भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पहिरो मात्रै पुग्छ चिवाभन्ज्याङ नाकामा


  • कार्तिक ७, २०७९
  • 207 Views
पहिरो मात्रै पुग्छ चिवाभन्ज्याङ नाकामा image

काठमाडौं । तीनतिम्बुमा खेतीपाती गर्दै आएका ७२ वर्षीय तेजबहादुर बेघाको जीवनमा जोडिएको खुसीको एउटा कारण हो– आफ्नै घरआँगन हुँदै अघि बढ्ने मध्यपहाडी राजमार्ग । राजमार्ग बन्न थालेदेखि नै उनको मनमा पलाएको गाडी चढेर माथि चिवाभन्ज्याङ द्विदेशीय नाका पुग्ने र यताउताको रमिता हेर्ने आकांक्षा भने अझै पूरा भएको छैन ।

उहिले २ दिनसम्म पैदल सीमावर्ती सिक्किमको छोटीबजारसम्म गएर नुनतेल गरेका बेघा यस पटक जब कान्तिपुर संवाददातासँगै हिँडेर चिवाभन्ज्याङ पुगे, उनी निराश भए । ‘बाटो आयो, बाटो जोडियो भनेको धेरै भइसक्यो, तर पाखाभित्ताको ढुंगामाटो समातेर मात्र चिवाभन्ज्याङ आइपुगिने रहेछ,’ उनले भने । मध्यपहाडी राजमार्गको कुल दूरी १ हजार ८ सय ७९ किलोमिटरमा पाँचथर खण्ड १ सय १४ किमि पर्छ, जसमध्ये तमोर नदीदेखि दारिम्बासम्म कालोपत्र भइसकेको छ । दारिम्बादेखि चिवाभन्ज्याङसम्मको ५१ किलोमिटर कालोपत्र गर्न २ वर्षभित्र सक्ने गरी २०७६ माघमा शिवशक्ति निर्माण सेवासँग सम्झौता भएको थियो ।

ठेक्काका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ । तर हालसम्म १० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । समग्र मध्यपहाडी राजमार्गको प्रगति भने ६५।१६ प्रतिशत छ । दारिम्बा–चिवाभन्ज्याङ खण्डमा काम ढिला सुरु भए पनि सरकारले मध्यपहाडी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर निर्माण थालेको १४ वर्ष पुगिसकेको छ । पछिल्लो पटक थपिएको म्याद सकिन ९ महिना बाँकी छ । बाँकी समयमा ३४।८४ प्रतिशत निर्माण सक्ने अवस्था नरहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

चुनावी प्रचार र आश्वासनको नियमित काममा खटिएर जिल्ला पसेका नेताहरू पनि मध्यपहाडी राजमार्गको यो थालनी बिन्दुसम्म आइपुग्नै भ्याउँदैनन् । उनीहरू धेरै वर आइगए, चिवाभन्ज्याङबाट २९ किलोमिटर तलको च्याङथापु बजारसम्म पुग्छन् । यसपालि त अहिलेसम्म कोही पुग्न भ्याएका छैनन् । च्याङथापुस्थित विष्णु माविका शिक्षक त्रिलोचन अधिकारी नेताहरूले राजमार्ग निर्माणलाई जतिसक्दो छिटो पूरा गराउन ध्यान दिए आफ्नो भेगको आर्थिक र सामाजिक जीवनमा कायापलट हुन सक्ने बताउँछन् ।

‘तर यो राजमार्ग देखाउने दाँतजस्तो भयो । राष्ट्रिय गौरवको आयोजना भनिए पनि प्राथमिकतामा परेको देखिँदैन,’ उनले भने । पाँचथरबाट कांग्रेसका प्रत्याशी भीष्मराज आङदेम्बे चिवाभन्ज्याङसम्म्मको कठिनाइ तथा स्थानीयको सरोकारलाई आफू निर्वाचित भएपछि सम्बोधन गर्ने दाबी गर्छन् । ‘मैले चिवाभन्ज्याङको जिरो–प्वाइन्टसम्मै स्तरीय पक्की पिच गराउने घोषणा गरेको छु,’ उनले भने ।

शिवशक्ति निर्माण सेवाका प्रोप्राइटर सुरेन्द्र पाठक सधैंझैं कोरोनाकालदेखि झरिलो दसैंसम्मलाई दोष दिएर काममा ढिलाइ भइरहेको सुनाउँछन् । ‘कोरोना, मौसमी कठिनाइलगायत कारण निर्धारित समयमा काम नसकिएपछि एक वर्षको म्याद थप्न निवेदन दिएका छौं,’ उनले भने, ‘बाँकी रहेको काम सम्भवतः तिहारपछि सुरु हुन्छ ।’

मध्य पहाडी राजमार्ग योजना कार्यालय पाँचथरका प्रमुख अर्जुनकुमार बम भने यसरी ठेकेदार कम्पनीले कोरोना वा अन्य कारण भन्दै काममा आलटाल गर्नुको अर्थ नरहेको बताउँछन् । ‘समयमा काम नहुनुमा कोरोना कहर मात्रै कारक होइन । यहाँ निर्माण व्यवसायीले पनि ढिलासुस्ती गरेका हुन् । पछिल्लो समय हामीले व्यवसायीलाई कार्यालयमै झिकाएर छलफल गरेका छौं । तत्काल काम थाल्ने प्रतिबद्धता आएको छ,’ उनले भने ।

कालोपत्रका लागि तीन खण्डमा बोलपत्र

आह्वान गरिएकामा तीनवटै खण्डको ठेक्का शिवशक्ति निर्माण सेवाले ‘ज्वाइन्ट भेन्चर’ ९जेभी० मा पाएको हो । पहिलो खण्डमा रोशनरशिवशक्ति जेभी, दोस्रो खण्ड सन्तोषीरशिवशक्ति जेभी र तेस्रो खण्ड रोशनरशिवशक्ति जेभीले ठेक्का लिएका हुन् । दारिम्बादेखि च्याङथापुसम्म ग्राभेलस्तरको काम पूरा भएर जेनतेन गाडी गुडिरहेको छ ।

च्याङथापुभन्दा माथि सीमावर्ती बिन्दुसम्मको करिब ३० किलोमिटर सडक बेहाल छ । सडकमा बयाक–कटिङ गरे छाडिएकाले सवारीसाधन फस्ने गरेका छन् । सडकको मध्य भागमा थुप्रिएका ढुंगाले यातायातका साधन गुड्नै नसक्ने अवस्था छ । ओसाम खोलाबाट माथि ३ किलोमिटर त पैदल हिँड्न पनि मुस्किल पर्छ । सडकका धेरै ठाउँमा पहिरैपहिरो छन् ।

चिवाभन्ज्याङस्थित सशस्त्र प्रहरी बल ९एपिएफ० को बोर्डर आउट पोस्ट ९बीओपी० का लागि खाद्यान्न र अरू सामग्री पुर्‍याउन सकसपूर्ण छ । औसतमा ३२ सय मिटर उचाइको चिवा क्षेत्रमा रहेका चौंरीगोठ, भेडीगोठमा समेत दानापानी ओसार्दाको सास्ती अझै हटेको छैन । ‘हामीलाई सबैभन्दा कठिनाइ च्याङथापुदेखि चिवाभन्ज्याङसम्म परेको छ, एकैचोटि ६ महिनाको खाद्यान्न र अरू सामान ल्याएर बीओपीमा थुपार्नुपर्छ,’ चिवाभन्ज्याङ बीओपीका कमान्डर गंगाप्रसाद पाण्डेले सुनाए, ‘यस क्षेत्रमा रहेका चौंरी, भेडीगोठमा बस्नेका लागि पनि सरसामान ढुवानीमा समस्या छ ।’

चिवा नाकाबाट सीमावर्ती सिक्किमको उत्तरे बजार पुग्न २३ किलोमिटर दूरी छिचोल्नुपर्छ । त्यहाँ जान पनि भारतीय सीमा सुरक्षा बल ९एसएसबी० बाट अनुमति लिनुपर्छ ।राजमार्गको जिरो प्वाइन्ट छेवैमा ‘चिवाभन्ज्याङ होमस्टे’ चलाएर बसेका हिमाल बेघा घुम्न आउने पर्यटकका लागि खानपिनको बन्दोबस्त गर्न कहिलेकाहीँ समस्या पर्ने गरेको बताउँछन् । उनका अनुसार चिवा क्षेत्रमा सीमावारि र पारिबाटै घुमफिरमा मानिस आइपुग्छन् । ‘सिक्किमबाट सामान ल्याउन गाह्रो छ, नेपालपट्टि गाडी सुविधा छैन । भरियाको ढुवानीमै चर्को खर्च लाग्छ,’ उनले भने । स्थानीय याङवरक गाउँपालिकाले खुलाएको टेन्डरमा सूचीकृत भएर बेघाले यसै वर्षबाट होमस्टे चलाउन थालेका हुन् ।

राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । तर सरकारले आर्थिक वर्ष २०६४र६५ मा मात्र मध्यपहाडका २६ जिल्लाका २ सय १५ बस्ती जोड्ने भन्दै आयोजना सुरु गरेको थियो । पूर्वमा पाँचथरस्थित चिवाभन्ज्याङबाट पश्चिमको बैतडीस्थित झुलाघाटसम्म दुई लेन कालोपत्र सडक बनाउन काम थालिएको थियो । कुल १ हजार ८७९ किलोमिटरमध्ये ४ सय ६२ किमि सडक अन्य आयोजनाअन्तर्गत पर्ने भएकाले मध्यपहाडी राजमार्ग आयोजनाको निर्माण जिम्मा १ हजार ४ सय १७ किमि सडक मात्र पर्छ ।

मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयका सूचना अधिकारी सुरजहरि अधिकारीका अनुसार मध्यपहाडी आयोजनाबाट ७ सय ९७ र अन्य निकायबाट ४ सय ६२ किमि सडक कालोपत्र भइसकेको छ । १ सय २९ वटा पुल बनाउनुपर्नेमा ९४ वटाको काम सकिएको छ । २ सय ५ किमि सडक र १९ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको आयोजनाले जनाएको छ । कुल ८४ अर्ब ३३ करोड लागत अनुमान रहेको आयोजनाको अहिलेसम्म ५९ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

आयोजनाको सुरु लागत अनुमान ३३ अर्ब ३६ करोड रुपैयाँ थियो । आयोजना आर्थिक वर्ष ०७३र७४ मै सक्ने लक्ष्य राखिएको थियो । काम नसकिएपछि आव ०७९र८० भित्र सक्न भन्दै म्याद थप गरिएको थियो । विभाग स्रोतका अनुसार अब फेरि २०८४र८५ सम्म म्याद थप गर्न लागिएको छ । ‘जति काम ढिलो हुँदै जाँदा लागत बढ्दै गएको छ,’ सडक विभाग स्रोतले भन्यो । सडक विभाग स्रोतका अनुसार थपिएको समयमा पनि काम सम्पन्न नहुने भएपछि दोस्रो पटक म्याद थप गर्ने तयारी छ ।

निर्देशनालयका सूचना अधिकारी भने सडक सीमा यकिन नहुँदा, मुआब्जा विवाद र निर्माण व्यवसायीको ढिलासुस्तीले आयोजना समयमा नसकिएको बताए । सडकमा पर्ने रूख कटानका लागि अनुमति बेलैमा नपाउँदा पनि निर्माण प्रभावित बनेको उनको भनाइ छ । ‘अहिले समस्या समाधान गरी काम अघि बढाइएको छ,’ उनले भने । जिल्लामा आयोजना कार्यालय पाँच वटा जिल्लामा राखिएको छ । पाँचथरको फिदिमस्थित कार्यालयले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर जिल्ला हेर्छ, जसअन्तर्गत ३ सय ८६ किमि मध्यपहाडी राजमार्ग पर्छ ।

धुलिखेल कार्यालयअन्तर्गत खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक जिल्लासम्मको ३ सय ३५ किमि पर्छ । गोरखा आयोजना कार्यालयअन्तर्गत गोरखा, नुवाकोट, धादिङ, लमजुङ जिल्लामा पर्ने २ सय ६० किमि राजमार्ग समावेश छ । पर्वत योजना कार्यालयले पर्वत, कास्की र बागलुङ जिल्लामा पर्ने २ सय ४५ किमि राजमार्ग हेर्छ । दैलेखस्थित कार्यालयले रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्लामा पर्ने ६ सय ५३ किमि सडक हेर्छ । कान्तिपुर दैनिकबाट……..

 


Thali Mobile Pvt.Ltd.