भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नुन सदरमुकाममा, रकम कर्मचारीको खल्तीमा


  • श्रावण ३, २०७९
  • 404 Views
नुन सदरमुकाममा, रकम कर्मचारीको खल्तीमा image

बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी अम्रिता कामीको घरमा नुन सकिएको चार महिना भयो । उनले केही समय छिमेकीबाट एैंचोपैंचो चलाइन् । ‘गाउँमा नुन हुँदासम्म जसको घरमा छ, सबैले बाँडचुँड गरेर खाइरहेका थियौं ।

अब सबैका घरको नुन सकियो । अलिनै खानुपरिरहेको,’ उनले सुनाइन्, ‘पहिले भोटे नुन खान्थ्यौं । अहिले उता पनि बन्द भयो । यताको नुन पनि आएको छैन ।’ साइपाल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी कामीका अनुसार पछिल्लो पटक वैशाखमा दुई क्विन्टल नुन धुली पुगेको थियो । त्यही नुन प्रतिपरिवार १/१ किलोका दरले वितरण गरियो । ‘तीन वर्षअघि साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँ पुग्दो नुन ल्याएको थियो । त्यसपछि नुन देखेकै अस्ति वैशाखमा एक/एक पोका हो,’ धुलीकै दिनेश लामाले भने ।

साइपालका धुलीसहित न्युना, बलौडी, काया लगायत गाउँमा नुनको चर्को अभाव भइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय बझाङमा हरेक वर्ष पर्याप्त नुन ढुवानी भएको विवरण देखिन्छ । डिपो कार्यालय बझाङको रेकर्डअनुसार आर्थिक वर्ष ०७४/७५ मा ५ सय क्विन्टल, ०७५/७६ मा एक हजार क्विन्टल, ०७६/७७ मा १ हजार ७७ क्विन्टल र ०७७/७८ मा १ हजार ५ सय क्विन्टल नुन ढुवानी अनुदानमा साइपाल पुगेको छ । ०७३ असोज १२ मा ‘सुनजस्तै महँगो नुन’ शीर्षकमा ढुवानी अनुदानमा राज्यले नौ रुपैयाँ प्रतिकिलोका दरले दिने गरेको नुन बझाङका बासिन्दाले १ सय २० रुपैयाँमा खानुपरेको समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशन भएलगत्तै कर्पोरेसनले साइपालमा वितरण केन्द्र स्थापना गरी ९ रुपैयाँ किलोमै नुन दिने व्यवस्था गरेको थियो । त्यसयता ढुवानी अनुदानमा नुन निरन्तर साइपाल पुगेको कागजात देखिन्छि । ‘सुरुकै वर्षको नुन बाँकी रहेकाले लामो समय कसैले खोजी गरेनन्,’ वडाध्यक्ष रोकाया भन्छन्, ‘त्यसैले चैनपुरबाट नुन गएन ।’

आर्थिक वर्ष ०७८/७९ मा साइपालका लागि १ हजार ३ सय १० क्विन्टल छुट्याइएको थियो । तर पालिकामा थोरै नुन मात्रै आएपछि खोजी गर्दा ठेकेदार कम्पनीले सबै ढुवानी गरिसकेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसनको प्रदेश कार्यालयमा भाडा भुक्तानीका लागि आवेदन दिएको पाइएको छ । ठेकेदार कम्पनी विद्या कन्स्ट्रक्सनले गाउँमा नुन पुर्‍याएको भन्दै तयार गरेको मुचुल्कामा साल्टका बझाङ डिपो प्रमुख नरबहादुर भाट, साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहोरा र साइपालस्थित लासी प्रहरी चौकीका सहायक निरीक्षक कृष्णबहादुर बिष्टले कार्यालयको छापसहित दस्तखत गरेका छन् । उक्त मुचुल्का प्रमुख जिल्ला अधिकारीले पनि प्रमाणित गरेका छन् । ‘खच्चड व्यवसायीसमेत रहेका वडा २ का अध्यक्ष हरिलाल बोहोराले बाँकी नुन म ढुवानी गराउँछु भनेर लिखित प्रतिबद्धता गरेपछि मैले पनि मुचुल्कामा सही गरिदिएको हुँ,’ गाउँपालिका अध्यक्ष बोहोराले भने, ‘असारको अन्तिमसम्म पनि पालिकामा नुन नपुगेपछि मैले नै साल्ट ट्रेडिङलाई पत्र काटेर भुक्तानी नदिनू भनेर लेखिसकेको छु ।’

मुचुल्कामा दस्तखत गरेका डिपो प्रमुख भाटले एक पटक १ सय ७५ क्विन्टल र अर्को पटक १ सय ९० क्विन्टल गरेर ३ सय ६५ क्विन्टल नुन गएको आफैंले देखेको र अरू प्रहरी र जनप्रतिनिधिको विश्वासमा मुचुल्कामा सही गरेको बताए । ‘मैले अनुगमन गर्दा काँडा पठाउने २ सय ५० क्विन्टल नुन तल्कोट गाउँपालिकाको पनाल्तमा स्टोर गरेको भेटेको हुँ,’ उनले भने, ‘अरू सबै नुन साइपाल गइसकेको भनिएपछि मुचुल्कामा सही गरिदिए । म एक्लै त्यहाँ गएर हेर्न सम्भव पनि थिएन ।’ काँडाभन्दा माथि काया, धुली, न्युना, बलौडी गाउँ छन् ।

मुचुल्का प्रमाणित गरेका प्रमुख जिल्ला अधिकारी अर्यालले पनि जनप्रतिनिधि र प्रहरीको विश्वासमा आफूले दस्तखत गरिदिएको बताए । ‘हाम्रो प्रतिनिधि भनेकै प्रहरी हो । प्रहरीको सही छ । गाउँपालिका अध्यक्षले नै पुगिसक्यो भनेपछि हामीले अन्तिममा सही गरेका हौं,’ उनले भने । अहिले नुन नपुगेको गुनासो आएपछि वास्तविकता बुझ्न प्रहरी पठाएको प्रजिअ अर्यालले बताए ।

सबै नुन ढुवानी गर्ने प्रतिबद्धता पत्र दिएका खच्चड व्यवसायीसमेत रहेका वडाध्यक्ष हरिलाल बोहोराले भने आफूले ४५ क्विन्टल मात्रै नुन ढुवानी गरेको र खच्चड अभावका कारण बाँकी नुन ढुवानी गर्न नसकेको बताए । ढुवानीको जिम्मा लिएको विद्या कन्स्ट्रक्सनका प्रतिनिधि हिरेन्द्र छत्यालले नुन ढुवानीकै क्रममा रहेको तर आर्थिक वर्ष समाप्त भएपछि झुक्तानी नहुने डरले जेठमै मुचुल्का तयार गरेको बताए । ‘नुन ढुवानीकै त्रममा छ । बजेट फ्रिज नजाओस् भनेर मैले नै अनुरोध गरेर मुचुल्का बनाएको हो । मैले यस वर्ष मात्रै नुन ढुवानी जिम्मा लिएको हो । तर बुझ्दा त्यहाँ तीन वर्षअघिदेखि नै नुन गएको रहेनछ,’ उनले भने, ‘त्यही भएर समस्या देखिएको हो । केही दिनभित्रै सबै नुन पुग्छ ।’

विद्या कन्स्ट्रक्सनले ०७८/७९ मा प्रतिक्विन्टल २ हजार ९ सय ७१ रुपैयाँमा १ हजार ३१० किलो नुन ढुवानी गर्ने सम्झौता गरेको थियो । त्यसबापतको ढुवानी भाडा मात्रै ३८ लाख ९२ हजार रुपैयाँभन्दा बढी छ । ०७७/७८ मा १ हजार ५ सय क्विन्टल नुन ढुवानी गरेको यस्तै कागजका भरमा प्रतिक्विन्टल ३ हजार ४४९ का दरले ५१ ले ७३ हजार ५ सय ठेकेदार कम्पनी जालपा र कृष्ण भण्डार जेभी, ०७६/७७ मा सोही दरमा ३७ लाख १४ हजार ५७३ अमृत निर्माण सेवा र ०७५/०७६ मा १ हजार क्विन्टल ढुवानी गरेको भन्दै ४० लाख कृष्ण भण्डार सप्लार्यसको नाममा गरी १ करोड २८ लाख ८८ हजार ७३ रुपैयाँ सरकारले भुक्तानी गरेको कागजमा देखिन्छ ।

साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले भने अघिल्ला वर्षमा कोटाअनुसार नै नुन ढुवानी भएको दाबी गरे । ‘गत वर्ष धुलीमा नुन नपुगेकाले त्यसो भनेका होलान् । नुनै ढुवानी नभएको भन्ने कुरा झूटो हो,’ उनले भने, ‘त्यहाँ अनुगमन भएको छ । सबै कागजपत्र छन् । ढुवानी भएन भनेर कसले भन्छ ?’ साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख किशोरप्रसाद पाण्डेले पहिले पालिकाका जनप्रतिनिधि, स्थानीय प्रहरी, जिल्लास्थित डिपो प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रमाणित गरेपछि मात्रै भुक्तानी दिएको बताए । ‘यत्रो संयन्त्र सबै मिलेर बदमासी गर्छन् भने त कसको विश्वास गर्नु ?’ उनले भने, ‘हामीले त सबै प्रमाण र प्रक्रिया पुर्‍याएरै भुक्तानी गरेका छौं । अब त्यहाँ पुग्यो कि पुगेन भनेर मैले हेर्न जाने कुरा पनि भएन ।’ उनले गत आर्थिक वर्षको नुन भने नपुगेको गुनासोका आधारमा भुक्तानी रोकिएको र छानबिनका लागि टोली पठाउने तयारी भइरहेको बताए ।

कोरोना महामारी सुरु हुनुअघि स्थानीयले सीमावर्ती तिब्बती बजार ताक्लाकोटबाट ढिके नुन ल्याएर खान्थे । कोरोनाका कारण सन् २०१९ डिसेम्बरदेखि चीनले सीमा बन्द गरेयता उताबाट समेत नुन ल्याउन नसक्दा साइपालमा संकट भएको हो । साइपालका धुली, न्युना, बलौडी, कायालगायत गाउँमा नुनको हाहाकार छ । ‘तीन वर्ष अगाडि १ सय २० क्विन्टल नुन आएको हो । त्यसयता नुन आएकै छैन,’ साइपाल–४ का वडाध्यक्ष जैस्या रोकायाले भने, ‘त्यही नुनले चैतसम्म पुगेको थियो । वैशाखदेखि त साह्रै अभाव भयो ।’ कतिपयले महँगो भाडा तिरेर सदरमुकाम चैनपुरबाट नुन ल्याउने गरेका छन् । तर आर्थिक अभावका कारण आफूले त्यसरी पनि नुन ल्याउन नसकेको स्थानीय लालबहादुर बोहोराले बताए । ‘मान्छेलाई मात्रै नभएर भेडा र गाईबस्तुका लागि पनि चाहिन्छ,’ उनले भने ।

कान्तिपुर दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.