DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निर्वाचनलगत्तै विधान संशोधनको तयारीमा महासंघ


  • मंसिर २१, २०७७
  • 706 Views
निर्वाचनलगत्तै विधान संशोधनको तयारीमा महासंघ image

काठमाडौं । निर्वाचनलगत्तै नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधनको तयारी तीव्र भएको छ । अध्यक्ष शेखर गोल्छाले चुनावअघि नै आफू अध्यक्ष भएको ६ देखि ९ महिनामा विधान संशोधन गर्ने घोषणा गरेका थिए । सोहीअनुसार महासंघले विधान संशोधनको तयारी तीव्र बनाएको हो । सकेसम्म आगामी चैतमा हुने साधारणसभामा, प्राविधिक रूपमा त्यो सम्भव नभए विशेष साधारणसभा बोलाएर पनि विधान संशोधन गर्ने तयारी महासंघको छ । ‘महासंघको विधान संशोधन गर्नैपर्नेछ, देशभरका सदस्यहरूले पनि त्यो महसुस गर्नुभएको छ,’ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘सबै सदस्यसँग छलफल गरेर राय–सुझाब संकलन गरेर विधान संशोधन गर्नेछौँ ।’

आफूले विधान संशोधनलाई कुनै पनि हालतमा राजनीतिक हतियार नबनाउने पनि गोल्छाले बताए । ‘अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी संशोधन हुँदा पनि चन्द्र ढकाल अध्यक्ष बनेपछि लागू हुने गरी संशोधन हुन्छ,’ गोल्छाले भने । महासंघका पदाधिकारीहरूको अनौपचारिक बैठक तथा पूर्वअध्यक्षहरूसँगको भेटघाटमा समेत विधान संशोधनलाई अघि बढाउने कुरा भएको जानकारी उनले दिए । ‘कसैलाई बलियो बनाउन वा कमजोर बनाउन वा चुनावी फाइदा लिन होइन, समग्रतामा महासंघलाई बलियो बनाउन विधान संशोधन गर्न लागिएको हो,’ उनले भने ।

खासगरी अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने र कार्यसमितिको कार्यकाल २ वर्षको बनाउने गरी विधान संशोधनको तयारी छ । ‘चन्द्र ढकालपछिको कार्यसमितिको निर्वाचन प्रत्यक्ष रूपमा अध्यक्षको नै गर्ने गरी विधान संशोधनको तयारी छ,’ महासंघका विशिष्ट सदस्य पशुपति मुरारकाले बताए । विगतमा कार्यसमितिको कार्यकाल दुई वर्षकै हुने गरेकोमा २०६४ मा कुशकुमार जोशीको कार्यकालदेखि त्यसलाई तीन वर्षको बनाइएको थियो ।

त्यसलाई पुनः दुई वर्षमै झार्ने गरी विधान संशोधनको तयारी यसअघि नै पनि भएको थियो । तर, महासंघका तत्कालीन विशिष्ट सदस्य चण्डिराज ढकालले अध्यक्षसमेत हुने गरी वरिष्ठ उपाध्यक्ष निर्वाचित शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्ने ढंगले यो एजेन्डा अघि बढाएपछि त्यो सफल हुन सकेन । अब विधान संशोधन गर्दा सकेसम्म पूर्ण बनाउने गरी विशेषज्ञहरूलाई नै लेख्न लगाउनुपर्ने मुरारकाले बताए ।

विधान संशोधनलाई प्राथमिकतामा राख्न पूर्वअध्यक्षहरूको पनि सुझाब

महासंघका पूर्वअध्यक्षहरूले पनि विधान संशोधनलाई मुख्य प्राथमिकतामा राख्न नवनिर्वाचित कार्यसमितिलाई सुझाब दिएका छन् । अहिलेको विधानमा धेरै कमिकमजोरी हुनाले महासंघमा विकृति बढ्दै गइरहेको ठहर गर्दै पूर्वअध्यक्षहरूले तत्काल संशोधन गर्न सुझाब दिएका हुन् । महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले बिहीबार नक्सालको मेरियट होटेलमा पूर्वअध्यक्षहरूलाई बोलाएर सुझाब लिएका थिए । उक्त कार्यक्रममा सहभागी अध्यक्षहरूले अबदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने गरी विधान संशोधन गर्न सुझाब दिए ।

पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले अहिलेको विधानमा रहेका कमिकमजोरीहरू अध्ययन गरी उत्कृष्ट विधान बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा उनले थपे, ‘तपाईंहरू तत्काल विधान संशोधन कमिटी बनाउनुहोस्, हामी पनि पूर्वअध्यक्षको हैसियतले सल्लाह–सुझाब दिन्छौँ ।’ विधान संशोधन गर्दा तीन वर्षको कार्यकाललाई दुई वर्षमा झार्नुपर्ने सुझाब पनि पूर्वअध्यक्षले दिएको श्रेष्ठले जानकारी दिए । अहिले विधानतः वरिष्ठ उपाध्यक्षमा निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

‘अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल आगामी कार्यसमितिमा स्वतः अध्यक्ष हुनुहुन्छ,’ रविभक्त श्रेष्ठले भने, ‘त्यसपछिको कार्यसमितिका लागि अध्यक्ष पदमा निर्वाचन गरेर नेतृत्व चयन गर्नुपर्छ ।’अध्यक्ष पदमा निर्वाचन गर्दा व्यवसायीबीच गुटगत रस्साकस्सी र पैसाको खेल हुन थालेपछि वरिष्ठ उपाध्यक्षमा निर्वाचन गर्न थालिएको थियो । वरिष्ठ उपाध्यक्षमा निर्वाचन गर्दा राजनीति कम हुने अपेक्षा थियो । तर, वरिष्ठ उपाध्यक्ष पदमा चुनाव गर्दा व्यवसायीबीच अझ बढी गुटगत रस्साकस्सी र आरोप–प्रत्यारोप चल्न थालेपछि अध्यक्ष पदमै निर्वाचन गर्नुपर्ने व्यवसायीहरूको धारणा छ ।

पूर्वअध्यक्ष रविभक्तले एसोसिएटतर्फ प्रोक्सी भोटले समेत ठूलो समस्या निम्त्याएको बताउँदै विधान संशोधन गर्दा कम्पनी जसको नाममा छ, उसैले मात्र भोट हाल्न पाउने व्यवस्था गर्न सुझाब दिएका छन् । अहिले जसले बढी प्रोक्सी भोट संकलन गर्न सक्यो, एसोसिएटतर्फको मतपरिणाम पनि उसकै पोल्टामा गइरहेको छ । भेलामा सहभागी पूर्वअध्यक्षहरूले नयाँ नेतृत्वलाई महासंघमा गुटको राजनीति नगरी सबैलाई समेटेर अगाडि बढ्न आग्रह गरेका छन् । ‘अब समितिहरू बनाउँदा आफ्नो गुटको मान्छेलाई होइन कि योग्य व्यक्तिलाई अगाडि ल्याउनुपर्छ,’ पूर्वअध्यक्षहरूको सुझाब छ, ‘अब व्यक्ति छुट्याउनुहुँदैन, तपाईंहरू मिलेर अगाडि बढ्नुपर्छ ।’

पूर्वअध्यक्षहरूको सुझाब सुनिसकेपछि अध्यक्ष गोल्छाले महासंघ एकढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘हामी सबै एकढिक्का भइसक्यौँ, टिमवर्कमा काम गर्छौँ,’ उनले भने, ‘अब महासंघमा गुटको राजनीति हुँदैन ।’ उनले अन्तर्राष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको ‘भिजन डकुमेन्ट’ तयार पार्ने काम भइरहेको र डकुमेन्ट तयार भइसकेपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने पूर्वअध्यक्षहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्वअध्यक्षहरू महेशलाल प्रधान, पद्म ज्योति, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, पशुपति मुरारका र निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थिति थियो । पूर्वअध्यक्षहरू विनोद चौधरी, आनन्दराज मुल्मी, प्रदीप श्रेष्ठ, चण्डिराज ढकाल र सुरज वैद्य कार्यक्रममा उपस्थित थिएनन् । चौधरी र मुल्मी काठमाडौंबाहिर भएकाले उपस्थित हुन सकेनन् भने वैद्य नेपालबाहिर छन् । चण्डिराज ढकाललाई चिठी र फोनबाट निमन्त्रणा गर्दा पनि उपस्थित नभएको एक पदाधिकारीले बताए । नयाँ पत्रिका दैनिक ……..

 

 


Thali Mobile Pvt.Ltd.