भर्खरै : Sorry, your browser does not support inline SVG.
कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पाँच सय परिवार चार दशकदेखि लालपुर्जाको पर्खाइमा


  • मंसिर २९, २०७७
  • 644 Views
पाँच सय परिवार चार दशकदेखि लालपुर्जाको पर्खाइमा image

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–४, नौसहाराका पाँच सय परिवार चार दशकदेखि जग्गाधनी पुर्जाको पर्खाइमा छन् । नौसहारामा ०३८ देखि बसोवास गर्दै आएका उनीहरूले पटक–पटक काठमाडौंसम्म धाए पनि लालपुर्जा पाउन सकेका छैनन् । नौसहारावासीले चार दशकअघि नै स्थानीय रामानन्द शर्माबाट जग्गा खरिद गरेका थिए । त्यसयता उनीहरू घर–टहरा बनाएर बसोवास गर्दै आएका छन् । उनीहरूले स्थानीय प्रशासनदेखि काठमाडौंसम्म आएर जग्गाधनी प्रमाणपत्र प्राप्तिको व्यवस्थाका लागि आग्रह गरिसकेका छन् । राजनीतिक दलले नौसहारालाई सिँढी बनाएको स्थानीय साबिर खाँले गुनासो गरे । संघीय, प्रदेश र स्थानीय निर्वाचनमा पनि सबै दलका नेताले नौसहारावासीलाई लालपुर्जा दिलाउने आश्वासन बाँडेका थिए ।

‘चुनावका वेला जितेमा जग्गाधनी पुर्जा दिने वाचा गर्छन् । जितेर गएपछि कोही पनि फर्केर आउँदैनन्,’ साबिरले भने ।  स्थानीय निर्वाचनमा नरैनापुर–४ का वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि लालपुर्जा दिने आश्वासन बोकेर नौसहारा पुगेका थिए । उनीहरूले चुनाव पनि जिते, तर त्यसपछि फर्केर नआएको आरिफ खानले बताए । ‘जग्गाधनी पुर्जा बनाइदिने आश्वासन सबैले दिन्छन्, तर फर्केर कोही आउँदैनन्,’ आरिफले भने । दलका स्थानीय कार्यकर्तादेखि केन्द्रीय नेतासम्म नौसहारा पुगेका छन् । उनीहरूले लालपुर्जा दिने व्यवस्था गर्ने आश्वासन दिएका छन् । त्यसपछि कसैले सहयोग नगरेको स्थानीय बासिन्दा गुनासो गर्छन् । ०४५ मा त राज वीरेन्द्र पनि नौसहारा पुगेका थिए । उनको हेलिकोप्टर नौसहारामै अवतरण गरेको थियो ।

राजा वीरेन्द्रले पनि लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएको ७१ वर्षीय वारिस खाँ सम्झिन्छन् । ‘राजाले जग्गाधनी पुर्जा दिन्छु भनेपछि हाम्रो खुसीको सीमा नै रहेको थिएन । तर, राजा पनि काठमाडौं फर्किएपछि बिर्सिनुभो,’ वारिस पीडा सुनाउँछन् । त्यतिवेला नौसहारामा करिब एक सय परिवार मात्रै थिए । अहिले पाँच सय परिवार पुगेका छन् । जग्गाधनी पुर्जाका लागि नौसहारावासीले सदरमुकाम नेपालगन्ज पुगेर राजनीतिक दल, स्थानीय प्रशासन, भूमिसुधार तथा मालपोत कार्यालयलाई पटक–पटक ज्ञापनपत्र बुझाएका छन् । तर, कसैले पनि सुनुवाइ नगरेको ८८ वर्षीय आशाराम कोरी गुनासो गर्छन् । ‘टहरा बनाएर बस्ने वेला जन्मिएका पनि अहिले ४० वर्ष पुग्न लागिसके, तर हाम्रो समस्या जस्ताको त्यस्तै छ,’ वृद्ध आशाराम दुःखेसो गर्छन् ।

जग्गाधनी पुर्जा नहुँदा विकास निर्माण ठप्प
जग्गाधनी पुर्जा नभएपछि गाउँमा विकास निर्माणका काम पनि हुन सकेका छैनन् । अन्य गाउँमा बिजुली र सडक पुगे पनि यो गाउँको सडक अहिलेसम्म ग्राभेलसमेत भएको छैन । सरकारी जमिन भन्दै गाउँपालिकाले सडक निर्माण र विद्युतीकरण गर्न नमानेको ६० वर्षीय समसाद खाँले बताए । ‘सडक निर्माण र विद्युतीकरणको माग गर्दा सरकारी जमिनमा बजेट हाल्न मिल्दैन भन्ने जवाफ आउँछ,’ समसादले भने, ‘हामीलाई यो जमिन निल्नु न ओकल्नु भएको छ ।’

जग्गाधनी पुर्जा नभएका कारण बैंकिङ कारोबार र बेचबिखन गर्न नपाएको अर्का स्थानीय गुलाम हुसैन खाँले गुनासो गरे । लालपुर्जा नहुँदा आफ्नो जमिन पनि बेचबिखन गर्न नपाएको उनको भनाइ छ । ‘विकास निर्माणमा मात्र नभई हामी सरकारी सेवाबाटसमेत वञ्चित छौँ । जमिन आफ्नो नाममा नभएपछि नागरिक नभएकोजस्तो महसुस हुनेरहेछ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.