भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नाबालिकाको हत्यापछि परिवारकै चार पक्राउ


  • फाल्गुन १४, २०७७
  • 872 Views
नाबालिकाको हत्यापछि परिवारकै चार पक्राउ image

भैरहवा । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई वर्षअघि लगनगाँठोमा कसिएका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा काट्न थाले। त्यसले पति/पत्नीबीच खटपट मात्रै परेन, परिवारै भाँडिन पुगेको छ।

‘प्रेमाले छोरी र गाउँघरमा कुरा काटिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले बच्चा आफ्नो भएको दाबी गरेको श्रीमानले सुने’, रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने, ‘त्यसपछि श्रीमानले बच्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आशंकामा बल पुग्यो।’  प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदीप चौधरी (२६) प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा काटेको र परिवारमा खटपट परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्। राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए। त्यसपछि दिनहुँजसोको झगडाले प्रेमा मानसिक तनावमा परिन्। तब उनले नाबालिका छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ।

‘पहिला उनले फागुन ९ गते राति एक वर्षीया छोरीको घाँटी डोरीले कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने, ‘त्यसपछि त्यही डोरीको प्रयोग गरी पंखामा झुन्डिन खोज्दा नन्दले डोरी काटेर उनलाई जोगाएको पाइएको छ।’

तनावका बेला सम्हालिन नसकेकी प्रेमाले नाबालिका छोरी संगीताको छटपटाहट, चिच्याहट, तडपाइ सुनिनन्। अन्ततः उनले अबोध ‘कोपिला’लाई निमोठेरै छाडिन्। श्रीमान, श्रीमती, ससुरा बुद्धिराम यादव (५५) र सासू राजमती यादव (४५)ले प्रहरीलाई खबर नगरी त्यही रात स्थानीय दानव खोलानजिक बालिकाको शव गाडेका थिए। तर, बालिकाको मृत्यु शंकास्पद रहेको सूचना प्राप्त भएपछि प्रहरीले  त्यही रात शव गाडेको स्थानबाट झिकेको थियो। उक्त शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा पठाइएको थियो। घटनाको भोलिपल्ट मामाले नाबालिकाको शव बुझेर दाहसंस्कार गरेको प्रहरीले जनाएको छ।

रूपन्देही प्रहरीले ज्यानसम्बन्धी कसुर, दुरुत्साहन र मतियार आरोपमा प्रेमा, राजकुमार, राजमती, बुद्धिराम र प्रदीपलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अभियुक्तहरूलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ। घटनाको अनुसन्धानका लागि अभियुक्तविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको एसपी पोखरेलले बताए। एसपी पोखरेलले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले धेरै विषय पछि खुल्दै जानेछ।’

यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.