DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

न्यु खिम्ती सबस्टेसनको बिजुली रामेछापमा जोडिने


  • जेष्ठ २८, २०८०
  • 293 Views
न्यु खिम्ती सबस्टेसनको बिजुली रामेछापमा जोडिने image

रामेछाप । आफ्नै जिल्लामा ठुला ठुला जलविद्युत् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोकस्थित लामोसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता अब भने हट्ने भएको छ । अबको केही दिनमा रामेछाप जिल्लामा न्यु खिम्ती सबस्टेसनको लाइन जोडिने भएको हो । न्यु खिम्ती सबस्टेसनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

शुव्रबार साँझ रामेछाप सदरमुकाम मन्थली बजारमा जडान गरिएको स्मार्ट सडकबत्ती र हाइमास्ट बत्तीको उद्घाटन गर्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “न्यु खिम्तीको काम सम्पन्न हुने चरणमा छ । शनिबारदेखि चार्ज गरेर यसको केही दिनमा रामेछाप जिल्लामा सप्लाई हुन्छ, त्यसपछि पटक पटक बत्ती आउने जाने समस्याको अन्त्य हुन्छ ।”

रामेछापको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माण गरिएको उक्त सबस्टेसनको क्षमता २२०र१३२, १३२र३३ र ११ केभीको छ । न्यु खिम्ती सबस्टेसनको विद्युत् आपूर्ति भएपछि रामेछापमा पटक पटक बत्ती आउने जानेलगायतको समस्या अन्त्य हुने र विद्युतीय उपकरणमा हाइभोल्टेजका कारण हुने क्षति पनि कम हुने उहाँले बताउनुभयो ।“अहिले रामेछापमा उत्पादन भएको विद्युत् ढल्केबर, काठमाडौँलगायतका ठाउँमा पुग्ने र ढल्केबरको बिजुली फेरि रामेछापले बाल्नुपर्ने बाध्यता छ, अब यो बाध्यता सधैँका लागि अन्त्य हुन्छ,” उहाँले भन्नुभयो ।

रामेछाप जिल्लाका सबै ठाउँको विद्युत् समस्या अन्त्य गर्न रामेछाप जिल्लाका विभिन्न छ स्थानमा सबस्टेसन निर्माण गरिएको र त्यसको उद्घाटन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । देशभर ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत खर्च भार विद्युत् प्राधिकरणले बेहोर्ने गरी सहर उज्यालो कार्यव्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । उहाँले यही अभियान अन्तर्गत रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्र, वडा नम्बर ८ चिसापानी र सुनापति गाउँपालिकाको बेथानमा स्मार्ट सडक बत्ती र हाइमास्ट बत्ती राखिएको बताउनुभयो । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.