DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तोरीमा साख फर्काउँदै चितवन


  • माघ ६, २०८०
  • 252 Views
तोरीमा साख फर्काउँदै चितवन image

चितवन । मंसिरकै महिना थियो । जता हेर्‍यो पहेंलपुरै पहेंलपुर र कतै हरिया मकैले कैला रङका मृदु नरम जुँगा छोडिरहेका । कतै रातै पाकेर घुम्रिएका झामुरे पाउँदुरे कोदाका बाला लत्रिएका देखिन्थे । यस्तो चितवनको धनधान्यपूर्ण अन्नपूर्णा हिमालय र फाँटमा फैलिएको दृश्यले आँखा रसमय र लोलायमान पार्दथ्यो ।

तोरीमा साख फर्काउँदै चितवन

कवि धर्मराज थापाले आफ्नो पुस्तक ‘चितवन दर्पण’मा लेखेका हरफ हुन् यी । थापाले २०३२ सालको हिउँदमा चितवन पुग्दा देखेको दृश्यलाई माथिको हरफमा उतारेका हुन् । थापाले देखे जस्तै हिउँद लागेपछि चितवनका मलिला फाँट तोरी फुलेर पहेंलपुर देखिन्थे । राजा र राणाका दरबारसम्म जाने चितवनको तोरी केही वर्षअघिसम्म घट्दै गएको थियो । फाँटहरूमा हराउँदै गएको त्यो रङ फेरि फर्किन थालेको छ ।

चितवनको पुरानोमध्येको बस्ती हो, माडीको बघौडा । बघौडामा जन्मेहुर्केका ४५ वर्षीय ललित चौधरीको आँखाभरि यस्तै फाँट बसेका छन् । ‘हामी सगोलमा हुँदा ६ बिघा खेतमा तोरी लगाउने गर्थ्यौं । भिन्न भएपछि बिस्तारै तोरी लगाउन कम हुँदै गयो । ६० सालपछि त धेरै कममा तोरी लगाउन थाल्यौं,’ हाल माडी नगरपालिका–३ मा पर्ने बघौडाका ललितले भने । पछिल्लो पाँच वर्षयता भने उनको परिवार फेरि तोरी खेतीमा फर्केको छ । गत वर्ष उनले डेढ बिघा जमिनमा तोरी लगाए । यो वर्ष साढे दुई बिघामा तोरी छरेका छन् ।

घट्दै गएको चितवनको तारी खेती बढ्दै गएको सरकारी तथ्यांकले पनि देखाउँछ । पाँच वर्षयता तोरी खेती गर्ने क्रम बढ्दै आएको भरतपुरस्थित कृषि ज्ञान केन्द्रका कृषि अधिकृत उमराज अर्याल बताउँछन् । ज्ञान केन्द्रका अनुसार ०७६र७७ मा जिल्लाभर १२ हजार २ सय ५५ हेक्टर क्षेत्रफलमा तोरी खेती भएको थियो । गत आर्थिक वर्षमा १४ हजार ७ सय ५ हेक्टरमा तोरी खेती भएको थियो । यो वर्ष तोरीको क्षेत्रफल उल्लेख्य मात्रामा बढेको अर्यालले जनाए । यस पटक चितवनमा २१ हजार ८ सय ५० हेक्टर जमिनमा तोरी खेती भएको छ । यो तथ्यांकलाई मान्ने हो भने चितवनमा तोरी खेती लगभग पुरानै अवस्थामा फर्केको छ ।

तत्कालीन कृषि विकास कार्यालय चितवनको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०५५र५६ मा २२ हजार ९ सय ९३ हेक्टरमा तोरी खेती भएको थियो । त्यसपछि तोरीको क्षेत्रफल क्रमशः घट्दै गएको तथ्यांकमा देखिन्छ । तोरी खेती १८ हजार, १४ हजार हेक्टरबाट घट्दै आर्थिक वर्ष ०६५र६५ मा ११ हजार १ सय ३० हेक्टरमा खुम्चिएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।घट्दो क्रमबाट फेरि उकालो लाग्दै चितवनमा तोरी खेती पहिलाकै स्वरूपमा आउँदा उत्पादकत्वमा पनि राम्रै सुधार भएको देखिन्छ । पहिला एक हेक्टरमा एक टनभन्दा कम तोरी फल्ने चितवनमा गत वर्ष एक दशमलव तीन टन तोरी फल्यो ।

यहाँको तोरी राजा र राणाका दरबारमा खपत हुने गरेको चितवनको इतिहासबारे जानकार देवीप्रसाद कँडेल बताउँछन् । चितवन जिल्ला समन्वय समितिले प्रकाशन गरेको ‘चितवन दर्पण’मा कँडेलले १८६६ मंसिर र १८९८ माघमा चितवनको तोरीसम्बन्धी सरकारी उर्दी निर्देशन जारी भएको लेखेका छन् । राणाकालभन्दा अघि नै चितवनको तोरी दरबार जाने गरेको उनको लेखमा उल्लेख छ ।

शाहाकालमै ‘झारा प्रथा’ अनुसार स्थानीयलाई बोकाएर चितवनको तोरी दरबार पुर्‍याउने गरेको कँडेल बताउँछन् । झारा अस्वीकार गर्नेले प्रतिव्यक्ति दुई रुपैयाँ ५० पैसा नगदमै जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको उनले सुनाए । जरिवाना तिर्न नसकेर कतिपय लुक्ने–भाग्ने गरेको कँडेलको भनाइ छ । पछि राणाकालमा झारा प्रथा हटाएर चितवनबाट तोरी संकलन गरेर दरबार जान लाग्यो ।

२००१ सालमा दुई रुपैयाँ पाथीका दरले ४० मन तोरी दरबार गएको कँडेलले लेखेका छन् । त्यसैगरी २००३ सालमा १२ जना व्यापारीले चितवनबाट तीन लाख ३३ हजार पाँच सय रुपैयाँको तोरी किनेर काठमाडौं लगेका थिए । चितवनको आर्थिक विकासबारे लेख्दै आएका सप्तगण्डकी क्याम्पसका सहप्राध्यापक कपिलदेव सुवेदीले आर्थिक वर्ष ०२४र२५ मा चितवनमा १५ हजार हेक्टरमा तोरी खेती हुने ‘चितवन दर्पण’मा लेखेका छन् । त्यसको २० वर्षपछि आर्थिक वर्ष ०४४र४५ मा २२ हजार ६ सय हेक्टर पुग्यो ।

चितवनमा ४० र ५० को दशकमा तोरी खेती मौलाउँदै गयो । नारायणगढ बजारले तोरी किन्ने र तेल पेल्ने मिल भएको ठाउँका रूपमा ख्याति पाउँदै गयो । व्यवसायी रामहरि श्रेष्ठले ०४३ सालमा नारायणगढमा तेल मिल खोले । उनले भन्दा पहिल्यै नारायणगढमा तेल मिलहरू खुलेर राम्रो व्यपार गरेका थिए । सम्भावना राम्रो देखेर उनी पनि मिल खोल्न तम्सिएका हुन् । मिलले सोचेअनुसार व्यापार गर्‍यो । ‘चितवनको तोरी राम्रो हुन्छ । त्यसको तेल उत्तम हुन्छ भन्ने छाप थियो । दिनमा औसतमा तीन सय लिटरसम्म तेल बिक्री हुन्थ्यो । चितवनको तेल त्यति बेला देशैभर जान्थ्यो । मैले भने प्रायः पोखरा पठाउँथे,’ श्रेष्ठले भने । दिनमा सात बोरा तोरी खपत हुने गरेको उनले बताए । तोरी चितवनभित्रै पाइन्थ्यो । कहिलेकाहीं पूर्वमा मनहरी र पश्चिममा दुम्कीबासबाट पनि ल्याउने गरेको उनले जनाए ।

चितवनमा ०५० सालतिर तेल मिल व्यवसायी संघ पनि गठन भएको थियो । उनी त्यसको नेतृत्वमा पनि रहे । ०६० पछि चितवनको तेल मिल संकटमा पर्न लागेको उनी सुनाउँछन् । ०५९ सालदेखि उनको मिल बन्द भयो । उनीहरूले गठन गरेको चितवन तेल उत्पादक संघ ०७५ सालपछि निष्क्रिय जस्तै छ । ‘०५६ सालपछि हुनुपर्छ अस्ट्रेलिया, फ्रान्स, इटाली र युक्रेनबाट तोरी आउन थाल्यो,’ श्रेष्ठले सुनाए । ०६० साल आसपासबाट चितवनमा तोरी घट्दै जानु र विदेशी तोरी आएसँगै पुराना तेल मिल पनि बन्द हुन थालेको उनको भनाइ छ । अहिले चितवन उद्योग संघमा आबद्ध चितवन लोकल तेल उत्पादक संघ नामको नयाँ समिति बनेको छ । पाँच वर्षअघि गठित समितिमा जिल्लाका एक सय हाराहारी साना मिल आबद्ध छन् । जसले आफैं पेलेर तेल पनि बेच्छन् र स्थानीयले ल्याउने तोरी पनि भाडा लिएर पेल्ने गर्छन् ।

यहाँका मिलहरूले दाङ, नेपालगन्ज र धनगढीदेखि तोरी ल्याउने गरेको संघका कोषाध्यक्ष विक्रम सापकोटा बताउँछन् । पछिल्लो समय चितवनमा तोरी उत्पादन बढेको देखेका कारण उनी उत्साहित छन् । स्वदेशी र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने सरकारी नीति बने तोरी उत्पादन गरेर चितवनले राम्रै लाभ लिन सक्ने उनको आकलन छ ।

चितवनमा तोरी खेती पहिल्यैको स्वरूपमा फर्कनुका केही खास कारण रहेको कृषि विज्ञ बताउँछन् । पछिल्लो समय शुद्ध तेल खानुपर्छ भन्ने मान्यता बढेको छ । रुस–युक्रेन युद्धले तेलको मूल्यवृद्धि अत्यधिक भयो । यसबाट तोरी खेतीलाई प्रोत्साहन पुगेको छ । अर्कोतर्फ चितवनमा बर्खेसँगै र चैते धान रोप्ने चलन बढेको छ । धान काटेपछि अरू बाली लगाउँदा चैते धानलाई खेत तयार गर्ने समय पुग्दैन । तोरी लगाए यो समस्या हुन्न ।

‘तोरी चितवनको खेती प्रणालीमा पनि उपयुक्त भएको छ । धान काटेर गहुँ लगाउने हो भने चैते धान रोप्न समय पुग्दैन । गहुँ पाक्न समय लाग्ने र तोरी छिटो पाक्ने भएकाले कारणले पीर भएन । त्यसैले तोरीतर्फ किसान फर्केका छन्,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले भने । तोरी फस्टाउँदै जाँदा चितवनमा गहुँको खेती भने क्रमशः घट्दो छ । गत आर्थिक वर्षमा चितवनमा तीन हजार ४ सय ६० हेक्टर जमिनमा गहुँ खेती भएको ज्ञान केन्द्रका अधिकृत अर्यालले बताए ।

०५५र५६ मा जिल्लामा १० हजार हेक्टरमा गहुँ खेती हुने गरेको तथ्यांक छ । ‘गहुँलाई कम्तीमा दुई फेर राम्रो सिँचाइ चाहिन्छ । पाक्न पनि समय लिन्छ । तोरीलाई त्यस्तो छैन । कम सिँचाइ र चाँडै पाक्छ । यसले पनि तोरी खेतीतर्फ आकर्षण बढ्यो,’ अर्यालले भने । तोरी खेती बढाउँदै लगेका माडीमा किसान ललित चौधरीले पनि गहुँ खेती घटाउँदै छन् । ‘सिँचाइको कुरा पनि भयो । तोरीलाई त्यस्तो मिहिनेत गर्नु परेन । गहुँ छर्‍यो माडीमा जंगली जनावरले पनि खाएर हैरान गर्छ । तोरीलाई त्यस्तो दुःख छैन । कुनैबेला एक बिघामा गहुँ लगाउँथ्यौं, अहिले पाँच कट्ठामा छ,’ ललितले भने । ०५९र६० तिर चितवनको ४६ हजार ८ सय ९४ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ४४ हजार ३ सय ९१ मा खेती गरिन्थ्यो । त्यसमध्ये १४ हजार हेक्टरमा तोरी लगाइने गरेको तथ्यांक छ । ०७०र७१ तिर भने खेती लगाइने जमिन एक सय हेक्टर घट्दा तोरी खेती १२ हजार ६ सय ६० हेक्टरमा सीमित भएको थियो । त्यसयता ओरालो लागेको तोरी खेती पछिल्ला चाररपाँच वर्षमा बढ्न थालेको हो ।

रुस–युक्रेन युद्धअघि नौदेखि ११ हजार रुपैयाँ क्विन्टलमा पाइने तोरी बढ्दै गएर १७ हजार रुपैयाँसम्म पुगेको चितवन लोकल तेल उत्पादक संघका कोषाध्यक्ष सापकोटा बताउँछन् । २ सय ३० रुपैयाँ लिटरमा पाइने तेलको मूल्य बढ्दै गएर ४ सय २५ रुपैयाँसम्म पुगेको उनको भनाइ छ । तर अहिले यो मूल्य घट्दो छ । ‘मूल्यवृद्धिले भाउ पाइन्छ भनेर खेती गर्ने पनि बढे । तेल महँगो भयो आफैं खेती गरौं भन्ने सोच पनि भयो । समग्रमा यसले तोरी खेती बढाउन फाइदा गर्‍यो,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अधिकृत पौडेलले भने ।

०१३ सालपछि बस्ती विकास तीव्र भएको चितवनमा वन जंगलले ओगटेको मलिलो माटो तोरीका लागि उपयोगी भएको विज्ञहरू बताउँछन् । ‘नदी र खोलाले घेरिएको, वनजंगल आडको जमिन भएका कारण चितवन तोरीका लागि अनुकूल भयो । तोरीलाई चाहिने प्रांगारिक तत्त्व यहाँको माटोमा यथेष्ट थियो । त्यसैले यहाँ सुरुवातमै तोरी फस्टायो,’ राष्ट्रिय तेलबाली अनुसन्धान कार्यक्रमका प्रमुख वरिष्ठ वैज्ञानिक सुवास सुवेदीले भने । चितवनमा तोरीलाई परागसेचनमा मद्दत पुर्‍याउने माहुरी जस्ता अन्य किरा पनि प्रशस्तै रहेको उनले बताए । तोरीलाई नाइट्रोजन, फसफोरस, पोटासका साथै अन्य सूक्ष्म पोषकतत्त्व सल्फ र बोरोन पनि पर्याप्त मात्रामा चाहिन्छ । चितवनमा यी तत्त्व यथेष्ट भएका कारण तोरीलाई राम्रो भएको सुवेदीको भनाइ छ । सरकारले तोरी खेतीका लागि प्रोत्साहन गरेका बेला सन् १९९० देखि सन् २००० सम्म चितवनमा तोरी बाली राम्रोसँग फस्टाएको उनले जनाए ।

सन् २००० पछि सन् २०१० सम्म क्षेत्रफल खासै फस्टाउन सकेन । ‘यसबीचमा चितवनमा विकासे मलको उपयोग गर्ने मात्रा पनि बढ्यो । हाइब्रिड जातका अन्य बाली लगाउने चलन पनि फस्टायो । त्यसले माटोको पोषक तत्त्व धेरै ग्रहण गर्न थाल्यो । माटोमा अमलीयपना बढ्यो । यसको असर तोरीको उत्पादनमा पर्‍यो,’ सुवेदीले भने । सन् २०२० पछि बजारमा मूल्य राम्रो आउँदा फेरि आकर्षण बढेको उनले बताए । कृषि ज्ञान केन्द्रले तोरी खेतीका लागि किसानलाई प्रोत्साहन गरिरहेको अधिकृत अर्यालको भनाइ छ ।

गत वर्ष तोरीको बीउ, मल, विषादी, सिँचाइ र यन्त्रीकरणका लागि यो वर्ष १२ वटा कृषक समूहलाई ५० लाख रुपैयाँ अनुदान दिएको उनले जनाए । अघिल्लो वर्ष कार्यालयले एक करोड रुपैयाँ अनुदान दिएको थियो । तोरीलाई गोठे मल र अन्य प्रांगारिक मल राम्रो हुने सुनेपछि त्यही नै प्रयोग गरेको कृषक ललित चौधरी बताउँछन् । ‘चितवनमा कुखुराको मलको प्रयोग राम्रो हुने गरेको छ । यसको प्रयोगले तोरीलाई आवश्यक सूक्ष्म पोषक तत्त्व माटोमा बन्ने गर्छ । तोरीलाई यसले पनि फाइदा पुर्‍याएको छ,’ वरिष्ठ कृषि वैज्ञानिक सुवेदीले भने ।

देशभर दुई लाख हेक्टरमा खेती हुँदै आएको र दुई लाख २० हजार टन तोरी उत्पादन हुने गरेको तथ्यांक छ । तोरी उत्पादन हुने मुख्य चितवनसहित दाङ, कैलाली, मोरङ, बारा, सुनसरी जस्ता जिल्ला छन् । देशको माग पूरा गर्न तोरीलगायत अन्य तेलहन विदेशबाट आयात पनि हुन्छ । ‘तोरीसँगै अन्य तेलहन बाली देशभित्र जहाँ फस्टाउन सक्छ, त्यसलाई प्रोत्साहन गर्ने नीति बने देशका लागि राम्रो हुन्छ,’ डा। सुवेदीले भने । फस्टाउँदै गरेको चितवनको तोरीले फाँट मात्रै सुन्दर बनाएको छैन, देशको अर्थतन्त्रलाई नै उकास्ने मेसो ल्याउँदै छ ।कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.