डडेल्धुरा । सुदूरपश्चिममा कैलाली र बझाङका सबै तथा बैतडीका केही तहमा सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर चुनाव लड्दै छन् । यहाँका अन्य अधिकांश तहमा कांग्रेस–माओवादी, कांग्रेस–समाजवादी, माओवादी–समाजवादीबीच द्विपक्षीय गठबन्धन बनेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भने गठबन्धनका दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् । बरु कांग्रेसबाट विद्रोह गरेका नेताहरूसँग एमालेले तालमेल गरेको छ ।
डडेल्धुराका सातवटै पालिकामा एमाले र कांग्रेस (बिपी) बीच वडा तहसम्मै चुनावी तालमेल भएको छ । कांग्रेसका निवर्तमान जिल्ला सभापति कर्ण मल्लसहितका असन्तुष्ट नेताहरू कांग्रेस बिपीमा लागेका छन् । उनीहरूले सदरमुकामको अमरगढी नगरपालिकासहित तीन तहमा प्रमुख र दुई तहमा उपप्रमुखमा उम्मेदवारी दिएका छन् । चार तहको प्रमुख र पाँच तहको उपप्रमुखमा कांग्रेस बिपीले एमालेलाई सहयोग गर्दै छ ।
हरेक संसदीय निर्वाचनमा प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा संगठनमा बलियो पकड राख्ने नेताहरू पार्टीबाट बाहिरिएपछि कांग्रेस कमजोर देखिएको छ । एक्लै चुनाव जित्ने आकलनसहित गठबन्धन नगरेको कांग्रेसलाई संगठक नेताहरूको बहिर्गमन र टिकट वितरणमा देखिएको असन्तुष्टिले डडेल्धुरामा विरासत जोगाउन हम्मे पर्ने देखिन्छ । विपक्षीसँग तालमेल गरेपछि कांग्रेसले मल्लसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । टिकट वितरणलाई लिएर पार्टीभित्रै पनि असन्तुष्टि छ । जसको असर निर्वाचन परिणाममा देखिने आकलन हुन थालेको छ ।
आन्तरिक किचलोले कमजोर
डडेल्धुरामा आन्तरिक किचलोले कमजोर बनेको कांग्रेसको दबदबा विगतको जस्तो नरहेको डडेल्धुरा बहुमुखी क्याम्पसका उपप्राध्यापक युवराज जोशी बताउँछन् । अघिल्ला निर्वाचनजस्तो कांग्रेसले यी ठाउँमा सजिलै जित्छ भन्ने आकलन गर्न सकिने अवस्था अहिले नरहेको उनको भनाइ छ । ‘संगठित र क्रियाशील सदस्यहरू गएपछि डडेल्धुरामा हिजोको कांग्रेस अब रहेन,’ उनले भने, ‘गठबन्धन भएको छैन, नेताहरू बाहिरिएका छन् । यसको असर त स्वाभाविक रूपमा पर्ला नै ।’ स्थानीय चुनावमा उम्मेदवारको व्यक्तित्व, भूगोल आदिको बढ्दो प्रभावले निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्ने आकलन गर्न भने गाह्रो रहेको जोशी बताउँछन् ।
०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले जिल्लाका सातमध्ये चार पालिका प्रमुख जितेको थियो । त्यसवेला कांग्रेस जिल्ला सभापति रहेका मल्ल समूहको अन्तरघातले अन्य तहमा हार व्यहोर्नुपरेको आरोप लागेको थियो । एमालेले दुई र माओवादीले एक पालिका जितेका थिए । अहिले सबै पालिकाको वडा तहसम्म एमालेले बिपी कांग्रेससँग तालमेल गरेको एमालेका जिल्ला सचिव गजेन्द्र शाहीले बताए ।
गत निर्वाचनमा कांग्रेसले जितेको गन्यापधुरा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष समाजवादीले लिने गरी यी दुई दलबीच तालमेल भएको छ । एमालेले अघिल्लो चुनावमा आफूले जितेको अमरगढी नगरपालिकासहित कांग्रेसले जितेका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाको अध्यक्षमा बिपी कांग्रेसलाई सहयोग गर्ने सचिव शाहीले बताए । कांग्रेसको जनमत विखण्डित भएको अवस्थामा स्वाभाविक रूपमा विगतको विरासत कायम गर्न चुनौती हुने अधिवक्ता एवं नागरिक अगुवा विष्णु भट्टले बताए । ‘विद्रोही समूहले हामी कांग्रेस नै हौँ, तर हामीमाथि पार्टीभित्र अन्याय गरेर बाहिरिन बाध्य पारिएको भनेर मत मागिरहेको छ,’ उनले भने, ‘कांग्रेसको मत काटिएर प्रतिस्पर्धी पार्टीमा थपिँदा चुनौती हुने नै भयो ।’
कांग्रेस बिपीसँगको तालमेललाई लिएर एमालेभित्र पनि असन्तुष्टि
कांग्रेस बिपीसँगको तालमेललाई लिएर एमालेभित्र पनि असन्तुष्टि छ । अघिल्लो निर्वाचनमा आफूले जितेको अमरगढी नगरपालिकाको मेयरमा कांग्रेस बिपीलाई सघाएपछि कतिपय नेताहरू असन्तुष्ट छन् । अमरगढीका निवर्तमान मेयर विपिन ओझासहितका नेताहरूले पत्रकार सम्मेलन गरेरै असन्तुष्टि जनाएका थिए । अघिल्लो निर्वाचनमा परशुराम नगरपालिका तथा भागेश्वर, आलीताल र गन्यापधुरा गाउँपालिकामा जितेको कांग्रेस नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकामा दोस्रो भएको थियो ।
एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका तथा माओवादीले अजयमेरु गाउँपालिकामा जितेको थियो । कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदले भने पार्टी विगतको अवस्थाभन्दा बलियो रहेको बताएका छन् । उनले जिल्लामा पार्टीको संगठन मजबुत रहेकाले कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको बताए । नयाँ पत्रिका दैनिकबाट….
