२०४७ सालपछि नेपालमा भएका परिवर्तनहरूले हामीलाई ती विशिष्ट ऐतिहासिक सन्दर्भका साथै आफ्नै देशको ऐतिहासिक परिप्रेक्ष्यमा हेर्न प्रेरित गर्छन्। पछिल्लो समय सबैलाई थाहा भएको कुरा हो, राजा महेन्द्रले आफ्नो शासन अक्षुष्ण राख्न ल्याएको निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली जनताले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूका अगाडि लागेर अनवरत संघर्ष गरे। वाममोर्चा र कांग्रेसको संयुक्त पहलमा देशले बहुदलीय प्रजातन्त्र प्राप्त गर्‍यो। यस सफलताबाट एउटै निष्कर्ष निकालिएको थियो, राजाविरुद्ध एक्लै न कांग्रेस सफल हुने थियो न त कम्युनिस्ट दलहरू।

संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरूले आआफ्नो झन्डा र कार्यक्रम लिएर जनतासामु जाँदा पनि मुस्किलैले सरकार बनाउने गरी बहुमत प्राप्त गर्न सके। बहुमत पाएका राजनीतिक दलले पनि आन्तरिक बिग्रहका कारण त्यो बहुमत जोगाउन सकेनन्। राजनीतिक स्थिरताको आश्वस्तिका निम्ति मात्र पनि अल्पमतको सरकारलाई सहन सक्ने धैर्य र सहिष्णुता उनीहरूमा देखिएन।

मनमोहन अधिकारी नेतृत्वको सरकारको नौ महिने लोकप्रिय अल्पमतको सरकारलाई उनीहरूले धराशायी मात्र बनाएनन्, कांग्रेस स्वयं विभाजित भयो। गिरिजालाई छेउ लगाएर शेरबहादुर देउवाको सत्तारोहण भयो। यस्ता अस्वस्थ राजनीतिक खेल जनताका लागि लोकतन्त्र, विकास र सुशासनका आकांक्षाविपरीत खेलिएका थिए। देउवाकै पालामा माओवादीको भ्रूण पलायो, सशस्त्र युद्धको विकास भयो र पूरै देशले अकल्पनीय दुःख पायो। कहिले एमाले राप्रपा, कहिले कांग्रेस एमाले हुँदै गयो।

देश अशान्ति र अस्थिरताको भुमरीमा जाकियो। माओवादीकै हमलाबीच कमजोर भएको राज्यलाई टेको दिन खोजेका गिरिजाले पनि सैनिक परिचालनका मुद्दामा सेनाको असहयोगका कारण प्रधानमन्त्रीको पदबाट राजीनामा दिए। फेरि देउवा सत्तासीन भए। अस्थिरता झन् बढ्यो। महेन्द्रपुत्र वीरेन्द्रको वंशनास भयो र अर्का महत्वाकांक्षी पुत्र ज्ञानेन्द्रले राजगद्दी सम्हाले। उनले देउवालाई सत्ताच्युत गरे। माओवादीले देउवालाई सांघातिक हमला गर्‍यो। तर उनी बाँचे।

२०६३ को जनआन्दोलनले राजालाई नारायणहिटी त्याग्न बाध्य बनायो। दुईदुई पटक संविधानसभाको चुनाव भयो। तर नेपालले राजनीतिक स्थिरता प्राप्त गरेन। संविधान लागू भयो। २०७४ को आमनिर्वाचनमा ओली नेतृत्वको नेकपाले बहुमत प्राप्त गरेर झन्डै दुई तिहाई बहुमतको सरकार बनायो। उसले मुख्य रूपमा तीनवटा सन्देश दियो– भारतीय नाकाबन्दीलाई दृढतापूर्वक सामना गरेर नेपाली जनताले कुनै पनि प्रकारको भारतीय हस्तक्षेपलाई स्वीकार्दैनन्।

नेपाल राजनीतिक स्थिरता र लोकतन्त्रको संस्थागत विकासको बाटोमा छ। नेपाल र नेपालीको सुख र समृद्धि नै सरकारको प्रमुख लक्ष्य हो। तसर्थ उसका छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सबैसँग समानताको तहमा मात्र हुनेछ। उसले भारतले ६० वर्षदेखि कब्जा गरेको करिब साढे तीन सय वर्गकिलोमिटर जमिन नेपालको हो भन्दै संसद्बाट सर्वसम्मति जुटाएर नयाँ नक्सा जारी गर्‍यो।

दुर्भाग्यवश, पार्टीकै अन्य तीन जनालाई यसमा भारतविरोधी गन्ध आयो। प्रधानमन्त्रीमा दम्भ बढेको र उनले एकलौटी शासन गरेको आक्षेप लाग्यो। भारतीय शासन र मिडियाले आफु तत्कालीन प्रधानमन्त्रीविरुद्ध युद्ध नै छेडे। आफू लाभको पदमा पुग्न वा आफ्नालाई लाभको पदमा पुर्‍याउन लागि परेकाहरू पनि ती तीन जनासँग जोडिए। पर्याप्त बहुमतको नेकपाको सरकार ढल्ने भएपछि तत्कालीन प्रधानमन्त्रीले यस्तो परिस्थितिमा ताजा जनादेश लिने हेतुले संसद् भंग गरे। कुनै पनि विधान, नियम र आचारसंहिताले नदिएका अनेकौं अवैधानिक तिकडम र प्रवञ्चनाबाट गठबन्धन बनेको छ। तत्कालीन प्रधानमन्त्रीले यसलाई अस्वीकार गर्दै आएका छन्।

यस्तो अडानलाई वर्तमान गठबन्धनको सरकारबाट अहिलेसम्म प्रतिगमन भन्ने गरिएको छ। र यस्तो नितान्त अस्वाभाविक, चरम अवसरवादी र गैरसैद्धान्तिक गठबन्धनको संस्कृतिलाई निरन्तरता दिन भित्री बाहिरी दुवै ताकत कटिबद्ध भएर लागेका छन्। ३० वर्षदेखि जनताको भाग्यमा लाठी मारिरहने, गोली बर्साइरहने, जनताको ढुकुटीमाथि खेलबाड गरिरहनेहरूको अनुहार राम्रोसँग चिनेर मतदान गर्नुपर्ने हुन्छ। मतदाताले मत किन्न आउनेहरूलाई तत्–तत् ठाउँमै कारबाही गर्न सक्नुपर्छ।

अहिले मंसिर ४ गते तोकिएको चुनावलाई सबै राजनीतिक दलले केन्द्रमा राखेर मैदानमा उत्रिएका छन्। जनतालाई गलत प्रलोभन दिएर मत बटुल्ने घातक अभ्यास थालिएको छ। गठबन्धनकै एक प्रमुख नेताको गौरको भाषणलाई लिएर आचार संहिताविपरीत भएको भनी निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। फेरि पनि उनै भन्छन्– संविधान जोगाउन गठबन्धन चाहिएको हो।

संविधान कहाँनिर खतरामा पर्‍यो रु बहुमत प्राप्त प्रधानमन्त्रीले विशेष परिस्थिति उत्पन्न भएको ठानी संसद् भंग गर्नेबित्तिकै संविधान खतरामा परेको हुन्छ कि हुँदैन रु संसद्मा सरकार बनाउने संवैधानिक व्यवस्था हुँदाहुँदै संसद्भन्दा बाहिरबाट सरकार बन्न सक्छ कि सक्तैन रु यी प्रश्नहरू नेपालको लोकतन्त्र र संवैधानिक इतिहासमा रहिरहेका छन्। यिनको निरूपण नभएसम्म न संविधान सुरक्षित रहन्छ, न त लोकतन्त्र नै। त्यसकारण यो गठबन्धन अप्राकृतिक मात्र होइन, व्यक्तिहरूका निजी र पारिवारिक स्वार्थले डोर्‍याएको अँध्यारो बाटोमा हिँडिरहेको एक अराजनीतिक भीड हो भन्ने आधार पर्याप्त छन्।

उदाहरणका लागि सत्तारूढ गठबन्धन राष्ट्रिय समस्याका मुद्दामा बोलिरहेको देखिन्न। ऊ केवल विगतका जनआन्दोलनहरूको महŒवपूर्ण अगुवा, यस संविधानको प्रमुख निर्माता, हिजो बहुमत प्राप्त एक राजनीतिक दल र अहिले पनि संसद्मा सबैभन्दा ठूलो दलका एक नेताको अप्राकृतिक विरोधको जगमा बनेको छ। यसमा हिजो प्रधानमन्त्री बनिसकेर वाञ्छित अवाञ्छित लाभ लिइसकेका देउवा, प्रचण्ड, खनाल, नेपाल र प्रधानमन्त्री बन्न लाखौं प्रयास गर्दा पनि असफल भएका वामदेव गौतम, अनि धेरैपटक सांसद हुँदा पनि अहिलेसम्म मन्त्री बन्न नपाएका खतिवडाहरूको नेतृत्व छ भन्ने कुरा धेरैलाई थाहा हुनुपर्छ। उनीहरू केका निमित्त यो गठबन्धन गरेका हुन् र केका निमित्त यसलाई कालान्तरसम्म बचाउने वाचा गरिरहेका हुन् भनी जनतासामु स्पष्ट भन्न सक्ने छैनन्। के ओली अहिलेको एक मात्र समस्या हो ?

गठबन्धन बनेपछि भएका सामान्य उथलपुथल नै गठबन्धनको उपयोगिता प्रष्ट गर्न पर्याप्त छन्। उपेन्द्र यादवको दलले पाँच दलले गठबन्धन त्यागिसकेको छ र अब गठबन्धन चार दलले भएको छ। चितवनमा हार सुनिश्चित देखेपछि प्रचण्ड बाबुरामको काँधमा बसेर गोरखा पुगेका छन्। मिडियामा न देउवा, न प्रचण्ड न त बाबुरामले दिएका उत्तरलाई नै गम्भीरतापूर्वक लिइन्छ। त्यतातिर जानै पर्दैन। हामी विगत तीन दशकको नेपालको राजनीति हेरौं, गठबन्धनले नेपाललाई केही थान सरकारबाहेक ठोस के दिन सकेको छ रु सांसदहरूको किनबेच, अपहरण, गैरकानुनी सुविधा वितरण, नातागोता नियुक्ति, जनतालाई चरम आर्थिक भार ः यिनै हुन् नेपाली राजनीतिका गठबन्धनका परिणामहरू १

मंसिर ४ को संघीय र प्रदेश निर्वाचनले नेपाली जनतालाई भरोसा दिनुपर्छ कि जनताले अब यस्ता गैरसैद्धान्तिक र चरम अवसरवादी गठबन्धनको सिकार हुनु पर्दैन। जनताले राजनीतिक स्थिरता, सरकारको स्थायित्व, सुशासन र विकास चाहेका छन्। उनीहरूलाई शिक्षा, खाना, बाटो, बत्ती र यातायात चाहिएको छ। उनीहरूका समस्या बुझ्ने प्रतिनिधि र तिनले बनाएको भरपर्दो सरकार चाहिएको छ। यस गठबन्धनले देखाउँछ, आगामी निर्वाचनमा पूर्ण बहुमत ल्याउन सक्ने गरी कुनै पनि दल सफल हुन सक्ने छैन।

त्यसो भए संसद् त्रिशंकु हुन जानेछ र सरकार बनाउने भत्काउने परम्परागत खेलको महोत्सव जारी रहने छ। यसो गर्दा माफिया व्यापारी, तस्कर, डाँका, हत्यारा, गुण्डाले नै आफू अनुकूलको सरकार बनाउने छन्। मन्त्री बन्न बनाउन करोडौं खर्च गर्नेहरू नै दलका र अन्ततः सरकारका नीति निर्माणमा हाबी हुने छन्। फेरि पनि उनीहरूबाट न्यायपालिकाको चीरहरण हुनेछ। व्यवस्थापिका जस्तो उनीहरूले चाह्यो त्यस्तै कानुन बनाउने जंगेथलो हुनेछ। कार्यपालिका उनीहरूले जेजसो भन्यो, त्यही गर्ने फगत कमारो हुनेछ।

हाम्रो अनुभवले भन्छ, गठबन्धन आजको आवश्यकता होइन र गठबन्धनको संस्कृतिलाई बढावा दिने कुनै बौद्धिक जनपक्षीय हुन सक्तैन। अहिले कुनै पनि दलले आफ्नो कार्यक्रमका आधारमा जनताको शक्ति प्राप्त गरी बहुमत प्राप्त गर्नुपर्छ र नेपाललाई स्थिरताको सन्देश दिनुपर्छ। आम मतदाताले छिनछिनमा दुला खन्ने र यताउता गरिरहने मुसाहरूलाई चिनेर आफ्नो मतद्वारा तिरस्कार गर्नुपर्छ।

३० वर्षदेखि जनताको भाग्यमा लाठी मारिरहने, गोली बर्साइरहने, जनताको ढुकुटीमाथि खेलबाड गरिरहनेहरूको अनुहार राम्रोसँग चिनेर मतदान गर्नुपर्ने हुन्छ। मतदाताले मत किन्न आउनेहरूलाई तत्–तत् ठाउँमै कारबाही गर्न सक्नुपर्छ। र, सबैभन्दा ठूलो कुरा, गठबन्धनको जालो तोडेर आफूले सही ठहर्‍याएको पार्टीलाई बहुमत दिएर सरकार बनाउनुपर्छ। अनि मात्र हामीले राजनीतिक स्थिरता र सरकारको स्थायित्व प्राप्त गर्न सक्ने छौं। गठबन्धनले हामीलाई त्यस अवस्थामा पुग्न दिने छैन। अन्नपूर्ण पोष्ट दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.